कानुनविपरित अस्पतालको फोहोर सार्वजनिक स्थानमा





१४ बैशाख, दमक।
यहाँका अस्पतालहरुबाट निस्कने फोहोरमैला सार्वजनिक स्थलमा नै फाल्ने गरेको पाइएको छ ।
फोहोर उठाउने क्रममा दमकको पश्चिम बस स्टेण्डनजिकै राजमार्गमा स्थानीय एक दन्त अस्पतालका उत्पादित ठुलो परिणाममा फोहोर भेटिएको हो । अस्पतालले प्रयोग गरिसकेका एकबोरा सिरिन्ज, ग्लोव लगायतका सामाग्रीहरु भेटिएको फोहोर व्यवस्थापनमा कार्यरत पाथवे नेपालका अध्यक्ष सुवास कार्कीले बताए। उनले त्यहाँ भेटिएका ती अस्पतालजन्य फोहोर सामाग्रीहरु स्थानीय दमक मानव डेन्टल अस्पतालको भएको बताए। उनले भने, 'अस्पतालबाट निस्कने फोहोरमैला बारेको सरकारी नियमलाई यहाँका यस्ता अस्पतालले धज्जी उडाउँदै आएका छन्।'
अस्पातलबाट उत्पादन भएको फोहोरलाई अस्पताल स्वयम्ले इन्सिनेरेटरको माध्यमबाट नष्ट गर्नुपर्ने कानुनी प्रावधान रहेको भएपनि त्यसको विपरित सार्वजनिक स्थानहरुमा नै यस्ता फोहोरहरु फाल्ने गरेको पाइएको छ । अस्पतालहरुले उत्पादन गरेको फोहोर आफैले व्यावस्थापन गर्नुपर्ने कानुनी व्यवस्था सरकारी मापदण्डमा उल्लेख छ । तर यहाँका अधिकांश स्वास्थ्य संस्थाले भने आफूले उत्पादन गरेका फोहोरमैलाको उचित व्यवस्थापन नगरेको अध्यक्ष कार्कीको आरोप छ ।




दमकमा मात्र निजी क्षेत्रका एक दर्जन बढी दन्त अस्पतालहरु सञ्चालनमा रहेका छन् । ती अस्पतालबाट निस्कने फोहोर मैला रातिपख सडकमा फाल्ने तथा नजिक रतुवा खोलामा जथाभावी फाल्दै आएको पाइएको अध्यक्ष कार्कीले बताए। यसले गर्दा मानव स्वास्थ्य तथा वातावरणमा नै प्रतिकुल असर पुग्दै आएको कार्कीको भनाई छ ।

स्थानीय स्वायत्त शासन ऐनअन्तर्गत नगरपालिकाले आफ्नो क्षेत्र भित्रका यस्ता अस्पतालबाट उत्पादित हुने अस्पतालजन्य फोहोर मापदण्डविपरीत भएको पाइएको खण्डमा जरिवानासहित कारवाही गर्न सक्ने प्रावधान रहेको दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले जानकारी दिए।
सो विषयमा मानव डेण्टल अस्पतालका समीर पौडेलले सो फोहोर दमक मानव डेण्टलको नभएको प्रतिक्रिया दिएपनि फोहोर आफैले उठाएको स्वीकार गरेका छन् । उनले भने, 'अस्पतालबाट निस्कने फोहोर नगरपालिकाका फोहोर संकलन गर्ने कर्मचारीहरुलाई पैसा दिएर फाल्दै आएका छौं।'


कतिपय साना परिणामका यस्ता फोहोरमैलाहरु भने अस्पताल सँगैका सडकको कुनातिर फाल्ने गरेको पाइएको छ ।
फोहोर मैला व्यवस्थान ऐन २०६८ अनुसार अस्पतालहरुले उत्पादन गरेको फोहोर नियमानुसार नष्ट नगरी सार्वजनिक स्थानमा फालिएको पाइएमा ५० हजार देखि डेढलाख रूपैयाँसम्म जरिवाना र ३ महिनासम्मको कैद सजाय हुने प्रावधान रहेको छ ।
दमक नगरपालिकाको फोहोर व्यवस्थापनको जिम्मा पाएको पाथवे नेपालले यही बैशाख १ गतेबाट काम शुरु गरेपछि फोहोर हटाउने काममा तीव्रता दिएको पाइएको छ ।



Comments