ढुंगाले हानेर एकको हत्या, प्रत्यक्षदर्शीसहित २ पक्राउ




९ असोज, उर्लाबारी ।
मोरङको उर्लाबारीमा ढुंगाले हिर्काएर एक युवाको हत्या भएको छ । हत्याको अभियोगमा स्थानीय २ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।
गएराति उर्लाबारी २ का २४ वर्षीय नविन राईलाई स्थानीय २६ वर्षीय सुवास तामाङले आक्रमण गर्दा राईको ज्यान गएको उर्लाबारी प्रहरीले जनाएको छ ।




मादक पदार्थ सेवनपछि उनीहरुबीच विवाद हुँदा तामाङले राईको टाउकामा ढुंगाले प्रहार गरेका थिए । राईको घर छेउमा पर्ने उर्लाबारी उद्योग वाणिज्य संघको कार्यालयतर्फ जाने बाटो छेउको मुख्य सडकमा राईमाथि ठूलो ढुंगाले प्रहार भएको र सडकमा रगतपच्छे अवस्था रहेको थियो ।
सो घटनापछि सख्त घाइते राईको उपचारका लागि मंगलबारे लाने क्रममा बाटोमै ज्यान गएको उर्लाबारी प्रहरी प्रमुख नवराज कार्कीले जानकारी दिए ।
सो घटनापछि फरार रहेका तामाङलाई प्रहरीले घेराबन्दी गरी पक्राउ गरेको छ ।
आक्रमण भएको देख्ने उर्लाबारी ३ का रमेश राजधामीलाई पनि सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।






Comments