'सबै मिलि जीवन जोगाउँ, देश बचाउँ'



- रामकुमार परियार
२०७२ साल वैशाख १२ अर्थात् हिजोको दिन हाम्रा निम्ति अभिशप्त रहेछ । एउटा इतिहास ढलेर अर्को इतिहास ठडियो । सुनौलो इतिहास मेटिएर कालो इतिहास पोतियो । उफ्फ !!! सम्झिँदा मात्रै पनि कहाली लाग्छ । झन् प्रत्यक्ष देख्दा वा तस्वीर, भिडियो देख्दा कस्तो हुँदो हो ? उफ् !!! व्यक्त गर्ने शाहस जुटाउन सकिनँ । सिंगो देश रोएको छ यतिबेला । सबको मन दुखेको छ । छाती छिया छिया भएको छ । नेपाल आमाको त कुरैं छोडौँ, डाँको छोडेर रुँदैछिन । यस्तो अवस्थामा के नै लेख्न सकिन्छ र ? के नै बोल्न सकिन्छ र ? शिवाय सहानुभूति र संवेदनाका दुई शब्द ।



२०६८ साल आश्विन १ गते जीवनमा पहिलोपटक भूकम्पको मज्जाले अनुभुति गरेको थिएँ । त्यस अघिको भूकम्प मलाई याद छैन । भूकम्पले विनाश गर्छ भन्ने त सानैदेखि पढदै, सुन्दै आएको हुँ तर यति साह्रो गर्ला भन्ने कल्पना गरेको थिइनँ किनकि सानातिना भूकम्प आएका, गएका धेरै सुनिसकेको थिएँ । ०६८ सालको भूकम्प साँझपख गएको थियो, मलाई राम्ररी याद छ, खास ठूलो थिएन तर पनि घर र बिजुलीका खम्बाहरु मज्जैले हल्लाएको थियो । पछि थाहा पाउँदा ५ जनाको प्राण पनि लगेछ । लगभग यो घटना मैले भुलिसकेको थिएँ । तर हिजोको विनाशकारी घटनाले ती सम्पूर्ण अनुभूति ताजा गराइदियो । हो, निको भइसकेको घाउ बल्झिने मात्रै होइन क्यान्सर नै भएर आयो, एक्कासी ।
विशेषगरी दैनिक ज्यालादारी गरेर मुखमा माड हाल्ने सयौँ मजदुरको कार्य स्थलमै प्राण लग्यो, अबोध छोराछोरीलाई टुहुरो बनाइदियो । परिवारबाट बिदा मागेर केही समय घुम्न निस्केका विदेशी बटुवाहरुको परिवारसँगको पुनर्मिलन असम्भव बनाइदियो । मीठो मीठो सपना बुनेर बसेका कैयन युवायुवती र किशोरकिशोरी को सारा सपना झर्‍यामझुरुम बनाइदियो कहिल्यै नजोडिने गरी । कत्ती कलिला केटाकेटीलाई संसार राम्ररी देख्नै नपाई टपक्क टिपेर लग्यो, निर्दयी भवितव्यले ।

जरजर द्वन्द्वबाट माथि उठेर भर्खर तंग्रिन लागेको मुलुकको अर्थतन्त्र फेरि थेचारियो । पुनः देश दशकौँ पछाडि पर्‍यो । ज्यादै दुखानुभूति हुँदैछ । विदेशी भूमिमा यस्ता खबरहरु सुन्दा, हेर्दा ज्यादै दु:ख लाग्दो रहेछ । आज अनुभूत गर्दैछु । कास यो बेला स्वदेशमा हुँदो हुँ अनि घाइतेलाई कम्तिमा एक ग्लास पानी पिलाउन पाएको भए पनि कत्ती आनन्द मिल्ने थियो होला यो बेचैन मनलाई । तर विडम्बना ! प्रवासमा १२ घण्टे जागिर पकाएर केही पल साथीभाईसँग पिडामा भोगिरहेका घर-परिवार,आफन्त र साथीभाईसँग भलाकुसारी गर्न पनि तालमेल मिलिरहेको छैन ।
यसको पीडा कत्ती भएको होला, तपाईंले पनि सहजै अनुमान लगाइसक्नु भयो । जे नहुनु थियो भई नै सक्यो । सायद हाम्रो भाग्य नै यस्तै थियो । सतिको सराप अकाट्य नै हुँदोरहेछ । अब हामीसित यस्ता उस्ता कुरा पोखेर भावनामा डुबेर बस्ने समय छैन । मनका कुरा पोख्नु भन्दा लडेकालाई उठाउनतिर लाग्नुपर्छ । छानो उढेकालाई पाल टाँगिदिन सक्यौँ भने त्यो नै हाम्रो महानता ठरिनेछ । यो राज्य वा सरकारको मुख ताक्ने बेला होइन । दोषारोपण गर्नु पनि बुद्धिमता ठहरिन्न किनकि यो भवितव्यको कारक कोही होइनौँ । जे हुनु थियो भएरै छाड्छ भयो आखिर । हुने हार, दैव नटार भनेको यहि रहेछ ।
अबको यो विकराल परिस्थितिमा संभाव्य घटनाहरुको पुर्वानुमान गर्दै सावधानी अपनाउनु जरुरी छ । मृत्यु हुनेलाई त फर्काउन सकिन्न प्राण बँचेकाहरुलाई यथाशक्य चाँडो अस्पताल लगेर जीवन बँचाउनु नै हाम्रो पहिलो कर्तव्य हो । अंगभंग भएकाहरूलाई सम्बन्धित अस्पताल पुर्‍याएर संरक्षण गर्न अति आवश्यक छ । परिवार गुमाएर विक्षिप्त बनेकाहरुको घाउमा मलहम लगाउनतिर लाग्नुपर्छ न कि थप सन्त्रास थपेर पीडा दिनतिर । यसतर्फ सबैले ध्यान दिनु आवश्यक छ ।




संचारकर्मी मित्रहरूले पनि संयमित भएर समाचार सम्प्रेषण, प्रशारण गर्न आवश्यक छ । विभत्स तस्वीर र सामाग्री प्रकाशन गर्नुपूर्व संभाव्य परिणामको आँकलन गरिदिनु होला । विक्षिप्त बनेकाहरुलाई थप पीडा नपर्ने गरी यथार्थ विवरण सार्वजनिक गरिदिनुहोला । खासमा यो समय व्यवसाय, कार्यालय बन्द गरेर उद्दार र राहतमा लाग्नुपर्ने बेला हो । त्यसैले हामी सबैको सक्रिय साथ,सहयोग र ऐक्यबद्धता हुन जरुरी छ । अहिले नगरे, कहिले ? सोच्ने बेला आएको छ ।
फेरि पनि एउटा आग्रह , राज्य र सरकारको मुख नताकौँ । कसैलाई पनि दोष नलगाऔँ । यत्रो ठूलो संकटको सामना गर्ने शक्ति हाम्रो राज्य र सरकार एक्लैसँग छैन । यसमा तपाईं हामी सबैले होस्टेमा हैँसे जोड्न अपरिहार्य छ । विदेशी नियोग, राष्ट्रहरुबाट समेत सहयोग प्राप्त हुन थालिसकेको छ । उनीहरुलाई खुल्ला ह्रदयले स्वागत गरौं । अनेक टिकाटिप्पणी र खोक्रो राष्ट्रवाद अलाप्नतिर लाग्यौँ भने त्यो हाम्रै निम्ति घातक बन्न सक्छ । आउँ सबै मिलि जीवन जोगाउँ, देश बचाउँ ।




Comments