कुलझोडाले पुर्‍यायो बिकट गाउँमा राहत



६ जेठ, उर्लाबारी।
मोरङको राजघाटका युवाहरुबाट सञ्चालित फेसबुक ग्रुप कुलझोडा समुहले दोलखा र नुवाकोट जिल्लाको विकट गाउँका भुकम्प पिडीतहरुलाई प्रभावित क्षेत्रमै पुगेर राहत हस्तान्तरण गरेको छ । दोलखाको गैरीमुदी गाविस वडा नम्बर ८ र ९ र नुवाकोटको दुईपिपल गाविस वडा नम्बर ९ का भुकम्प पिडीतलाई चामल, दाल, त्रिपाल, लत्ताकपडा लगायतको राहत हस्तान्तरण गरेको हो । कुलझोडा समुहका संयोजक लोलिम पोमुको नेतृत्वमा कैलाश थापा मगर, तेजन खड्का, प्रेम निङ्लेकु, पूर्ण सिंगक,अरनिको हस्पिटलका स्वास्थ्यकर्मी गणेश सुब्बा, स्मीता राई, मिस लिम्बु बिष्णु चेम्जोङ, कुन्नी हाङश्रोङ, रेखा फागो, गीतकार मिना सिंगक लगायतको टोलीले दोलखाको गैरीमुदीमा २२५ घरधुरी र नुवाकोटको दुईपिपलमा १०० घरधुरीलाई राहत वितरण गर्‍यो । कुलझोडा समुहसँग अरनिको हस्पिटल उर्लाबारीको स्वास्थ्यकर्मी टोली र मिस लिम्बु टिमपनि राहत बाँड्न संयुक्त रुपमा गएको थियो ।



अरनिको हस्पिटलका स्वास्थ्यकर्मीको टोलीले निःशुल्क औषधी वितरण गर्नुका साथै भुकम्पबाट चोटपटक लागेका स्थानीयको उपचार समेत गरेका थिए ।
राहत पाएपछि स्थानीयमा खुशीयाली छाएको थियो । 'घर न घाटको भएका थियौं, ओत लाग्ने त्रिपाल पायौं, चामल पनि पायौं', गैरीमुदीका कैलाश श्रेष्ठले भने, 'घर भत्किएकोले खाद्यान्य र लत्ताकपडा धनसम्पत्ति पुरिएको छ ।' दुईचार दिन खानको लागि समस्या टरेको उनले बताए । थप राहत नआउने हो भने भोकै बस्नुको बिकल्प नरहेको उनको भनाई छ । उनले स्थानीयहरु पिडादायी अवस्थामा रात काट्न बाध्य भएकाले अझै सहयोगको खाँचो रहेको बताए ।
भुकम्प गएदेखि नै स्थानीयहरु खाली स्थानमा पालमुनी बस्न बाध्य छन्, कतिपयसँग भने अझै त्रिपालसमेत छैन।
दुईपिपल गाविस रगैरीमुदीका गाउँका सबै घर भत्किएका छन् । कसैको घर आधामात्र भत्किएको छ । घरभित्र पसिसक्नु छैन, चर्किएको छ । 'भुइँचालोले घरभित्र नै सबै पुर्‍यो, निकाल्न जाऔं त किच्ला भन्ने डर', स्थानीयले दुःख सुनाए ।

घर भत्किँदा घरभित्र भएका खाद्यन्य तथा लत्ताकपडा लगायतका समाग्रीहरु पुरिएका छन् । बाटो पनि जिर्ण र पहिरो झरेर समस्याग्रस्त छ । राहत टोलीका संयोजक लोलिम पोमुले भने, 'बडो कष्टका साथ राहत हस्तान्तरण कार्यक्रम सम्पन्न गर्न सफल भयौं, भुकम्प पिडीतबाट राम्रो सद्भाव मिल्यो तर गाउँमा थुप्रै पिडीत छन् ।' सरकारले तत्काल राहत समाग्री पुर्‍याउनु पर्ने' लोलिमको भनाई छ। 'एक नेपालीको दुःखमा अर्को नेपालीले सहयोग गर्नु मानवीय सेवा हो', उनले भने, 'यस्तो विपत्तिका बेलामा सहयोग गर्न पाउँदा निकै खुसी भएका छौं।' सहयोगी हातहरूले अझै पनि पीडितहरूको घाउमा मलहम लगाउने क्रम जारी राखेको बताउँदै उनले आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तता दिने जानकारी दिए । सरकारले प्रभावकारी ढंगले राहत वितरण गर्न र राहत वितरण सम्बन्धी निगरानी गर्न आवश्यक रहेको उनले बताए ।


राहत वितरणमा गएका कैलाश थापा मगरले विकट गाउँमा राहत पुर्‍याउन सहयोग गर्ने सबैमा आभार प्रकट गरे। 'कुलझोडाबाट राहत लिएर बिकट गाउँमा पुगेर हस्तान्तरण कार्यक्रम गर्न पाउँदा मनमा उत्साह जागेको छ, सबैले आफ्नो क्षेत्रबाट सकेको सहयोग गरौं', मगरले भने, 'विदेशीहरुले त सहयोग गरेका छन् हामी त झन सबै नेपाली किन सहयोग गर्न पछि पर्ने ?'
नुवाकोटको दुईपिपल गाविसमा १७ जनाको भुकम्पबाट निधन भइसकेको छ भने गैरीमुदीमा खासै मानविय क्षति नभएपनि घरसबैको लडेका छन् । गैरीमुदी गाविसका प्रहरी इन्चार्ज अमेन्द्र यादवले कुलझोडा समुहले गरेको राहत वितरण सहज र प्रभावकारी भएको बताए । 'कुलझोडा समुहले प्रभावकारी र सहजतरिकाले राहत वितरण गर्‍यो', यादवले भने, 'अन्य संस्थाले राहत वितरण गर्दा झगडा र खोसाखोस हुने गरेको थियो, राहत लिन आएका धेरैले पाउदैनथे।' ब्यवस्थापन गर्न प्रशासनाई समेत हम्मेहम्मे हुने गरेको उनले बताए।
कुलझोडा समुहले प्रहरी चौकी र एक स्थानीय पत्रकारलाई पनि राहत वितरण गरेको थियो। प्रहरी चौकी र पत्रकारको घर पनि भत्किएको छ ।
राहत टोलीमा गएका प्रेम निङ्लेकुले अगाडी नै कति घरलाई राहत वितरण गर्ने भनेर पूर्व तयारी गरेकोले राहत वितरण कार्यक्रम प्रभावकारी भएको बताए । एउटै पोकामा राहतका सबै समाग्री समावेश गरेका कारण सहज भएको उनको भनाई थियो।




राहत बाँड्दाबाँड्दै भुकम्प
शनिवार गैरीमुदीमा राहत वितरण गर्दा गर्दै ५.५ रेक्टरको भुइँचालो गएको थियो । त्यो भुकम्प दोलखाकेन्द्र विन्दु बनाएर गएको थियो। 'नुवाकोटमा पनि राहत वितरण गर्दा पराकम्पनहरु गइरहे', मिस लिम्बु बिष्णु चेम्जोङले भनिन्, 'दुर्गम गाउँमा राहत पुर्याएर आउँदा सयौंचोटी मरेर बाँचे जस्तै भयो।'

राहत खोसिएला भन्ने चिन्ता
कुलझोडा समुहलाई नुवाकोट र दोलखामा प्रहरी प्रसाशनले राहत लाने क्रममा सुरक्षा दिएको थियो । गाउँलेहरु राहत खोस्ने तयारीमा तैनाथ देखिन्थे । 'यद्यपि, प्रहरी प्रशासनको सहयोगमा राहत भनिएकै ठाउँमा पुर्‍याउन सफल भयौं', मिस लिम्बु टोलीबाट गएकी रेखा फागोले भनिन् । टाठाबाठा र पहुँचवालाले मात्र राहत पाएको गुसानो स्थानीयले गरेका थिए । त्यस क्षेत्रमा कतिपय भने त्रिपालमात्र पाए पनि उसिनेको आलु खाएर भएपनि बाँचौला भन्नेपनि भेटिएका थिए । 'सबैले राहत संकलन गरेर पुर्‍याए भुकम्प पिडीतलाई गाँसको अभावबाट जोगाउन सक्छौ', फागोले भनिन् ।


कुलझोडाले कसरी उठायो त राहत ?
कुलझोडा समुह फेसबुक ग्रुपमा लासाङ निङ्लेकुले 'भुकम्प पिडीतलाई कुलझोडा समुहमा आवद्ध भएका र नभएकाबाट राहत संकलन गरेर हस्तान्तरण गरौं सकेको सहयोग गरौं' भनेर पोष्ट गरेकाथिए । त्यसपछि लोलिम पोमुको संयोजकत्वमा राहत संकलन समिति गठन भयो । बैंक खाता नम्बरमा देशविदेशमा रहेका राजघाटवाशी लगायतले आर्थिक सहयोग गरे ।
राजघाट हङकङ समाज, गन्तब्य नेपाल लगायतका संस्था तथा रोजगारमा विदेश रहेका राजघाटवाशीले कुलझोडा समुहलाई राहत हस्तान्तरण कार्यक्रमको लागि सहयोग गरेका थिए ।

Comments