४० दिन बाँकी रहँदा ३० प्रतिशतमात्र बन्यो नेपालको लामो पुल




९ बैशाख, दमक।
हुलाकी राजमार्गअन्तर्गत झापाखण्डको कन्काईमाईमा निर्माणाधीन पक्कीपुलको निर्माणकार्य सुस्त बनेको छ ।
पप्पु माहादेव जेभिले निर्माणको जिम्मा पाएको ७ सय २४ दशमलब ८ मिटर लम्बाईको सो पुलको निर्माण कार्यले गति लिन नसक्दा निर्माण कार्य सुस्त बनेको हो । २०६८ साल जेठ ३१ गते निर्माण कम्पनी पप्पु महादेव जेभिले २०७२ जेठ ३० गतेसम्ममा निर्माण सम्पन्न गरिसक्ने गरी नेपाल सरकारको ३० करोड ४० लाख ९० हजार रुपैयाँमा सो पुलको निर्माण शूरु गरेको हो । नेपालककै सवैभन्दा लामो भनिएको सो पुलको निर्माण सम्पन्न गर्ने मिति सकिनै लाग्दा अहिले सम्म ३० प्रतिशतमात्र काम सम्पन्न भएको सडक विभाग हुलाकी राजमार्ग अयोजना कार्यालय इटहरीका इन्जिनियर रामदेब शाहाले जानकारी दिए । हुलाकी राजमार्ग अन्तर्गत पूर्वाञ्चलमा निर्माण भइरहेका पुलहरुको सुपरिवेक्षणको काम सडक विभाग हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरीले गर्दै आएको छ ।


२० वटा पिलर रहने गरी साढेसात मिटर चौडाईमा सो पुलको निर्माण हुने जनाईएको छ । झापाको दक्षिणी सिमावर्ती गाविस माहाभाराको वडा नम्बर ६ चौरीबाट कुमरखोद गाविसलाई जोड्ने गरी पुलको निर्माण भइरहेको छ । सडक विभाग आयोजना कार्यालय इटहरीको अनुगमन तथा प्रत्यक्ष निगरानीमा पुलको निर्माण भइरहेको भएपनि निर्माण कार्यले भने गति लिन सकेको छैन । कार्यालयका इन्जिनियर शाहाका अनुसार २० वटा पिलरहरुमध्ये हालसम्म ३ वटा पिलरको मात्र बेसिक लेवलको पाइलिङ सकेर क्याप लेवलमा पुगेको छ।

पुल चारवर्ष भित्रमा निर्माण सम्पन्न गरी नेपाल सरकारलाई बुझाईसक्नु पर्ने थियो । निर्माणाधिन पुलको दैनिक निरीक्षण र अनुगमनमा रहेका इन्जिनियर शाहले निर्माण कार्य ३० प्रतिशत सम्पन्न भएको भनेपनि हालसम्म १० देखि १५ प्रतिशतमात्र काम भएको स्रोतले दावी गरेको छ ।


भारत सरकारको सहयोगमा निर्माण भैरहेको हुलाकी राजमार्गअन्तर्गत झापामा मेची, विरिङ, देउनिया, कन्काईमाई, रामचन्द्रे, गेउरिया र रतुवाखोलामा ठुला तथा साना गरी ७ वटा पुलको निर्माण भइरहेको छ । विभिन्न चरण र खण्डमा निर्माण भइरहेका सवै पुलहरु अधुरो अवस्थामा नै रहेका छन् भने कतिपय पुलको निर्माण कार्य शुरु हुन सकेको छैन । मुलुकको तराई क्षेत्रका दक्षिणी भेगहरुलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जोड्ने उद्देश्यले उच्च महत्व दिएर हुलाकी मार्गको निर्माण शुरु गरिएको भएपनि हालसम्म यो सडकको निर्माण कार्यले गतिलिन सकेको पाइँदैन । झापा जिल्लाका दक्षिणी सिमावर्ती गाविसहरुलाई प्रत्यक्ष फाइदा पुग्ने गरी निर्माण शुरु भएको अयोजनाको कार्य प्रभावकारी बन्न नसक्दा तेकिएको समयमा भौतिक संरचनाहरुको निर्माण सम्पन्न हुनेमा शंका पैदा भएको छ । निर्माण पक्षले बन्द हडताल तथा निर्माण मजदुरहरुको अभाव देखाउँदै आफु पन्सिने परिपाटीको विकास हुनुले पनि यस्ता अयोजनाहरुको निर्माण कार्य अलपत्र बन्ने गरेका छन्।



Comments