'काम गर्न नसके राजिनामा दिन्छु' - अध्यक्ष राई




बहसमा कस्तो बन्नुपर्दछ आदिवासी चलचित्र ?

उर्लाबारी
आदिवासी समूदायका कथामा आधारित चलचित्रको निर्माण पछिल्लो वर्षहरूमा फष्टाउँदै गएको छ । निर्माण तह फष्टाएपनि बजार भने फष्टाउन सकेको छैन । कुनै पनि चलचित्र एकाधबाहेक चलचित्र हलमा दुई/चार दिन चलेको रेकर्ड भेटिँदैन । यद्यपि, समूदायमा आधारित चलचित्र बन्ने लहर भने बढ्दै गएको छ ।
च्यारिटी शो कै भरमा लगानी सुरक्षित हुन थालेपछि आदिवासीका भाषा, संस्कार, संस्कृति, रहनसहनलाई कथाबस्तु बनाएर चलचित्र बनाउनेहरू हौसिएका हुन् । बनेका केही चलचित्र उत्कृष्ट बन्छन्, भने केही झुर । यसरी ठूलो लगानी, सयौं कलाकारको परिश्रम 'बालुवामा पानी हाले सरह' हुँदापनि चलचित्रलाई कसरी राम्रो बनाउन सकिन्छ बन्ने विषयमा आदिवासी चलचित्रकर्मीले बहस चलाएको बिरलै देख्न र सुन्न पाइन्छ । गत सोमबार उर्लाबारीमा पनि यस्तै विरलै दृश्य देखियो ।




याक्थुम मुनचईत चोक सयङको आयोजानामा उर्लाबारी-४ स्थित सिंगहिम होटलमा 'आदिवासी चलचित्रको महत्व र बजार' बिषयक अन्तरक्रियामा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा निम्त्याइएका थिए, चलचित्र विकास बोर्डमा अध्यक्ष राजकुमार राई । कार्यक्रममा चलचित्र निर्माणसम्बन्धीको मापदण्ड, चलचित्रका कमीकमजोरी, कसरी फिल्मलाई उत्कृष्ट बनाउने साथै आदिवासी संस्कृतिलाई जोगाउन के गर्नेलगायतका विषयमा राम्रै बहस चल्यो ।
कार्यक्रममा अध्यक्ष राईले आफूले चलचित्रको स्तर उन्नतिका लागि काम गर्न नसके ६ महिनाभित्र राजिनामा दिने बताए। 'म आश्वासनको भाषण होइन, काम गरेर देखाउँछु,' उनले भने, 'मैले गरेको राम्रो काममा साथ र नराम्रो काममा टिप्पणी आवश्यक छ ।' उनले आफूले नराम्रो काम गरेमा यो काम नराम्रो हो, यस्तो गर्न हुँदैन भनेर बाटो पनि देखाउन तर राम्रो काम गरिएको छ भने अंकुश लगाउने काम गर्न नगर्न सबैमा आग्रह समेत गरे। साथै अध्यक्ष राईले मिठा भाषण गरेर फुरूक्क पार्न सबैलाई आउँछ तर कार्यान्वयन गर्नु ठूलो कुरा रहेको टिप्पणी गरे। नेपाली चलचित्रको स्तर खस्किएकोप्रति इंकित गर्दै राईले संख्यात्मकभन्दा गुणात्मक चलचित्र बन्न आवश्यक रहेको औंल्याए। '१ सय ५० वटा फिल्म बन्छ, १२ वटामात्र चल्छन्, कमजोरी हामीमा पनि छ,' उनले भने, '८१ लाखमा मैले निर्माणमा गरेको फिल्म वान वे ले १२ लाख मात्र उठायो, यसमा मेरो पनि कमिकमजोरी भयो होला, आखिर किन चलचित्रको स्तर खस्किरहेको छ । अब बहस मात्र होइन, स्तरउन्नतिका लागि काम पनि गर्नुपर्छ ।'

अध्यक्ष राईले राज्य संघीय प्रणालीको ढाँचामा जान लागेकाले चलचित्र क्षेत्रको निर्माणमा पनि त्यसले सहजता ल्याउने विश्वास व्यक्त गरे। वोर्डले ल्याएको फिल्म निर्माणसम्बन्धी मापदण्डको विरोधप्रति लक्षित गर्दै राईले 'हामीले कस्तो चलचित्र बनाउँदै छौ' त्यसमा ध्यान पुर्‍याउन आवश्यक रहेको उल्लेख गरे। उनले भने, 'आधा घण्टाको चलचित्र बनाई मापदण्ड नपुरार्‍याएर पुरस्कार सेवा र सुविधा खोज्न मिल्दैन, फिल्मले लगानी उठाएन भनेर किचकिच गर्न मिल्दैन । उत्कृष्ठ चलचित्र बनाउन आवश्यक छ ।' चलचित्र बन्यो भन्दा पनि चलचित्रले के दियो भन्ने कुरा मुख्य रहेको उनले बताए।
यस्तै, कार्यक्रममा पत्रकार विजयरत्न तुलाधरले आदिवासी चलचित्रको महत्व र बजारको अवस्था विषयकमा कार्यपत्र प्रस्तुत गरेका थिए भने उक्त कार्यपत्रमाथि निर्देशक नविन सुब्बा र अवोध अविरलले टिप्पणी गरेका थिए। निर्देशक सुब्बाले आदिवासी संस्कृतिलाई जोगाउन मौलिक आदिवासी चलचित्रहरू निर्माण गर्नुपर्नेमा दिए। इन्डिजिनियस फिल्म अर्काइभका अध्यक्षसमेत रहनुभएका सुब्बाले आदिवासी चलचित्र हुनलाई चलचित्र निर्माण गर्ने समूह आदिवासी र विचार आदिवासी भएर मात्र नपुग्ने भन्दै चलचित्र निर्माण गर्ने प्रविधिको उपयोगमा आदिवासी सीपको पनि उक्तिकै आवश्यक रहेको धारणा राखे। साथै उनले आदिवासी मातृभाषाको चलचित्रको कथ्यशैली, संरचना, बनोट र अभिनय शैलीको विकासले नेपाली चलचित्रको पहिचान निर्माण गर्न सहयोग पुर्‍याउन सक्ने बताए।





कस्तो छ आदिवासी चलचित्रको अवस्था ?
आदिवासी समुदायमा आधारित चलचित्र निर्माणको क्रम फष्टाएपनि बजारमा फिल्मको बजार भने फष्टाउन सकेको छैन । आदिवासीका फिल्ममा जति लगानी हुन्छ, त्यसको तुलनामा आम्दानी शुन्यजस्तै छ । चलचित्र बोर्डका अध्यक्ष राईकै भनाइलाई आधार मान्दा वर्षभरिमा १ सय ५० वटा चलचित्र बन्छन् तर, १२ वटा जतिमात्र सफल हुन्छन् । समग्र चलचित्रको यो अवस्थामा समूदायमा आधारित चलचित्रको अवस्था कस्तो छ अनुमान लगाउन गाह्रो छैन ।
उता चलचित्रकर्मीलाई चलचित्रको यो अवस्था थाहा भएपनि चलचित्र बनाउन भने छाडेका छैनन् । आफ्नो समुदायका मुद्दालाई पर्दामा देखाउनकै लागि भएपनि चलचित्रकर्मीहरू कम्मर कसेर फिल्म बनाउन लागेका छन् । तर, बाध्यता न लगानी उठ्छ, न भनेको ठाउँमा देखाउन पाइन्छ ।
अर्कोतर्फ अधिकांश चलचित्र चलचित्र विकास वोर्डले ल्याएको फिल्म निर्माणसम्बन्धी मापदण्ड अन्तर्गतमा छैनन् । अध्यक्ष राईले मापदण्डका विषयमा गरेको विचारबाट नै यो प्रष्ट हुन आउँछ ।
यहाँ चलचित्र बनाएर आत्मसन्तुष्टिका लागि प्रदर्शन गरिन्छ । दुईचार दिन च्यारिटी हुँदा हल्लाखल्ला बाहेक सरकारी निकायको चलचित्र विकास बोर्डमा त्यस्ता फिल्मको नाम नै भेटिँदैन ।



विषयबस्तुको अभाव छैन
आदिवासीका चलचित्र बनाउँदा विषयवस्तुको कुनै कमी छैन । आदिवासी भाषा, संस्कार, संस्कृति, रहनसहन, कथालगायत धेरै कुरामा धनी छन् । यसर्थ उत्कृष्ट चलचित्र बनाउन सबै कुराले साथ दिएको छ । तर, यति हुँदाहुँदै पनि नेपाली र हिन्दी चलचित्रबाट बढी प्रभावित भएर त्यस्तै किसिमको चलचित्र बनाउने ट्रेन्ड नै बसेको छ । अझ नेपाली चलचित्र पनि त्यस्तै भेटिन्छन् । अध्यक्ष राई चलचित्र बन्योभन्दा पनि चलचित्रले के दियो भन्ने कुरा मुख्य रहेको बताउँछन्। उनको भनाइलाई नै आधार मान्दा विशेषगरी आदिवासी चलचित्र बनाउँदा समूदायमा के देखाउन खोजिएको हो भन्ने आधार तयार गर्नुपर्दछ । समूदायमा आधारित चलचित्रलाई कसरी मौलिक बनाउने भन्नेतर्फ लाग्नुपर्दछ ।
अर्कोतर्फ वर्षमा यति धेरै चलचित्रहरू निर्माण हुन्छन् । तर, संख्यात्मकभन्दा पनि गुणस्तरीयतामा ध्यान दिनुपर्ने देखिन्छ । धेरै चलचित्र बनाउनुभन्दा योजनाबद्ध तरिकाले दुई चारवटा बनाउँदा लगानी उठ्ने सम्भावना देखिन्छ । अन्यथा एकैपटक धेरै चलचित्र निर्माण हुँदा दर्शकमा पनि टिकटको भार हुन्छ ।


प्रस्तुति - इश्वर भट्टराई ।



Comments