नेतृत्व हत्याउन मोरङ कांग्रेसमा तिब्र दाउपेच



तेजन खड्का
२६ जेठ, उर्लाबारी।
नेपाली कांग्रेसको १३ औं महाधिवेशन नजिकिँदै गर्दा मोरङमा पनि नेतृत्वको चयनका लागि उम्मेद्वारी घोषणाको क्रम चलेको छ । संस्थापन र देउवा पक्षले नेतृत्व हत्याउन छुट्टा-छुट्टै उम्मेद्वारी घोषणा गरेका छन् ।
संस्थापन पक्षबाट मोरङ कांग्रेसका पूर्व सचिवहरू गोपालमान सिंह राजभण्डारी, ,सञ्जय भट्टराई र मदन संग्रौलाले उम्मेद्वारी घोषणा गरेका छन् भने त्रिलोचन रिजाल पनि संस्थापन पक्षबाटै सभापतिको आकांक्षी बन्ने पक्कापक्की भएको छ । उता संस्थापन पक्षभन्दा कमजोर संगठन भएको मोरङ कांग्रेसमा देउवा पक्षले पनि सर्वसम्मत उम्मेद्वार चयन गर्न नसक्ने अवस्था देखिएको छ । अघिल्लो अधिवेशनमा संस्थापन पक्षबाट सभापति जितेका अमृत अर्याल योपटक क्याम्प परिवर्तन गरी पुनः सभापति बन्ने दौडमा देखिएका छन् । अर्यालसँग चुनाव हारेपनि अर्याललाई देउवा कित्तामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका डिगबहादुर लिम्बू आफू सर्वसम्मत उम्मेद्वार बन्न पाउनु पर्ने दाबी गरिरहे.का छन् । तर देउवा पक्षमा अर्याल र लिम्बूसँगै दिलिपकुमार गच्छदार पनि आफूलाई सर्वसम्मत उम्मेद्वार बनाउन केन्द्रीय नेतृत्वसँग लविङ गरिरहेको बुझिएको छ ।




संस्थापन पक्षका उम्मेद्वारहरूमध्ये गोपालमानसिंह राजभण्डारी सबैभन्दा पुराना र कोइराला परिवारका आज्ञाकारी उम्मेद्वार मानिन्छन्। उनलाई नजिकबाट चिन्ने कांग्रेसजनका अनुसार तत्कालिन कोइराला निवासका विश्वासपात्र मानिएका राजभण्डारीसँग स्वर्गीय नोना कोइराला र गिरिजाप्रसाद कोइरालाको किचन क्याविनेटमा रहेर काम गरेको अनुभव छ । यद्यपि पछिल्लो दशक कांग्रेस राजनीतिमा उनको चर्चा कम हुने गरेको छ । नोना र गिरिजाप्रसाद कोइरालाको निधनपछि छायाँमा परेका राजभण्डारीलाई हाल आएर नोनापुत्र डाक्टर शेखर कोइरालाको भरपर्दो आशिर्वाद रहेको छ । कोइराला परिवारसँग निकट रहेर लामो समय राजनीति गरेका राजभण्डारी मोरङ कांग्रेसको सभापति बन्न योग्य ब्यक्ति भएपनि उनलाई संस्थापन पक्षकै केन्द्रीय नेताहरू महेश आचार्य, सुजाता कोइराला र मीनेन्द्र रिजालले असहयोग गर्ने बताइन्छ । गिरिजाप्रसाद कोइरालासँग अन्तरंग सम्बन्ध कायम गर्न सफल राजभण्डारीले प्रतिबन्धित कालमा गरेको काम र सुजाता कोइराला सक्रिय राजनीतिमा आउँदै गर्दा राजभण्डारीको राजनीति आझेलमा पर्दै गएकोले स्वंय सुजाताले राजभण्डारीलाई सहयोग गर्नेमा शंका उठ्न थालेको छ । एकातिर कोइराला परिवार भित्रको आन्तरिक राजनीतिमा पनि शेखर र सुजाताबीच सामन्जस्यता नभएकोले बरु महेश आचार्य र आमोदप्रसाद उपाध्यायको समर्थन राजभण्डारीलाई हुने बताइएको छ । तर उपाध्याय हाल क्यान्सरको उपचार गराइरहेकाले अबको अधिवेशनमा उनको भूमिका लगभग शुन्य हुने निश्चित छ ।


सभापतिको दावी गरिरहेका मदन संग्रौलालाई कांग्रेस महामन्त्री कृष्ण सिटौला र केन्द्रीय सदस्य मीनेन्द्र रिजालको भरथेक रहेको छ । संग्रौला युवाहरूबीच लोकप्रिय मानिन्छन् । तर मोरङ कांग्रेसलाई हाँक्न सक्ने क्षमता संग्रौलाले बटुलिनसकेको बताइन्छ । विगतमा प्रजातान्त्रिक कांग्रेसको मोरङ नेतृत्वमा रहेर विभिन्न भूमिका निर्वाह गरिसकेका संग्रौला पछिल्लो समय मीनेन्द्र रिजालसँगै संस्थापन पक्षमा लागेका हुन् । संस्थापन पक्षबाट संग्रौला उम्मेद्वार बन्न सक्ने सम्भावना अत्यन्तै न्यून भएको बताउँदै एक कार्यकर्ताले भने, 'संग्रौलाको उम्मेद्वारी गोपालमानसिंह राजभण्डारीको समर्थनका लागि 'बार्गेनिङ पावर' बढाउनका लागि मात्र हो ।' तर संग्रौला आफ्नो उम्मेद्वारी आफ्नै लागि भएको दाबी गर्छन्। उनले भने, 'मेरो उम्मेद्वारी कसैले रोकेर रोकिँदैन । कसैको आड र भरमा भन्दा पनि आम कांग्रेस कार्यकर्ताको उम्मेद्वारका रुपमा मैले उम्मेद्वारी दिने हो।'
संग्रौलालाई जुन नजरले हेरिएको छ, त्यही नजरबाट त्रिलोचन रिजाललाई पनि हेरिएको छ । पार्टीका पुराना र जेलनेल खेपेका रिजाल विपक्षीहरूमाझ मात्र होइन, आफ्नै कार्यकर्ता पंक्तिमा पनि परिचित छैनन् । रिजाललाई विराटनगर बाहिरका कुनै पनि कार्यक्रम र कार्यकर्तालाई महत्व नदिएको आरोप लाग्ने गरेको छ ।



संस्थापन पक्षबाटै सभापति पदका अर्का दावेदार सञ्जय भट्टराई पार्टीभित्र खुल्ला राजनीतिक प्रतिष्पर्धा स्वीकार्ने पक्षमा छन्। उम्मेद्वारी घोषणा स्वभाविक भएपनि अधिवेशन आउने बेलामा उम्मेद्वारको संख्या घट्ने भट्टराईको भनाई छ । भट्टराईले भने, 'पार्टीभित्र अनुभवी पुरानो र कार्यकर्ताबीच परिचित ब्यक्ति सभापतिको उम्मेद्वार बन्ने भए समर्थन पनि हुन सक्छ, काँचा कचिला उम्मेद्वार मैदानमा आए भने त्यो भीडमा मेरो पनि उम्मेद्वारी निश्चित छ ।' उहाँले राजभण्डारीबाहेक अन्य कुनै पनि उम्मेद्वार मैदानमा आए आफूले मैदान नछोड्ने संकेत गरे। मोरङ कांग्रेसमा लामो समय आर्थिक लाभ हुने पद नलिई काम गरेका भट्टराईलाई सुजाता कोइराला, शेखर कोइराला र महेश आचार्यको समर्थन हुने उनी निकटहरूले ठोकुवा गरेका छन् ।
उता संस्थापन पक्षमा जस्तै देउवा पक्षमा पनि उम्मेद्वार खोजीमा सकस भइरहेको छ । अमृत अर्याललाई देउवा कित्तामा भित्र्याएपछि आफूलाई समर्थन हुने विश्वासमा रहेका डिगबहादुर लिम्बूलाई अर्याल नै चुनौतिको पहाड बनिदिएका छन् । मोरङको राजनीतिका चतुर खेलाडी अर्यालले लिम्बूलाई 'ओभरटेक' गरेपछि लिम्बूको सभापति बन्ने सपना पानीको फोका बन्ने सम्भावना बढेको छ । लिम्बू देउवाको कमजोर संगठन भएका बेला एक्लै देउवाको प्रतिनिधिका रुपमा काम गर्ने कार्यकर्ता हुन्। यद्यपि देउवालाई सहयोग गरेको ब्याज खाने बेलामा अर्याल नै बाधक हुने निश्चित छ । अर्याललाई केन्द्रीय नेतृत्वको समर्थन नहुने र सभापति बन्न नसक्ने अवस्था बन्दै जाँदा लिम्बू र देउवा पक्षका अर्का आकांक्षी दिलिपकुमार गच्छदारलाई सभासद जति सभापतिको उम्मेद्वार नबनौं भन्ने प्रस्ताव अघि सारेको अर्यालनिकट स्रोतले दाबी गरेको छ । स्रोतका अनुसार अर्यालका निकट सहयोगी यदु विष्टले 'स्पेस' खोजेपछि चौथो विकल्पका रुपमा अर्यालले विष्टलाई अघिसारेका छन् । अर्यालको मनोनित सचिव भएर काम गरिसकेका विष्ट चौथो विकल्पमा आफ्नो नाम आएपछि थन्किएको बताइन्छ । तर, अर्यालको राजनीतिक खेलप्रति लिम्बूले कुनै प्रतिक्रिया दिएका छैनन् । आफू देउवाको सर्वसम्मत उम्मेद्वार बन्न नसक्ने अवस्था आए लिम्बूले पनि अर्यालविरुद्व तिकडम गर्ने सम्भावना रहेको लिम्बू निकटहरू बताउँछन् ।




Comments