'ए-वान मिनरल वाटर'मा किरा



१४ असार, दमक।
झापाको दमकस्थित एक पानी उद्योगबाट उत्पादित पानीमा अखाद्य बस्तु फेला परेको छ । दमक-२ मा केहि महिना देखिमात्र सञ्चालनमा आएको 'एवन मिनरल वाटर'को एउटा वोतलमा किरा फेला परेको हो ।
दमक-१० का चन्द्र गजमेरले दुई दिनअघि दमकको एक कोल्ड सेन्टरवाट किनेको पानीमा त्यस्तो बस्तु फेला परेपछि उद्योगको चरम लापर्वाही बाहिर आएको छ ।
पिउनका लागि किनेको बोतलमा दुईवटा मरेको किरा पाइएपछि यस उक्त उद्योगको पानीको गुणस्तर परीक्षण गरिनु पर्ने गजमेर बताउँछन् । उनले भने, 'सिलप्याक गरिएको पानीको बोटलमा यसरी अखाद्य बस्तु देखिएपनि उद्योग पक्ष संवेदनशील छैन।'
गजमेरले अखाद्य सो मिनरलको सञ्चालकलाई कारवाहीको माग गर्दै स्थानीय सञ्चारकर्मीहरुसँग सत्यतथ्य सार्वजनिक गरिदिन आग्रह गरी पानीको बोटल नै जिम्मा दिएका छन् ।




यता पानी उद्योगका सञ्चालक गुणराज थापाले गल्ती स्वीकार्दै समाचार नलेखिदिन आग्रह गरे । 'गल्ती भइहाल्यो, आइन्दा यस्तो गल्ती हुन दिन्नौ', सञ्चालक थापाले भने । थापाले ६ महिनाअघि देखि मात्र सञ्चालनमा ल्याएको सो उद्योगमा सवै महिलाहरु मात्र कार्यरत रहेका छन् । सञ्चालक थापा भन्छन्, 'मिनरल प्याकिङमा कर्मचारीहरुको गल्तीले यस्तो भएको हो ।'
यसअघि दमककै अर्को एक उद्योगले उत्पादन गरेको पानीमा समेत लेदो नै फेला परेपछि यहाँको पानीको गुणस्तरहिन र मानव स्वास्थ्यमा समेत निकै जोखिमयुक्त मानिदैआएको सरोकारवालाहरुको भनाई छ ।
पानी उत्पादक कम्पनीको नियमकारी निकायले अनुगमन गर्न नसकेको उपभोक्ताहरुको भनाई छ। दमक क्याम्पसका प्राध्यापक डाक्टर नेत्रबहादुर बुढाथोकी उपभोक्ता सचेत हुनुपर्ने बताउँछन् । उनले पानी उत्पादक कम्पनीले मानिसको स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा खेलवाड गरिएको पाइए त्यस्ता उद्योगलाई नियमानुसार कारवाही गरिनुपर्ने बताए।
तस्वीर – ए-वान मिनरलमा फेला परेको किरा ।




Comments