व्यवस्थित बनाइँदै विद्युतीय रिक्सा





विष्णु सुब्बा, दमक।
केहि महिनाअघि भित्रिएको विद्युतीय रिक्सा मनोमानी ढंगले सञ्चालन हुनथालेपछि यसलाई व्यवस्थित गरिने भएको छ । दमक नगर क्षेत्रमा यस खाले रिक्सा सञ्चालन अव्यवस्थित भएको भन्दै स्थानीय प्रशासनले सरोकारवालाहरुको समन्वयमा व्यवस्थित गर्न लागेको हो ।
सिटी सफारी तीनपाङ्ग्रे सवारीसाधनहरु अन्तर्गत यातायात व्यवस्था कार्यालयबाट अनुमति लिएर सञ्चालन गर्नुपर्ने प्रावधान रहेको भएपनि नगरपालिका र गाविसमा रेकर्ड राखी ठूलो संख्यामा सञ्चालन हुँदैआएका छन् । झापाको मुख्य शहरी क्षेत्रहरु दमक, विर्तामोड भद्रपुरसँगै गाविसहरुमा समेत सरकारले उल्लेख गरेको प्रकृया पूरा नगरी करिब एकहजारको संख्यामा त्यस्ता सवारीहरु सञ्चालनमा रहेका छन् ।



यता सिटी सफारीको बढ्दो प्रयोगका कारण सवारी सञ्चालनमा समेत समस्या आउन थालेपछि जिल्लास्थित ट्राफिक प्रहरीले स्थानीय नगरपालिका, गाविस र यातायात व्यवस्था कार्यलयमा समन्वय नगरी तत्कालका लागि यस्ता सवारीहरु विक्री वितरण नगर्न व्यावसायीहरुलाई परिपत्र गरिसकेको छ ।
इलाका ट्राफिक प्रहरी कार्यालय दमकले पनि दमकबाट यस्ता सवारी साधनहरुको विक्री बितरण गर्दै आएका ५ वटा व्यावसायीहरुलाई विक्री रोक्न परिपत्र गरेको इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रहरी नायव निरीक्षक शिवनारायण दनुवारले जानकारी दिए।
दमक नगर क्षेत्रमा यस्ता सवारीहरुको वढ्दो प्रयोगका कारण सवारी सञ्चालनमा समस्या भएकाले तत्काल यो सवारीको विक्री नगर्न सम्बन्धित व्यवसायीलाई परिपत्रमार्फत अनुरोध गरेको प्रनानि दनुवार बताउँछन् । उनी भन्छन्, 'क्षमताभन्दा अत्याधिक मात्रामा यो खाले रिक्सा सञ्चालन भएपछि यसबाट हुने जोखिम नियन्त्रण गर्न लागेका छौ ।'
हाल दमकमा मात्रै झण्डै तीनसयको संख्यामा दमक नगरपालिकामा दर्ता गरी अनुमति लिएका सिटी सफारीहरु सञ्चालनमा छन् । स्थानीय स्वायत्त शासन ऐनअन्तर्गत स्थानीय नगरपालिका वा गाविसले यी सवारी लागि रुट अनुमति मात्र दिन पाउने भएपनि सञ्चालनका लागि (ग) श्रेणीको लाइसेन्स अनिवार्य रहेको यातायात व्यवस्था कार्यालयले जनाएको छ ।
नेपाल सरकारको श्रम तथा यातायात मन्त्रालयले गरेको परिपत्र अनुसार सवारी तथा यातायात ऐन अनुसार कुनैपनि सवारी साधनलाई अनुमति लिनु पर्ने व्यवस्था गरेको छ ।
तर यातायात कार्यालय झापामा यस्तो अनुमति लिने सवारीको संख्या भने न्यून रहेको छ । हालसम्म ६३ वटा सवारी साधनले मात्र यस्तो अनुमति लिएको यातायात ब्यबस्था कार्यालय बिर्तामोडका प्रमुख जय कुमार घिमिरेले जानकारी दिए।


सो कार्यालयमा दैनिक त्यस्ता दशजति सवारी साधनहरु प्रकृयामा आइरहेको समेत घिमिरेले बताए। उनले भने, 'यी सवारी साधनहरु सरकारले तोकेको मापदण्ड अनुसार दर्ता हुनुको विकल्प छैन।'
तर यस्ता सवारी सञ्चालन गर्दै आएका अधिकाँश मजदुरहरुमा लाइसेन्स र बर्षेनी नवीकरण गर्नुपर्ने कानुनी प्रावधानका झन्झट र डरका साथै कतिपयमा भने अज्ञानताका कारण यस्ता सवारी दर्ता हुन सकेका छैनन्।
सवारी तथा यातायात व्यवस्था ऐनले यन्त्रिक शक्तिवाट सडकमा गुड्ने सवै सवारीसाधन ऐनको प्रावधानमा समेटिने उल्लेख छ ।
अनुमति नै नलिइ सञ्चालनमा आएका यस्ता सवारी साधनबाट हुन सक्ने दुर्घटना उच्च जोखिम मानिन्छन् । गाविस वा नगरपालिकाबाट रुट अनुमति लिएर सञ्चालनमा आएका सिटी सफारीबाट हुने कुनै पनि दुर्घटनामा सहजता ल्याउन पनि नियमानुसार दर्ता गरिनु पर्ने यातायात व्यवस्था कार्यालय मेचीका प्रमुख घिमिरले बताए।


भाडादर मनपरी
विद्युतीय रिक्सा छिटो छरितो साधनका रुपमा विस्तार हुँदै गएपनि यात्रुहरुको लागि भाडादर अझै व्यवस्थित हुन सकेको छैन । विद्युतीय रिक्साका मजदुरहरुले यात्रुहरुसँग आफूखुसी भाडादर कायम गरी चर्को भाडा असुली गर्दै आएका छन् । दमकमा दैनिक ३ सयका हाराहारीमा गुड्ने यी सवारीका अधिकांश मजदुरहरुले भाडादर आफ्नो संगठनको सर्कुलरमा लिने गरेका छन् । नगरपालिकाले यस्ता रिक्साको भाडादर एकतर्फी कायम गरेपनि सो कार्यान्वयन नभएको तथा यात्रुहरुले चर्को भाडा दर तिर्न बाध्य हुनुपरेको यात्रुहरुको गुनासो छ । दमक-१३ की भावना लिम्बु विद्युतीय रिक्सा नजिकै आउजाउ गर्नका लागि उपयुक्त माध्यम भएपनि यसको यात्रु भाडादर सन्तुलित बन्न नसकेको बताउँछिन् । 'जथाभावी भाडा लिने गरेका छन्', भावनाले भनिन्। दमकको चोकदेखि बजारसम्म पुग्न मात्र प्रति यात्रु ३० रुपैयाँ लिने गरेको यात्रुहरू बताउँछन् । करिव १ किलोमिटरसम्मको भाडा ३० रुपैयाँ लिँदै आएको तथा क्षमताभन्दा बढी बोक्ने गरेपनि नियमनकारी निकायले यसमा ध्यान नदिएको गुनासो यात्रीहरुको छ ।
ट्राफिक प्रहरीले दमकमा गुड्ने यी रिक्साको भाडादर र क्षमताभन्दा बढी यात्रु बोक्ने कार्य नियन्त्रण गर्न खासै चासो नदिएको स्थानीयवासिन्दाहरुको भनाई छ । कतिपय यस्ता रिक्साहरुले सामान ढुवानीको कामसमेत गर्ने गरेका छन् ।


Comments