शुन्य लगानीको व्यापारले जोडियो घडेरी



विष्णु पौडेल, दमक।
हरेक बिहान भालेको डाकसँगै ५२ वर्षीया कृष्णमाया अधिकारी भण्डारीलाई निन्द्राले छोडसकेको हुन्छ । हत्त न पत्त नित्यकर्म सकेर साइकलको ह्यान्डिलमा पुगिहाल्छन् उनका हात । अनि सुरु हुन्छ घुम्ती व्यापारको यात्रा । चार बजे नै उठेर झिसमिसेमै गाउँभरिका घर बारीमा पुग्नु, फलेको साग सब्जी भेला गर्नु र डोको, बोरा, झोलामा भारी कस्नु उनको दैनिकी नै हो ।
लखनपुर-४ दहीचोक निवासी कृष्णमायालाई यो उमेरमा साइकल चढेर गाउँभरि घुम्ने र सागसब्जी तुलफूल जे फलेको छ बिक्रीका लागि दमकको ब्यस्त सहरका भान्सासम्म पुर्‍याउनु त्यति सजिलो त छैन । तर पहिलेदेखिको बाध्यताले उनलाई यो दैनिकीमा अभ्यस्त बनाएको छ ।



४० वर्षको उमेरमा जीवनमै पहिलोपटक एकैचोटी साइकलका पाइडलमा खुट्टा परेका हुन् कृष्णमायाका । 'मैले सानै उमेरमा मात्रै देखेकी थिएँ, सिक्न चाहिँ ४० वर्षपछि, त्यो पनि यो व्यापार थिएन भने कहाँ सिकिन्थ्यो होला र ?' दमकको बेलडाँगी रोडस्थित एउटा घरको आँगनमा तरकारीको घुम्ती व्यापारको सिलसिलामा आइपुगेकी कृष्णमायाले भनिन् । त्यसो त साइकल चढ्नुभन्दा आठ-दश वर्षअघि नै उनी घुम्ती व्यापारीका रुपमा दही र तरकारी बेच्दै आफ्नो परिचय बनाइसकेकी थिइन् ।
पैदल हिँडेरै व्यापार गर्ने कृष्णमायालाई समयले मागेको हिँडडुलको सजिलो साधन साइकल जुराएपछि निक्कै सजिलो भयो । 'छोराले कुदाउने गरेको साइकल सबैले सिक्नू भने मैले पनि एक दुई दिन गर्दै सिकी पनि हालेँ', कृष्णमायाले भनिन्, 'पहिले पहिले त एक क्विन्टल (सय केजी) सम्म तरकारी बोक्थेँ साइकलमा, अहिलेचाहिं अलि सक्न छोडेँ, चालिस केजीसम्म बोकेर कुदाउन सक्छु ।'

लखनपुरकै झारवारीमा छँदासम्म दही व्यापार गर्दै आएकी कृष्णमायाले दही चोक बसाइँ सरेपछि भने दहीको व्यापार छोडेको बताउँछिन् । 'दही चोकमा त्यति साह्रो दही पनि पाउन छोडियो सबैले तरकारीकै व्यापार गर्नू भनेर सरसहयोग गर्नुभयो गाउँ छिमेकी सबै सहयोगी भएकाले उहाँहरुको सल्लाह अनुसार नै तरकारीको व्यापार थालेँ', कृष्णमायाले विगत बताइन् । आर्थिक अभावकै कारण आफ्ना ३ छोरा र ३ छोरीलाई राम्रो पढाउन नसकेको गुनासो गर्ने कृष्णमायाले जसोतसो घुम्ती व्यापार गरेरै भए पनि कमाएको १ लाख ६० हजार रुपैयाँमा घर बनाउने ठाउँसम्म किनेको बताइन् । दुःखले कमाएको दुई चार पैसाबाट जोडेको जग्गाले अहिले ७-८ लाख रुपैयाँ मोल साट्छ ।
शून्य लगानीको व्यापार कृष्णमायाको घुम्ती व्यापार थाल्न त्यसबेला एक पैसा पनि आफ्नो लगानी परेको होइन । 'मसँग थिएन पनि, सबैले ब्यापार गर भन्दा केले गर्नु ? जस्तो लाग्थ्यो, बिहानभरि गाउँमा भेला गरेको तरकारी ल्याएर बेच्दा पैसा नै चाहिँदो रहेनछ', उनले भनिन्, 'बोडी साग, फर्सि लौका... जे फल्छ भेला गरेर ल्यायो बेलुका सबैको पैसा दियो, आफ्नो मेहनत खेर जाँदैन ।' आफूले गर्ने व्यापारको गतिलो काइदा सुनाइन् कृष्णमायाले । उनले गाउँ गाउँबाट भेला गरेर ल्याएको तरकारीले दमकमा शहरीया व्यस्ततामा रहेका व्यापारी, जागिरे सबैको भान्सालाई सहज बनाएको मात्रै छैन उत्पादित तरकारीले राम्रो बजार पनि पाएको छ ।




Comments