पूर्व लडाकुको रुपान्तरणबारे पूर्व मन्त्रीको चिन्ता




६ जेठ, दमक।
पूर्व शान्ति तथा पूनर्निमाण मन्त्री सत्या पहाडीले ९० प्रतिशत पूर्व लडाकु समायोजन नभएको सम्झिँदै दुःख ब्यक्त गरेकी छिन्। झापाको तोपगाछीमा आज बुधबार आयोजित एक कार्यक्रममा बोल्दै उनले समायोजन नभएका पूर्वलडाकुको उचित ब्यवस्थापन गरी अवस्था सुधार्न राज्यले पहल गर्नुपर्नेमा जोड दिइन्।
शान्ति तथा पुनर्निमाण मन्त्रालय शान्तिकोष सचिवालयको सहयोग तथा अन्तरदलिय समाजको आयोजना र आइसिपिडीको प्राविधिक सहयोगमा भएको माओवादी पूर्व लडाकुहरुको आर्थिक तथा सामाजिक स्थितिसम्बन्धी अन्तरक्रिया कार्यक्रमका उनले सो धारणा राखेकी हुन् ।




पूर्व लडाकुको समायोजन गर्दा सरकारले तीनबटा अवसरहरु प्रदान गरेको भएपनि समायोजन र स्वेच्छिक अवकाशलाई मात्र सरकारले अगाडी बढाउँदा उनीहरुको सामाजिक रुपान्तरणमा समस्या भएको अन्तरदलिय समाज नेपालकी वरिष्ठ उपाध्यक्षसमेत रहेकी पूर्व मन्त्री पहाडीको भनाई रहेको थियो ।
त्यस अवसरमा सहभागी पूर्व लडाकुहरुले दशक लामो माओवादी विद्रोहमा सत्ताबिरुद्ध लडेकाहरुको समस्याप्रति राज्य उदासिन बन्दै गएको गुनासो राखेकी थिइन्।

यसैगरी द्वन्द व्यवस्थापन तथा रुपान्तरण समाजका महासचिब बिष्णु भुषालले पूर्व लडाकुहरु राखिएका क्यान्टेनमेन्ट क्षेत्रहरुमा पूर्व लडाकुहरुका आर्थिक तथा सामाजिक स्थितिबारे जानकारी दिन सो कार्यक्रमको आयोजना गरिएको बताए।
सो कार्यक्रममा जिल्ला विकास समितिका प्रतिनिधि सुरेश आचार्य, शान्ति समिति झापाका अध्यक्ष सूर्य नारायण गणेश, पूर्व लडाकूहरु लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको समेत सहभागिता थियो ।








Comments