दमकमा फोहोर संकलन अवरोध



३० जेठ, दमक।
फोहोरमैला व्यवस्थापन पक्ष र सरसफाई कर्मचारीका वीचमा बढे्को विवादका कारण दमक नगरपालिकाको फोहोर शनिवार उठ्न सकेन ।
सफाई कर्मचारीहरुमाथि व्यवस्थापन पक्षले दुर्व्यवहार गरेको आरोप लगाउँदै सफाई कर्मचारीहरुले फोहोर संकलन नगर्दा दमकको शहरी क्षेत्रको शनिवार मात्र झण्डै दश टन फोहोर उठ्न नसकेको हो । एकजना सफाई कर्मचारी मुन्ना मल्लिकले सार्वजनिक स्थलमा नै अपशब्द बोल्दै सामाजिक मर्यादा विपरित काम गरेको भन्दै व्यवस्थापन पक्षले कामबाट निष्कासन गरेको आरोप सफाई कर्मचारीहरुको छ ।



मल्लिक ३ वर्ष अघिबाट सरसफाईको काम गर्दै आएका मल्लिकलाई एकाएक निकालिएपछि उनको पूनर्वहालीको माग गर्दै सफाई कर्मचारीहरुले दमक-१० स्थित फोहोर व्यवस्थापन कार्यालयको मूल गेटमा धर्ना दिएका थिए । त्यसक्रममा स्थानीय प्रहरीले विरोधमा उत्रिएका मजदुरका अगुवा अखिल नेपाल सरसफाई मजदुर संघ इकाई कमिटी दमकका संयोजक कैलाश मल्लिकलाई केही समय नियन्त्रणमा लिएको थियो ।
सफाई कर्मचारीहरुले निष्कासन गरिएका कर्मचारीको पूनर्वहाली नभएसम्म काममा नफर्कने चेतावनी दिएका छन् ।
सफाई कर्मचारी र व्यवस्थापन पक्षका वीच विवाद देखिएपछि सोही विषयका बारेमा जानकारी लिन आएकी नेपाल ट्रेड यूनियन महासंघ झापाकी अध्यक्ष सिता सापकोटाले पनि व्यवस्थापन पक्षले आफूमाथि अभद्र व्यवहार गरेको आरोप लगाएकी छिन् । सापकोटाले भनिन्, 'व्यवस्थापन पक्ष र फोहोर कर्मचारीवीच बढेको विवादका विषयमा जानकारी लिन दमकस्थित फोहोरमैला व्यवस्थापन कार्यालय पुग्दा घटनाको वास्तविकताभन्दा फरक किसिमले आफुलाई बाहिर निस्कन बाध्य बनाए।'
दमक नगरपालिकाका वातावरण शाखा प्रमुख द्रोर्ण थापाले भने घटना सामान्य भएको दुवै पक्षका वीचमा आपसी छलफल गरी समस्या सुल्झाउने कार्य भइरहेको बताएका छन् ।
यता फाहोर व्यवस्थापन कार्यालय दमक फिल्ड व्यवस्थापक निर्मला चौधरीले भने सरफाई कर्मचारी तथा मजदुर नेताहरुले लगाएको आरोप झुठा भएको बताएकी छन् । चौधरीले भनिन्, 'पीडित भनिएका मुन्ना मल्लिकले बारम्बार सामाजिक मर्यादा विपरीतका गतिविधि गर्ने गरेकाले पटकपटक उनलाई सच्चिन आग्रह गर्दासमेत सोही गतिविधी दोहोर्‍याउने गरेको पाइएपछि कामबाट हटाउनु परेको हो ।'
दमक क्षेत्रको फोहोर व्यवस्थापन गर्न निकै चुनौतीको विषय बन्दै गएकाले यहि अवस्था रहिरहे भविष्यमा समेत यसले दुरगामी असर गर्ने उनको भनाई थियो । उनले भनिन्, 'काम गर्न दिनानुदिन समस्या बन्दै छ, यसरी काम गर्न स्थानीय बासिन्दा, सवैक्षेत्रको सहभागीता हुनुपर्छ ।'



गएको बैशाख १ गतेबाट सार्वजनिक निजी साझेदारीमा आधारित रहेर ३२ जना सफाई कर्मचारीहरुबाट सो कार्यालयले दमकको फोहोर व्यावस्थापन गर्दै आएको छ । नगरको फोहोर व्यवस्थापन गर्न नगरपालिकाले पाथवे नेपाल नामक संस्थासँग ५ बर्षसम्मका लागि सम्झौता गरेको थियो । यसअघि नगरपालिका र सो संस्थाले नगरको फोहोर संकलन वापत उपभोक्ताहरुसंग उठाउने रकमका बारे जनस्तरमा विरोध उठेपछि झनै समस्या बनेको थियो । केही दिनअघि फोहोर संकलनको दररेट एकतर्फी तथा असामान्य भएको भन्दै एमाले निकट नेपाल राष्ट्रिय वाणिज्य संघले आपत्ति जनाएपछि सो समस्या सुल्झाउन नगरपालिकासहित उद्योग वाणिज्य संघले पहल थालेको छ । यतिका दिन वितेपनि विवादित समस्याले किनारा पाउन सकेको छैन।
नगरपालिकाले बिभिन्न पसल, विद्यालय, अस्पताल, होटलहरु सहित ६९ वटा शिर्षकमा फोहोर मैला संकलन शुल्क तोकेको थियो ।
नगरपालिकाले एक सयदेखि ३ हजार रुपैयाँ मासिक सरसफाई शुल्क निर्धारण गरेको छ ।
यता नगरपालिका भने फोहोर मैला संकलनका लागि अन्यत्र जस्तै दर रेट तोकिएको बताइरहेको छ । फोहोरमैला उत्पादन गर्नेले नै ब्यवस्थापन गर्नुपर्ने दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालको तर्क छ ।
नगरपालिकाले सबैभन्दा बढी डिर्पाटमेन्ट स्टोरलाई ३ हजार, अस्पताललाई २ हजार मासिक शुल्क तोकेको छ । तर पहिलो पटक तोकिएको शुल्क दमकका लागि सुहाउँदो नभएको व्यवसायीहरुको गुनासो छ ।




Comments