जनआन्दोलन-२ लाई सम्झँदा

इश्वर भट्टराई।
आज ९ औं लोकतन्त्र दिवस । सबैले दिवसलाई सम्झँदा मेरो मानसपटलमा आन्दोलनका ती क्षण आउँछन् । जतिजति समय छिपिँदै गएको छ, आन्दोलनको महिमा उत्तिकै बढ्दै गएको पाउँछु ।
देशमा चलेको सशस्त्र द्वन्द्वले अशान्तिको कालो बादल मडारिएको थियो । दश वर्षसम्म द्वन्द्व चर्किदा दैनिकजसो आज फलानो ठाउँमा हमला भयो रे सयौंको जनाको मृत्यु भयो रे भन्ने समाचारहरू प्रशारित भइरहन्थे । त्यो बेलाको समयलाई सम्झँदा अहिले पनि आङ सिरिङ्ग भएर आउँछ । अझ प्रत्यक्ष द्वन्द्व भोगेकाहरूलाई कस्तो भइरहेको छ होला ?
द्वन्द्वले दशौं हजार नेपाली रगत बगिसकेको थियो । हजारौं आमाहरूका काख रित्तिएका थिए । हजारौं महिलाहरूको सिउँदो पुछियो भने हजारौं बालबालिकाहरू टुहुरा र घरबारबिहीन बनेका थिए । अशान्तिले पिरोलिएका जनतामा शान्तिको आश भने कही कतैबाट पनि थिएन । निरंकुश शासकको थिचोमिचोले आलो घाऊमाथि नुन चुक हालिरहेको थियो ।




शासकले जनताको अधिकार कटौती गर्दै शासन सत्ता हातमा लिए । त्यसैको फलस्वरूप २०६२ सालको अन्त्यतिर जनताको धैर्यताको बाँध विस्फोटक बन्यो । काठमाडौंमा आन्दोलनको माहोल बनेको थियो । उक्त आन्दोलन ज्वालाझैं देशभर दन्कियो ।
देशैभरका जनता जाग्दा एक्लै घरमा बस्ने कुनै भएन । त्यसमाथि पनि उर्लाबारीवासीको त्यो उत्साह र जोशले आन्दोलनमा होमिने आँट गरे । आन्दोलनमा मजस्तै आलाकाँचा युवादेखि लिएर सबै वर्ग, पेशाका मानिसको उत्तिकै सहभागिता थियो । कुना काप्चादेखि सबैको सहभागिताले लाग्थ्यो यसअघि कहिल्यै त्यति मान्छे उर्लिएको थिएन । निशाना ताकिरहेका प्रहरी तथा सेनाको अगाडि स्थानीयले 'राजतन्त्र मुर्दावाद ! लोकतन्त्र जिन्दावाद !' भन्ने हिम्मत उर्लाबारीवासीले पनि गरेका थिए ।
यसरी अनेक नाराले गुञ्जायमान ठाउँमा कसैका हातमा चारतारे झण्डा, कसैकोमा हँसिया हथौडाको झण्डा आदि विभिन्न झण्डा बोकेर एक ढिक्का भई उर्लाबारी परिक्रममा गरेका थिए । आन्दोलनको दिन लम्बिदै जाँदा सिठ्ठी जुलुस, थाल ठटाउनेदेखि लिएर बत्ती निभाउने कार्यक्रम यहाँ पनि भएको थियो । जसमा प्रतिगमनकारीलाई सुनाउन जोडतोडले सिठ्ठी फुक्यौं, थाल ठटायौं र बत्ती निभायौं ।



नेपालको इतिहासमा प्रजातन्त्र प्राप्तिका लागि जनताको तेस्रो लडाइँ सडकमा जति उर्लिएको थियो त्यति नै ठूलो पीडा सबैका घर-घरमा थिए । घरमा रासन पानीको अभाव बढ्दै थियो । कोही साथी रासन सकिएर पानी पिउनु परेको पनि बेदना सुनाउँथे ।
राजनीतिप्रति औधी रूची राख्ने भएकाले रेडियो, टेलिभिजनमा आउने नेताको कुरा हेर्थे र सुन्थे । त्यतिबेला नेताको नाम अहिले स्मरण नभएपनि उनले भनेका कुरा भने अझैं स्मरणमा रहिरहेको छ । उनले भनेका थिए, आदरणीय जनसमुदायहरू, हामी यो क्षतिको पूरताल गर्नेछौं । आउनुस्, अन्तिम लडाइँ लडौं । र, लाग्थ्यो हाम्रो जीवनकालमा आउने परिवर्तनका लागि किन नलड्ने । तर, अहिले ती सबै सम्झदा राजनीतिक नेताप्रति आक्रोश जाग्दछ ।
देशका ठाउँ-ठाउँमा झडप र जनतामाथि बुट, लाठी र गोली बर्सिंदा कसो उर्लाबारीमा भने त्यस्तो कुनै अप्रिय घटना भएन । अन्यथा दमन यहाँ पनि भएको भए सायद कल्पना गर्न सकिन्न । जनआन्दोलनमा दर्जनौं शहीद भए, हजारौं घाइते भए । तर, उनीहरूको भावनाअनुसार काम गर्नु त कहाँ हो कहाँ सम्झना समेत छैन । लोकतन्त्र आउँछ जान्छ, लोकतन्त्रको महसुस त परकै कुरा भए शहिद तथा घाइतेका परिवारप्रति कुनै सहानुभूति नै छैन ।
निरंकुश शासक जनआन्दोलन दबाउन अनेक प्रपञ्च रच्दै गए । तरपनि सडकमा उर्लिएको त्यो मानव सागर कही कतै पनि डगमगाएनन्, दृढतापूर्वक लागिरहे । अन्ततः घुँडा टेक्नु बाहेक तत्कालीन सरकारको कुनै उपाय थिएन । नभन्दै आन्दोलनको १९ दिनमा निरंकुश शासकले घुँडा टेक्यो । २०५९ साल असोज १८ गते विघठित जनताको सार्वभौमसत्ता सम्पन्न प्रतिनिधिसभाको पुनर्स्थापना भयो । इतिहासमै त्यो जनताको वीरतापूर्ण दिन हो । सारा विश्व नै चकित बनेको थियो, जनताको सहभागिताले । र, लोकतन्त्र स्थापना भयो ।
त्यतिबेला नयाँ नेपालको नारा घन्किएको थियो । नयाँ नेपाल कस्तो बन्ला भन्ने कौतुहलता थियो । देशमा शान्ति, अमन चयन र शान्तिले गति लिन्छ भन्ने आम मानिसको बुझाई थियो । तर, आशै-आशमा बसेका नेपाली जनता निराश छन् । प्रतिगमनले लाठी बर्जाउँदा, गोली बर्साउँदासमेत नडग्मगाएका निडर मन भने आज बिरक्तिएका छन् ।



जनआन्दोलनको जगमा लोकतन्त्र आयो । सशस्त्र युद्ध लडिरहेको तत्कालिन नेकपा (माओवादी) पनि जनआन्दोलनमा सहभागी हुँदै शान्तिपूर्ण राजनीतिमा आयो । गणतन्त्र आयो । दुईपटक संविधानसभाको निर्वाचन भयो तर विडम्बना नै मान्नुपर्छ, नागरिकमा भने के परिवर्तन आयो ?
मजस्ता युवा आज समृद्ध जीवनका लागि खाडीको चर्को घाममा संघर्ष गरिरहेका छन् । थाहा छैन उनीहरू फर्कन्छन् फर्कन्नन् । बेरोजगार हुनुको पीडा सहन नगसकेर कोही जीवनदेखि नै विदा लिएका छन् । कोही भोकले कोही रोगले मरिरहेका छन् । अझ शिक्षा, स्वास्थ्य, विकास निर्माणका कुरा टाढाकै छन् । यस्तै, समाजमा बलात्कार, हत्या, हिंसा, अत्याचारका घटना बढिरहेको छन् । यी घटना रोक्नु त कहाँ हो कहाँ नेताहरू भन्छन्, संक्रमणकालमा बलात्कार भइरहन्छ । के यही हो त लोकतन्त्र ?
जनआन्दोलनको महिमा र गरिमा उच्च रहेपनि आन्दोलनको नेतृत्व गरेका राजनीतिक पार्टीका नेताको बेइमानीले सबै निराश छन् । इतिहासदेखि नै नेपाली जनतामाथि बेइमानी हुँदै आएको छ । परिवर्तनका लागि पटक-पटक लड्दैजाँदा नेपाली जनताको भावनामाथि तुषारापात हुँदै आएको छ । १०४ वर्षे निरङ्कुश राणशासनको विरूद्ध होस् या त २०४६ सालको पञ्चायत विरूद्धको आन्दोलन, तीबाट प्राप्त उपलब्धि पनि लामो समयसम्म टिक्न सकेनन् । र, लोकतन्त्र स्थापनाको ९ वर्षमा पनि यसका उपलब्धिहरू संस्थागत हुन सकेका छैनन् । जनआन्दोलनको उपलब्धीलाई संस्थागत गर्दै संविधानसभाको निर्वाचन गरी संविधानसभामार्फत संघीय गणतान्त्रिक नेपालको संविधान निर्माण गरी आर्थिक समृद्धि, स्थायी शान्ति तथा दीगो विकास गर्नु मुख्य उद्देश्य रहेको थियो । जुन दोस्रो संविधानसभामा आइपुग्दा समेत गति लिन सकेको छैन ।
लोकतन्त्रमा मानिसको जीवनस्तर उक्सिने कल्पना थियो । तर, आज कुकुर विरालो जतिको पनि मूल्य मान्छेको छैन । आजभोलि त लाग्छ, नेपालमा जुनसुकै तन्त्र आएपनि फाप्दैन । राजनीतिक दलका नेताहरू हो के यही हो त लोकतन्त्र ?



Comments