पहिले आफ्नो गन्तव्यको लागि तीन चक्के चलाउने भक्त अहिले यात्रु ओसार्छन्



दमक।
बिहान नुहाई धुवाई सकेर आठ नबज्दै भक्त राई काममा लाग्छन्। हातले शरीरको वजन उठाउँदै इ-रिक्साको ड्राइभर सिटमा बस्छन् । इ-रिक्सा गुडाउँदै बिस्तारै मुल सडकमा निस्कन्छन् ।
स्थानीय गन्तब्यमा मानिसहरुलाई पुर्‍याउने पेशाबाट उनको तीनजनाको परिवारको खाइनपाइन जुटेको छ । ३८ बर्षे राई भन्छन्, 'गरिखान यो इलम समातेको छु अचेल ।' दमकको चोक, वजारमा यात्रु खोज्दै इ-रिक्सा दौडाउने उनको दैनिकी यतिखेर मजवुत आयस्रोत बन्न पुगेको छ ।
इ-रिक्सामा चढ्न आउँने कतिपय उनका दुबैगोडा लुला देख्दा अचम्म मान्दै ‘गुडाउन त सक्नुहुन्छ नी !’ भन्दै जिज्ञासा राख्छन् । ‘ढुक्क भएर चढ्नुहोस्’, उनी सहजै भनिदिन्छन्, 'हैण्डल थाम्ने हात बलिया छन्, यसमा खुट्टाको काम छैन ।'



उनी आफुलाई कसैले बिचरा भनेको पटक्कै मन पराउँदैनन्।
बाणिज्य शास्त्रको स्नातक पढाई बिचैमा छोडेर उनले सात बर्षअघि दमकमा होटल चलाए । श्रीमती बबिताको बलमा चलेको थियो उनको होटल । बच्चा जन्मिएपछि होटल धान्न भक्तलाई कठिन भयो । त्यसपछि सवा दुईलाख रुपैयाँ जुटाएर उनले इ रिक्सा खरिद गरे । २० बर्षदेखि हिँडडुलका लागि सहारा बनेको हाते रिक्सा गुडाएका भक्तलाई इ-रिक्सा गुडाउन गाह्रो पनि थिएन । बिजुलीबाट ब्याट्री चार्ज भई चल्ने इ-रिक्सा गुडाउन बल पर्दैन । प्रविधिले गरिखान सजिला उपकरण ल्याएको उनको बुझाई छ । पोलियोले दुबैगोडा नचल्ने भएका भक्त इ-रिक्सा गुडाएर दैनिक हजार रुपैयाँ बढि आयस्ता गरिरहेका छन्, जुन कमाईबाट दुई बर्षकी छोरी मोनिका सहितको तीनजनाको परिवार दमकमा डेरा बसेर पालिएको छ ।
पूर्वी मोरङको टाँडी- ८ का भक्त एक बर्षको उमेरमा बिमारी परेका रहेछन् । करिब तीन महिना थलिएर तङ्ग्रिए, हातपाउ टेकेर घस्रिँदै । उनी पोलियोको शिकार भएका थिए भन्ने नै परिवारले ढिलो चाल पायो । दुबैगोडा तिघ्रामुनी पोलियोग्रस्त भएका भक्त घोडामा अडि्न सक्ने भएपछि १० बर्षको उमेरमा एकैपटक चार कक्षामा भर्ना भए । २०५० सालमा एसएलसी उत्तीर्ण गरेपछि मात्र उनी तीनचक्के फलामे रिक्सामा गुड्न थालेका हुन् ।






Comments