'अहिले सम्मको राजनीतिले पश्चाताप लागेको छ' - योङ्या




घनेन्द्रराज योङ्या सुब्बा झापाको सामाजिक तथा राजनीति क्षेत्रमा चिनिएको नाम हो । ब्रिटिश आर्मीको दश वर्ष लामो नोकरी छाडेर स्वदेशमा केही गर्न हौसिएका उनी २०५१ सालदेखि जिल्लाका अनेकौं सामाजिक क्रियाकलापसँगै राजनीति क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।
पञ्चायतको राजनीति पृष्ठभूमिमा हुर्किएका उनले नोकरीपछि लगत्तै बुबाको राजनीति लाइनबाट आफूलाई राजनीतिमा नेतृत्व दिन थालेका हुन् । त्यस अवधिमा २०५४ सालको स्थानीय निकायको निर्वाचनमा योङ्याले दमक-१ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा अध्यक्षको जनप्रतिनिधिका रुपमा स्थापित भएका थिए । २०५२ सालमा दमक खानेपानी उपभोक्ता समितिको निर्वाचित सदस्य, २०६० सालमा नै दमक उद्योग वाणिज्य संघको महासचिव र २०६२ सालमा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।
त्यस अवधिमा नै दमक-१ स्थित भृकुटी निमाविको सदस्यदेखि अध्यक्ष हुँदै दुई दशकबढि समयसम्म काम गरे भने दमक बहुमुखी क्याम्पसको सञ्चालक समितिको सदस्य रहेर शैक्षिक क्षेत्रमा समेत उनले सक्रियता देखाए ।




२०६४ सालमा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा राप्रपाबाट झापा क्षेत्र नम्बर ७ का उम्मेद्वार थिए भने गएको दोश्रो संविधानसभाको निर्वाचनमा उनी राप्रपा नेपालबाट समानुपातिक कोटाबाट उम्मेद्वार समेत थिए ।
तर निर्वाचनपछि पार्टीमा देखिएको उतारचढावले सो पार्टीप्रति चरम असन्तुष्टी जाहेर गर्दै उनी स्व.पदम सुन्दर लावतीको नेतृत्वमा बनेको समानान्तर पार्टीको सह-महामन्त्री चुनिए । यद्यपि, सो पद उनले मनैदेखि स्वीकारेनन् । 'लावती नेतृत्वमा मेरो फरक मत थियो', आफ्ना असन्तुष्टि थाँती राखेर उनले बुबाले थालेका राजनीतिक लाइनबाट सधैँका लागि विश्राम लिने निर्णयमा पुगेको बताउँछन् । गत साता मात्र दमकमा एक भव्य कार्यक्रमका बीच योङ्या आफ्ना दलबदलसहित नेपाली कांग्रेसमा प्रवेश गरे।
प्रस्तुत छ दमक-१ निवासी राजनीति तथा सामाजिक क्षेत्रका अगुवा ५२ बर्षिय सुब्बासँग यिनै सेरोफेरोमा गरिएको कुराकानी –

कांग्रेसमा किन प्रवेश गर्नुभयो ?

मूलतः राजनीति गर्ने मान्छे स्वभावले सधैं परिवर्तनशील हुने गर्छन् भने पार्टीको जिम्मेवारीबाट विमुख हुँदै हुदैनन् । मैले यत्तिका वर्ष राप्रपा, राप्रपा नेपालजस्ता पार्टीमा काम गरे । त्यहाँ मेरा कैयौं असन्तुष्ट रहँदै आएका थिए । पछिल्ला दुई वर्षजति मैले सो पार्टीमा निस्कृय बस्दै आएको विदितै छ ।
तर एउटा राजनीतिमा आकर्षित मान्छे पार्टीविहीन बस्न नसकिने अवस्था ममा आयो । धेरै पार्टीले मलाई पार्टीमा आउन प्रस्ताव गरे । मैले के सोचे भने कांग्रेसमा आफूलाई रुपान्तरण गर्न सक्छु भन्ने लाग्यो । एउटा लोकतान्त्रिक शक्तिमा समाहित हुन पुगें।

त्यसो भने कांग्रेसमा के देखेर आउनुभयो ?
कांग्रेसमा आउनुमा मेरो व्यक्तिगत स्वार्थ छैन । मैले अघि नै प्रष्ट्याएँ कि राप्रपा नेपालले राजनीति संस्कार र लोकतन्त्रको सिद्धान्त बोकेको पाइनँ । हामी लोकतन्त्र चाहने, स्वतन्त्रताको पक्षमा उभिनेको एक मात्र पार्टी भनेको कांग्रेस मात्र हो भनेर यहाँ आएको हुँ ।

तपाईलाई सभासद् नबनाइएको कारण पार्टी छाड्नु भएको भन्ने आरोप छ नि ?
सभासद्को मात्र लालचका कारण मैले कमल थापालाई त्याग गरेको होइन । मलाई यतिखेर आफैलाई हिनाताबोध हुँदै छ कि जहाँ मैले २० वर्ष लामो समयसम्म अराजनीति, अलोकतान्त्रिक समूहको झण्डा बोकेर हिँड्ने पार्टीमा बसेर मैले गल्ती गरे छु भन्ने लागेको छ। राजनीति परिवर्तनलाई आत्मसात् नगर्ने अनि अनेकौं प्रचार गरेर केवल स्वार्थको भर्‍याङमा उक्लिन खोज्ने समूहमा बसेर मैले राजनीतिमा बेइमान गरेको मैले यतिखेर समीक्षा गरेको छु । यसैले गर्दा पनि मैले एउटा थापा जस्ता चरित्रहिन राजनीति मार्ग परित्याग गर्न पुगेको यहाँ प्रष्ट्याउन चाहन्छु ।





तपाई त पूरै राजावादी, हिन्दुवादीको पक्षमा उभिनु भएको थियो नि ?

निश्चय पनि हिजो मैले जनताका बीच यी विषयमा वकालत गरेको नै हुँ । तर पछिल्ला समय राजासँगै हामी सती जानु हुँदैन भन्ने पार्टीभित्र मेरो फरक मत रहिआएको थियो । किनकि २०६२/०६३ सालको राजनीतिक परिवर्तनलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ भन्ने मेरो विचार पार्टीभित्र कमजोर बनाइएको थियो । अब यसबाट के प्रष्ट हुन जरुरी छ भने मैले पछिल्ला वर्ष यी मुद्दालाई खासै महत्वका रुपमा उठाएको थिइनँ । मैले अघि नै भने नि, हिजोको राजनीतिबाट मैले शिक्षा पाएको छु, जुन मार्गमा त्यसताका हिँडेको थिएँ, त्यो मार्ग गलत रहेछ भन्ने मैले अहिले बुझेको छु । राजनीतिक परिवर्तनलाई आत्मसात गरेर नै अहिले कांग्रेसमा आएको हुँ ।

कांग्रेसभित्र पनि राजा र हिन्दु धर्मको पक्षमा उभिने नेताहरू छन्, अब ती समूहसँग तपाईको सम्बन्ध रहन्छ होला होइन ?

कांग्रेसको विचार, सिद्धान्तबाट एक इञ्च पनि म बाहिर जाने छुइनँ भन्ने प्रष्ट्याउन चाहन्छु । कांग्रेसको एक सचेत सिपाहीका रुपमा पार्टीभित्र मेरो भूमिका हुनेछ । जहाँसम्म राजा र हिन्दु धर्मको पक्षमा कांग्रेसभित्र त्यस्तो कसैको अगुवाई छ जस्तो लाग्दैन । ठूलो पार्टीभित्र कसैको व्यक्तिगत विचार त्यस्तो होलान्, तर त्यसबाट म बिल्कुल प्रभावित हुने छुइनँ । पार्टीले जे अह्राउँछ, त्यो काम इमान्दारिताका साथ गर्नेछु ।

कांग्रेसभित्र पनि पार्टी सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाको लाइन छन्, तपाई कुन लाइनबाट प्रवेश गर्नुभयो त ?

कांग्रेसमा जुन दिन आएँ म पार्टीको झण्डा र नेताहरूको माझ आएको थिएँ । कांग्रेसका सभापति कोइराला, वरिष्ठ नेता देउवा पार्टी हाम्रा नेता हुन् । म उहाँहरूको एक साधारण कार्यकर्ताका रुपमा पार्टीमा प्रवेश गरेको हुँ । म त्यस्तो लाइनबाट यहाँ आएको पनि होइन ।

अब कांग्रेसमा तपाईको भूमिका के हुन्छ ?
कांग्रेसमा आउँदा मैले कुनै पद, प्रतिष्ठाको बार्गेनिङ्ग गरेर आएको हुइनँ। पार्टीले जे जस्तो काम दिन्छ त्यो गर्नेछु। मसँग कुनै स्वार्थ छैन। मलाई लाग्छ, कामको उचित मूल्याङ्कन पार्टीभित्र हुनेछ । उसको क्षमता नुसार नेतृत्वमा अवसर दिनुपर्छ भन्ने लाग्छ । कसैलाई जबर्जस्ती क्षमताभन्दा बढी अवसर दिँदा त्यो काम पूर्ण रुपमा पूरा नहुन सक्छ । मलाई विश्वास छ, कांग्रेसभित्र राजनीति संस्कार बलियो छ ।

प्रसङ्ग बदलौं, तपाई राजनीतिमा कसरी आउनुभयो ?

हाम्रो परिवार पञ्चायतको राजनीतिबाट हुर्किएको हो । बुबा कृष्णप्रसाद पञ्चायतकालमा २४ वर्षसम्म शिवुवा पञ्चमी गाविसको प्रधानपञ्च हुनुभएको थियो । त्यसैले पनि बुबाको राजनीतिबाट म बाल्यावस्थाबाट नै प्रभावित भएको थिएँ । रोजगारीका लागि ब्रिटिश आर्मीको नोकरी खान गएपनि मेरो दिमागमा स्वदेशमा राजनीति गरौँ भन्ने मनमा आउँथ्यो । पछि स्वदेशमा आएर राजनीति गर्न थालेको हुँ ।

अब तपाईको राजनीति परिर्वतनलाई कसरी हेर्न उपयुक्त होला ?

एउटा राजनीति गर्ने साधारण मान्छे जो राजनीति संस्कार अनि परिर्वतनप्रति प्रतिबद्ध छ भनेर सोचिदिए पुग्छ । मैले यहाँ आएर कुनै सपना देखेको, बुनेको पनि छैन । राजनीतिक प्राणी मानिस कसरी सधैँ तटस्थ, निस्कृय बस्न सक्छ र ? मेरो उपस्थिति बिल्कुल त्यही सेरोफेरोमा नै केन्द्रीत छ । राजनीतिबाट म कहिल्यै अलग हुन सक्दिनँ ।

तपाईलाई के लाग्छ, अबको राजनीतिले देश कता जाला भनेर ?
राम्रो प्रश्न उठाउनुभयो, अब यो मुलुकले एउटा मार्ग निर्माण गरेको छ । मुख्य गरी देशका ठूला दलहरू नयाँ संविधान निर्माण गर्न ऐतिहासिक कदममा प्रवेश गरिसकेको अवस्था छ । यसरी देशलाई सधैं संक्रमण बढाइनु हुँदैन भन्ने पक्षमा दलहरूको मत मिलेको छ । मलाई विश्वास छ, अब एकदुई महिनाभित्रमा नै हामीमाझ नयाँ संविधान आउने सम्भावना बढेर गएको छ ।



फेरी प्रसङ्ग बदलौँ, तपाई त एउटा ब्रिटिश आर्मीका पूर्व सिपाही पनि हुनुहुन्छ, लाहुरे परिवार यसरी राजनीतिमा आउन निकै चुनौति पनि छ नि, होइन ?

हो नि । हाम्रो ब्रिटिश आर्मीका धेरै परिवारहरू राजनीतिमा कमै मात्र आएका छन् । अहिले पनि हेर्नुस्, यहाँ बसेर केही गर्नुपर्छ भन्ने लाहुरे दाजुभाईहरू प्रायः हुनुहुन्न । अधिकांश बेलायत, हङकङमा नै केन्द्रीत छन् । तर मलाई विदेशिएर जान पटक्कै रहर लागेन। २०५० सालमा नोकरीबाट निवृत्त भएपछि विदेशको कुनै ठाउँ गएको छैन । गाउँघरमा बसेर आफ्नो समुदाय, समाजलाई कसरी उन्नत तथा समृद्ध बनाउन सकिन्छ भन्ने सवालमा हामी यो देशका लाहुरेहरूले केही योगदान दिन सकिन्छ भन्ने मनमा आउँथ्यो । यसले गर्दा पनि हामी लाहुरे समुदाय राजनीति रुपमा धेरै पछि परेका छौँ ।

यसरी लाहुरे जीवनसँगै समाजसेवा र राजनीति गर्दा कस्तो महसुस हुन्छ नि ?

हालसम्म जसरी जानी-नजानी राजनीतिमा आएँ, यसबाट म सन्तुष्ट छु । दमकमा बसेर यस क्षेत्रको सामाजिक, राजनीति तथा शैक्षिक क्षेत्रहरूमा आफूले सक्दो काम गर्ने अवसर पाएको छु । सुखदुःखमा यहाँहरूसँग हातेमालो गर्न सकेको छु । अहिले जे जसरी काम गर्न सकेँ, यो क्रम अझ बढाउने सोच बनाएको छु । मलाई यूके, हङकङ गएर ऐसआराम गर्ने रहर छैन, हुँदैन पनि । तपाईहरूसँग बसेर यहाँको समग्र विकासमा काम गर्ने एकमात्र लक्ष्य लिएको छु ।

अन्त्यमा यहाँको केही भनाई ..?
प्रथमतः मेरो विचार प्रवाह गरेर जनताका बीच पुर्‍याउनुहुने तपाईसहित सम्पूर्ण साथीहरूलाई हृदयेखि नै धन्यवाद दिन चाहन्छु । जहाँसम्म मेरो राजनीति परिवर्तन भर्खरै कांग्रेसमा आएको छ, यो मेरो अन्तिम राजनीति लक्ष्य पनि हो भनेर बुझिदिनुहोला । म एउटा पार्टीको सिपाही हुँ, मलाई अगाडि बढ्न यहाँहरूबाट आवश्यक सहयोग, सुझावको समेत अपेक्षा लिएको छु ।

प्रस्तुति - विष्णु सुब्बा




Comments