थपिँदै भुटानी शरणार्थी, शिविरमा ३ हजार नयाँ




काठमाडौं ।
नेपाली मूलका भुटानी नागरिकहरू आफ्नो थलो छाडेर अझै शरणार्थीका रूपमा नेपाल आउने क्रम जारी रहेको खुलासा भएको छ ।
अढाइ दशक पहिले भारतीय भूमि हुँदै पूर्वी नेपाल छिरेका भुटानी शरणार्थीहरू घरफिर्ता हुन सकेनन् । उनीहरूमध्ये धेरैजसो तेस्रो देश पुनर्वास गइरहेका छन् । यो अवस्थामा समेत दिनहुँजसो नयाँ शरणार्थी आइरहेको शरणार्थी नेताहरूले जानकारी दिए । उनीहरूले राजधानीमा आयोजित कार्यक्रममा नयाँ शरणार्थीहरू शिविरमा बेवारिसे अवस्थामा बसिरहेको उल्लेख गरे ।
भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालले सन् २०१२ पछि करिब तीन हजार भुटानी शरणार्थी शिविरमा थपिएको खुलासा गरे । नेपालले सन् २०१२ यता भुटानी शरणार्थी दर्ता गर्ने र तथ्यांक राख्ने काम बन्द गरेको छ । रिजालका अनुसार दैनिकजसो एक/दुई जना भुटानी नेपालमा थपिइरहेका छन् ।




भुटान सरकारले तेस्रो मुलुक पुनर्वासपछि बाँकी रहने आफ्ना नागरिक फिर्ता लिने प्रतिबद्धता व्यक्त गरिसकेको छ । भुटानले अन्तर्राष्ट्रिय जगत्मा प्रजातान्त्रिक सुधारको सन्देशसमेत दिन चाहेको छ ।
नेपाल र भुटानको द्विपक्षीय प्रमाणीकरण टोलीले सन् २०१२ सम्मका भुटानी शरणार्थीहरू प्रमाणित गरेको थियो । त्यसरी प्रमाणित भएकालाई नेपालको जिल्ला प्रशासन कार्यालय र शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले भुटानी शरणार्थी परिचयपत्र दिँदै आएको हो ।
सरकारको पछिल्लो आँकडामा ९५ हजार ९ सय २ भुटानी शरणार्थी तेस्रो मुलुक पुनर्वास गइसकेका छन् । हाल २१ हजार ८ सय ८४ जना प्रमाणित शरणार्थीमात्र शिविरमा छन् । त्यसमध्ये आधा तेस्रो मुलुक जाने तयारीमा छन्। बाँकीले स्वदेश फर्कन पाउनुपर्ने अडान राख्दै तेस्रो मुलुक जाने इच्छापत्रमा हस्ताक्षर गरेका छैनन् । मोरङको शनिश्चरे र झापाको बेलडाँगीस्थित दुई शिविरमा उनीहरू बस्दै आएका छन् ।
'भुटानमा प्रजातन्त्रको नाटक रचिएको छ । हामीलाई खेदेपछि त्यो नाटक गरे पनि अहिले भुटानमा राजाको दमन उत्तिकै छ । दैनिकजसो भुटानी मित्रहरू आइरहेका छन् । म दुई दिनअघि मात्र शिविरबाट काठमाडौं आएको हो । त्यहाँ रहँदा मैले भुटानमा अहिले पनि दमन रहेको र नेपाली मूलका नागरिक छाड्न बाध्य भइरहेको गुनासो नयाँ साथी (नयाँ शरणार्थी) बाट सुनें,' रिजालले आइतबार कार्यक्रममा भने ।

भुटानमा अझै ४० हजार नेपालीभाषीले त्यहाँको नयाँ प्रणालीअनुसारको नागरिकता पाएका छैनन् । उनीहरूले राजसंस्थाविरुद्ध बोलेको भन्दै अहिलेसम्म सरकारबाट नागरिकता नपाएको, दुर्व्यवहार सही बस्न बाध्य भइरहेको रिजालले जानकारी दिए ।
अहिले पनि भुटानमा प्रजातन्त्र र मानवअधिकारको कुरा उठाउने ५० जना जनाभन्दा बढी जेलमा रहेको भुटान नेसनल डेमोक्र्याटिक पार्टीका कार्यवाहक अध्यक्ष तथा हर्वट विश्वविद्यालयका आगन्तुक अध्यापक डीएनएस ढकालले बताए । 'भुटानबाट आउने क्रम नरोकिनु आफैंमा शोचनीय भएको छ । अब हामी विश्वका विभिन्न मुलुकमा छरिएका छौं । त्यहाँबाट पनि आवाजलाई अझ बुलन्द बनाएर अघि बढ्ने छौं । भुटानभित्र पनि राजनीतिक गतिविधि बढाउने छौं । अन्याय कति सहनु । पहिलो चरणमा गैरआवासीय भुटानी (एनआरबी) बनाएर अघि बढ्ने छौं,' उनले भने ।
जेलमा भएकामध्ये कतिपय नेपालस्थित भुटानी शरणार्थी शिविरबाट उठाएर त्यहाँ लगिएकाहरू रहेको ढकालले बताए । अहिले पनि छद्म भेषमा भुटानी सुरक्षाकर्मी आएर वा मान्छे लगाएर शिविरबाट शरणार्थी लाने र भुटान पुर्‍याई जेलमा कोच्ने क्रम जारी रहेको उनले उल्लेख गरे ।
झापाका सहायक प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापाले अझै भुटानी शरणार्थी आइरहेकाबारे आफूलाई जानकारी नभएको बताए । 'केही भुटानी नेताहरूले चाहिँ शरणार्थीको नयाँ दर्ता खुला गर्न माग गरिरहेका छन् । राजनीतिक निर्णय नभएसम्म नयाँ दर्ता सम्भव नहुने जानकारी गराइरहेका छौं', उनले भने । उनका अनुसार दर्ताको क्रममा छुटेका भनिएका केहीका विषयमा त्यो माग उठेको हो । राष्ट्रसंघीय शरणार्थी उच्चायोगको कार्यालय (यूएनएचसीआर) ले प्रमाणीकरण छुटेका भुटानी शरणार्थीहरू रहेको जानकारी दिए । 'नयाँ आएको थाहा भएन तर दर्ता गर्न छुटेकाहरू केही भएको सूचना हामीकहाँ छ', यूएनएचसीआरका सूचना अधिकारी दीपेशदास श्रेष्ठले कान्तिपुरसँग भने ।




शरणार्थी नेताहरूले नेपालले शरण दिएकामा प्रशंसा गरे पनि घरफिर्ती प्रयासमा नेपाल चुकेको भन्दै दुःख व्यक्त गरे । रिजालले नेपाल सरकारले आफूलाई ट्राभल डकुमेन्टसमेत नदिएर दुःख दिएको बताए । आफूलाई सेवा सुविधाहरू दिए पनि नेपाल सरकारले विदेशमा रहेका आफन्त र साथीहरू भेट्न जान नदिने उद्देश्यले ट्राभल डकुमेन्ट नवीकरण नगरेको बताए । 'अहिले दक्षिण भुटानका मित्रहरू विभिन्न मुलुकमा छिन्नभिन्न भएका छन् । यो सबै नेपाल र अन्तर्राष्ट्रिय समुदायको कारण हो', रिजालले भने ।
कार्यक्रममा पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले आफ्नो मुलुकभित्रैबाट शरणार्थी समस्या समाधान गर्न केही गर्नुपर्ने सुझाव दिए । भारतको साथ लिई मुलुकभित्र आन्दोलन नगर्दा झुल बाहिरको 'लामखुट्टे' जस्तो हुने बताए ।
ड्रुक नेसनल कंग्रेसका उपाध्यक्ष पेमा टेन्जिनले आन्दोलन अब सुरु हुने र घर फिर्ताको विकल्प नभएको बताए । उनले भुटानभित्रबाट नै अन्तिम आन्दोलन गर्ने तयारीमा आफूहरू अघि बढेको पनि बताए । यस विषयमा नेपालका सबै राजनीतिक दलहरूको समर्थन रहेको पनि दाबी गरे ।
नेपालमा प्रजातन्त्र पुनःस्थापनालगत्तै नब्बेको दशकमा भुटानमा पनि आन्दोलन चर्केको थियो । त्यसमै भुटानी सरकारले दक्षिण भुटानका नेपालीभाषीहरूलाई छानी-छानी खेदेको शरणार्थी नेताहरूको भनाइ छ । त्यसबेला ठूलो संख्यामा भुटानी भित्रिएपछि नेपाल सरकारले यूएनएचसीआरमार्फत उनीहरूलाई विभिन्न ९ शिविरमा राखेको हो । तेस्रो देश पुनर्वासका क्रममा भुटानी शरणार्थीहरू अमेरिका, बेलायत, डेनमार्क, अस्ट्रेलिया, क्यानडा, नेदरल्यान्ड, नर्वे र न्युजिल्यान्ड गएका छन् ।


- कान्तिपुरबाट

Comments