धिमाल जातिहरु जात्री पर्व मनाउँदै



तेजन खड्का
२ बैशाख, उर्लाबारी।
नयाँ वर्षको शुरुवातसँगै झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने धिमाल जातिको मुख्य पर्व जात्री आजबाट सुरु भएको छ।
हरेक बर्षको बैशाख २ गते धिमाल जातिको उद्गमस्थल मानिएको मोरङको भोगटेनीस्थित राजारानीमा मेला लगाएर जात्री पर्व शुरु हुनेगर्छ । ग्रामथानमा हाँस कुखुरा, सुँगुर लगायतको बलि दिइएको छ । जात्री पर्वमा समाहित हुन धिमाल तथा ग्रैह धिमालहरुको बाक्लो उपस्थिति रहेको छ । जात्री पर्वको अवसरमा मेलासमेत सञ्चालन हुने भएकोले घुइँचो बढेको हो ।
भोगटेनीबाट सुरु भएपछि धिमालका बस्तीको टोलटोलमा यो पर्व पुग्नेगर्छ ।


प्रकृतिपुजक धिमालहरु रोगब्याधी नलागोस्, वाली विरुवा लगाउने वेलामा वर्षात् होस्, जंगली जनावरले दुःख नदियोस् भन्ने कामनासहित महाराजथानमा गएर सामुहिक पूजाआजा गर्ने गर्छन् । परापूर्वकालमा धिमालहरुले यी समस्याहरु समाधान गर्न ग्रामधानमा पूजा गर्दा कामना पूरा भएपछि यसलाई निरन्तरता दिँदै मनाइँदै आएको जनविश्वास छ ।
सिर्जात अर्थात सामूहिक पूजा वा जात्री नयाँ वर्षको पहिलो चाड भएकाले सालभरी कसैलाई पनि रोगव्याधि नलागोस्, शोक नपरोस् र सुख शान्ति छाओस् भन्ने भनेर मनाइने गरिएको सभासद पर्तमान धिमालले बताए । यो पर्वमा धरमठाकुर, लक्ष्मी, चौमाझी, बुढा ठाकुर लगायतको पूजा गरिने उनले जानकारी दिए । यस पर्वले धिमाल जातिमा आपसी सम्बन्ध प्रगाढ बनाउँदै बन्धुत्वको भावना बिकास गराउने गरेको सभासद धिमालले बताए ।
खोलानाला, रुख बिरुवा र माटोको पनि पूजा हुन्छ यसलाई ग्रामपूजा पनि भनिन्छ । असार संक्रान्तिसम्म मनाइने यो पर्व धिमालका ९८ वटै टोलहरुमा मनाइने गरिएको छ । जात्रीको अवसरमा गाउँ गाउँमा मेलाको आयोजना हुने गरेको छ ।

पछिल्लो समय काठमाडौंमा पनि धिमालहरुले यो पर्व मनाउने गरेका छन् ।
जात्रीमा धिमालहरु आफूले भाकल गरेअनुसार वस्तु चढाउने पनि गर्दछन् धिमालहरुले दुख- बिराम निको होस्, सन्तान प्राप्ति होस् भन्ने मनोकामना राख्ने र ती पूरा भएपछि जात्रीका बेलामा देउतालाई भाकल अनुसारका वस्तु चढाउने गर्दछन् । यो बेलामा धिमालका घरमा पाहुना आउने र उनीहरुलाई मासु तथा 'चिचिरी','बगिया' लगायतका परिकार खुवाउने पनि गरिन्छ । जुन गाउँमा जात्री मेला लाग्छ त्यस गाउँका धिमालका घरघरमा पाहुना आउने गर्छन् । इलाम चुलाचुलीकी जेसिका धिमालले भनिन्, 'भेटघाट पनि हुन्छ, पाहुनालाई मेजमानी गरिन्छ ।' खासगरी यो पर्वलाई चेलीबेटीहरु माइत आउने अवसरको रुपमा लिन्छन् ।



आदिवासीको रुपमा रहेका धिमालहरु जात्री पर्वको अवसरमा हिलोको पनि पूजा गर्छन् । नराम्रो जस्तो लाग्ने हिलोबाट मानव जातिलाई पालनपोषण गर्ने राम्रो अन्नको उत्पादन हुन्छ भन्ने मान्यता उनीहरुको छ । यसअघि यस पर्वमा लाग्ने मेलामा आएका युवकले युवतीलाई युवतीले युवकलाई पान, सुपारी, छोकडा दिँदा यदि लिएर खाएमा प्रेमप्रस्ताव स्वीकार गरेको बुझ्ने गरिन्थ्यो । पछि यस कार्यले बिकृति निम्त्याउँदै नकारात्मक असर परेकोले हटेको बुढापाकाहरु बताउँछन् । यद्यपि, कतिपय युवायवतीलाई भने जात्री जोडी खोज्ने अवसरसमेत भएको छ ।
धिमालहरु वैशाखदेखि असारसम्मका दुई महिना धिमालका प्रत्येक टोलमा ढोल बजाएर रमाइलो गर्छन् । मोरङको उर्लाबारीस्थित मंगलबारेमा रहेको धिमाल जाति बिकास केन्द्रको परियोजनास्थलमा दुई महिनापश्चात साँस्कृतिक मेलाको आयोजना गरी जात्री पर्व समापन गरिन्छ । ढोलको आवाज ढङ ढङ... आउने हुनाले कतिपयले जात्रीलाई 'ढङढङे' पनि भन्ने गरेका छन् । लामो समयसम्म यो पर्व मनाउने परम्पराका कारण खर्चिलो भएको भन्दै कतिपय सामाजिक अगुवा धिमालहरुले यसलाई समयसापेक्ष रुपमा कम समय मनाउनु पर्नेमा जोड दिँदै आएका छन् । हरेक टोल र ग्रामथानमा नभएर एकीकृत रुपमा यो पर्व मनाउन सकिने धिमाल अगुवाहरूको भनाई छ । यसका लागि आवाज उठ्न थालेको छ ।




Comments