गलाउँदैछ गर्मीले


इश्वर भट्टराई, मोरङ।
केही दिनयता पूर्वी तराईमा अत्याधिक गर्मी बढेको छ । गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ ।
असार महिना शुरू हुन लागिसक्दा पनि पानी पर्ने लक्षण देखिएको छैन । मनसुन सक्रिय नहुँदा गर्मीको पारो एक्कासी बढेको हो । प्रचण्ड सूर्यको तापले दिउँसो बाहिर निस्कन सक्ने अवस्था छैन भने रातको समयमा खण्डवृष्टिसहित क्षणिक वर्षा हुनेगरेको छ।
साँझ ४ बजेसम्म उखरमाउलो गर्मी र त्यसपछि विस्तारै मौसम बदली हुँदै जाने र बेलुकीपख मेघगर्जन, हावाहुरी र चट्याङसँगै पानी पर्ने गरेको छ । यसले तापक्रम झन् बढाउने काम भएको छ । मौसमविद्हरूका अनुसार स्थानीय वायुलाई अरव सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुले साथ दिएपछि मौसम बदली भएको हो । यो प्रिमनसुनको प्रक्रिया भएकाले नआत्तिई सतर्क हुन उनीहरूको आग्रह छ । यस्तै, दिउँसो अत्याधिक गर्मी बढ्ने र साँझ हावा हुरी लाग्ने गरेकाले गर्मीजन्य रोगको सङ्क्रमण बढाउन सक्ने भन्दै चिकित्सक हरूले यसबाट बच्न आग्रह गरेका छन् ।


अत्याधिक गर्मी बढेपछि मोरङ, सुनसरी, झापालगायतका क्षेत्रका मानिसहरू घरबाट बाहिर निस्कन र दैनिक काम गर्न पनि समस्या भएको छ । गर्मीकै कारण सुनसरीमा एकजनाको मृत्यु भएको छ भने तीन जिल्लाका निजी तथा सरकारी अस्पतालमा विरामीको चाप बढेको छ । झाडापखाला, ज्वरो, टाइफाइड, जण्डिस, आँखा पोल्ने, टाउको दुख्ने, अरूचि र वाकवाकी लाग्ने समस्या विरामीहरूमा देखापरेको स्वास्थ्यकर्मीले जनाएका छन् । बढ्दो गर्मीसँगै यससँग सम्बन्धित विभिन्न रोगहरूको सङ्क्रमण र जोखिम बढेको प्राथमिक स्वास्थ्य केन्द्र उर्लाबारीका डा. विपिन पाण्डेयले बताए। कहिले पानी पर्ने तथा कहिले चर्को घाम लाग्ने क्रम निरन्तर रहेमा भाइरल ज्वरो पनि फैलन सक्ने भन्दै सतर्क रहन उनले आग्रहसमेत गरे।
गर्मी प्रत्येक वर्ष हुनेगर्छ तर यसवर्ष तापक्रम सँगसँगै मनसुनी हावा ठप्प भएको कारणले पनि गर्मीले धेरै असर पुर्‍याएको हो । अर्कोतर्फ क्रमशः गर्मी वृद्धि हुनुभन्दा एक्कासी तापक्रम वृद्धि हुँदा मानव शरीरको वातावरणसँग मेल नखाँदा पनि त्यसले प्रत्यक्ष असर पुर्‍याएको छ । बितेको हप्ता २४-३१ डिग्री (विराटनगरको तापक्रम) को आसपासमा रहेको तापक्रम यस हप्ताको सुरूवातदेखि एक्कासी ३५ डिग्रीभित्र चलिरहेको छ । न्यूनतम तापक्रम भने २३ देखि २४ डिग्री सेल्सियसको बीचमा चलिरहेको विराटनगरस्थित मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
यस्तै, गर्मी बढेसँगै लामखुट्टे पनि अत्याधिक बढेका छन् । लामखुट्टे बढेको हुनाले यसको टोकाइबाट फैलने मलेरिया, डेङ्गुजस्ता रोगहरूको पनि उच्च जोखिम रहने चिकित्सकहरूले बताएका छन् । विशेषगरी मोरङको वातावरणमा अत्याधिक लामखुट्टे पाइने यसलाई नष्ट गर्न अति आवश्यक देखिन्छ । नाली तथा खाल्डोहरूमा जमेको पानीमा लामखुट्टेले फूल पार्ने भएकोले त्यस्ता खाल्डोहरू पुरिदिन अथवा विषादीको प्रयोग गरी लामखुट्टे मार्न र फैलिन नदिन उनीहरूले सुझाव दिएका छन् । लामखुट्टेको टोकाइबाट बच्नको लागि झूलभित्र सुत्ने तथा विभिन्न क्रिमहरू जस्तै मस्कुलन रिपेलन्टको प्रयोग गर्न सकिने उनीहरूको भनाइ छ ।
यस्तै, गर्मीमा बढी मेहनत गरेर काम गर्नेहरूको बढी पसिना निस्कने भएकाले त्यसबाट शरीरमा समस्या सृजना हुन नदिन पानी प्रशस्त पिउन चिकित्सकहरूले आग्रहसमेत गरेका छन् । उनीहरूका अनुसार शरिरको तापक्रम सन्तुलनमा राख्न पानी अधिक पिउनुपर्ने हुन्छ । गर्मीमा बढी मेहनत गरेर काम गर्नेहरूको बढी पसिना निस्कासन भएमा शरीरको तापक्रम सामान्यभन्दा कम हुन गई हिट स्ट्रोक नामक स्वास्थ्य समस्याका कारण बिरामी हाइपोथमियाको स्थितिमा आउन सक्ने भन्दै चिकित्सकहरूले यस्ता बिरामीको समयमा निगरानी हुन नसकेमा मृत्युसमेत हुन सक्ने बताएका छन् ।


यस्तै, गर्मीमा प्रदूषण धेरै हुने भएकाले वातावरण निकै नै संक्रमित हुने गर्दछ । त्यसैले बाहिर निस्कँदा लामो बाहुला भएको कपडा लगाएर हिड्ने र मास्कको प्रयोग गर्नसके छालाजन्य रोगमा पनि कमी आउन सक्ने प्राथमिक स्वास्थ्य केन्द्र उर्लाबारीका सिनियर अहेब योगेन्द्र कट्टेलले बताए। गर्मीमा बाहिरबाट आउँदा साबुन पानीले हात धुने, वरपरको वातावरण सफा राख्ने, सधैँ पानी उमालेर पिउने, जुनसुकै खानेकुरा अपच हुने तरिकाले नखाने, बासी र अस्वस्थकर जस्तो देखिने खानेकुरा नखाने, बढी तनाव नलिने र राति सुत्ने बेला बिस्तरा राम्रोसँग टक्टक्याएर सुत्ने लगायतका कुरामा ध्यान दिनसके गर्मीजन्य रोगबाट बच्न सकिने उनको भनाइ छ ।
मौसम परिवर्तन सधैं भइरहने कुरा हो । पछिल्लो समय जलवायु परिवर्तनका कारण विश्व वातावरणमै त्यसले नकारात्मक असर पुर्‍याएको वातावरणविद्हरूको भनाइ छ । उनीहरूका अनुसार दश वर्ष अगाडिको अवस्था र अहिलेको अवस्थामा धेरै फरक छ । पाँच वर्षगाडिसम्म हिउँले ढाकिएका कतिपय हिमशिखरहरूमा अहिले कडा चट्टान मात्र देखिएका छन् । यसर्थ पनि वातावरण प्रतिकूल हुँदैजाँदा प्राणीजगतका लागि क्रमशः खतरा बढ्ने क्रम पनि जारी छ । एक्कासी गर्मी बढ्नुको मुख्य कारण पनि जलवायु परिवर्तनकै असर रहेको हात्तिसार क्याम्पस धरानका वातावरण विषयका प्राध्यापक रामचन्द्र अधिकारीले बताए।
अर्कोतर्फ बढ्दो गर्मी र वातावरणीय प्रभावबाट बच्न सरकारले समेत तत्परता देखाउन सकेको छैन । आफ्ना नागरिकको स्वास्थ्यको ग्यारेण्टी राख्नु राज्यको दायित्व हो । तर, आजसम्म पनि राज्यले गर्मीबाट कसरी बच्ने ? के गर्ने ? भन्ने अभियान चलाउन सकेको छैन ।
यसर्थ गर्मीबाट रोग लागेपछि उपचारको लागि अस्पताल धाउनुभन्दा रोग लाग्न नै नदिनु उत्तम हुन्छ । त्यसैले बेलैमा बढ्दो गर्मीसँगै स्वास्थ्यमा ध्यान दिन अति आवश्यक छ ।




Comments