बट्टाईको उद्यममा जम्दै दिपक




विष्णु सुब्बा, दमक।
एसएलसीपछि पढाई छोडेका दिपक श्रेष्ठले पाँचथरबाट सानो परिमाणमा कुचो र अलैंची झापा ल्याएर बेच्न थाले । यो उनको गरिखाने शुरुको प्रयास थियो । तर ठुलो लगानी र बढि खटाई चाहिने पहाड मधेशको ब्यापारमा उनी जम्न सकेनन् । उपाय खोज्ने क्रममा उनले भेटे बिमा कम्पनीको काम । नियमित आम्दानीको मेलो भएकाहरुलाई 'कन्भिन्स' गरेर बिमा गराउने काम एकदमै बोलैयाले मात्र सक्छ । सातबर्ष बिमाको झोला बोकेर मानिसहरुलाई मनाउँदै बिमा गराएका दमक-११ का श्रेष्ठ दुईबर्ष अघिको एकदिन दमक-११को पिसजोन होटलमा पसे । त्यहाँ बट्टाई पालेर त्यसको परिकार बेच्ने गरिएको देखेपछि उनले घर आँगनमा खोर बनाएर बट्टाई पाल्ने नयाँ योजना कोरले ।



दुई बर्षअघि २० वटा बट्टाईका चल्लाबाट शुरु उनको दमक एभियन उत्पादन तथा बिक्री फर्मले हाल मासिक सरदर पाँचसय बट्टाई र त्यति नै संख्यामा बट्टाईको अण्डा बिक्रि गरिरहेको छ। लाखबढी रुपैयाको मासिक कारोबार । सबै खर्च कटाएर बिसहजार रुपैयाँ माथिको आयस्ता । ३६ बर्षे यी युवक भन्छन्, "काम सजिलो छ, कमाई पनि ठिकै छ, सन्तुष्ट छु ।"


चितवनपछि पूर्वमा पहिलोपटक खुलेको दमक एभियनले पूर्वका इलामदेखि धनकुटासम्मका होटलहरुमा बट्टाई पुर्‍याइरहेको छ । आयस्ताको मेलो बस्दै गएपछि साढे सातलाख रुपैयाँ खर्च गरेर दिपकले बट्टाईको अण्डाबाट चल्ला कोरल्ने ह्याचरी मेशिन पनि राखेका छन् । फर्मको व्यवस्थापन मजवुत गराउन करिव साढे लाख रुपैयाँ खर्चिएर ह्याचरी मेसिन ल्याइएको उद्यमी श्रेष्ठ बताउँछन् । 'बट्टाईको माग बढ्दै गएको छ', फर्ममा भेटिएका श्रेष्ठले भने, 'अव बट्टाईको व्यवसायीक बिक्री तथा उत्पादनमा तल्लीन छु ।'


बट्टाईको अण्डा ९६ फरेनहाइटको तापक्रममा मेशिनमा राखेको डेढ महिनापछि चल्ला कोरलिन्छ, जुन सामान्यतया ३५ दिनपछि खानकालागि योग्य मानिन्छ । त्यतिन्जेलमा बट्टाईको चल्लाको वजन दुईसय ग्राम भइसकेको हुन्छ । चिसो नसहने पंक्षी प्रजातिको बट्टाईले एकबर्षमा सामान्यतया दुईसय ७० वटा अण्डा दिने उनको अनुभव छ । बट्टाईको चल्लो डेढ महिनापछि अण्डा कोरल्न थाल्छ । बयस्क बट्टाईले दैनिक दुईसय ग्रामसम्म चारो खान्छ । यसलाई ब्रोइलर कुखुराको चारो दिइन्छ ।
पूर्वमा पनि बट्टाईको खान्की परिकारका पारखी बिस्तारै बढदै गएको दिपकको अनुभव छ । "होटलहरुबाट माग आइरहन्छ", उनले भने, "आखिर म पनि यसको मासु खाएरै पल्किएर बट्टाई फर्म खोलेको हुँ।"




Comments