भदौबाट परिवर्तनको आभाष हुनेछ - अधिकृत दाहाल




युवराज दाहाल-दमक नगरपालिकाका निमित्त कार्यकारी अधिकृत हुन् । गएको असोज १३ गतेदेखि दमक नगरपालिकाको जिम्मेवारी सम्हालेका उनी दमक नगरको समग्र रुपान्तरणमा सकृय रूपले लागिपरेका छन्, जसका कारण उनी अहिले निकै लोकप्रिय समेत बनेका छन्।
धनकुटामा जन्मिएर दमकको सरस्वती उच्चमावि र लखनपुरको वाणी उच्च माविमा प्रारम्भिक शिक्षा अध्ययन गरेका दाहालले यसअघि इलाम नगरपालिकामा करिव तीन बर्षसम्म कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए।
२०५४ सालदेखि नासुबाट सेवा शुरु गरेका गरेका उनी दमक नगरको ३५ औं कार्यालय प्रमुख हुन् ।
प्रस्तुत छ - कार्यकारी अधिकृत दाहालसँग सहयोगी पत्रकार विष्णु सुब्बाले नगरको विकास निर्माण लगायतको सेरोफेरोमा गरेको कुराकानी ।





दमक नगरपालिकामा ६ महिने अनुभव कस्तो रह्यो ?

निश्चय पनि यो क्षेत्रमा आउँदा मलाई आफ्नै घरमा आए जस्तो लाग्यो । दमकका लागि मेरो उपस्थिति नौलो विल्कुल हुँदैहोइन । मैले प्रारम्भिक शिक्षा लिएको ठाउँ हो यो। धनकुटामा जन्मिएपनि बाल्यकालको यसै क्षेत्रमा वितेको झल्झली आउँछ । मैले यहाँ के भन्न खोजेको हुँ भने दमकको हरेक क्षेत्रसँग मैले छुट्टै सम्बन्ध गाँसेको छु ।

आधा बर्ष वित्दा नगरको जिम्मेवारी सम्हाल्दा काम गर्न कतिको सहज भयो नि ?
यहाँ आउँदा आर्थिक बर्षको ६ महिना कटिसकेको थियो । त्यस्तै दमक नगरपालिकाको कार्यालय प्रमुखहरु जसरी महिनैपिच्छे सरुवा हुँदै आए यसले पनि यहाँको समग्र काम कारवाहीमा नै प्रभावित हुनु परेको तितो यथार्थ छँदैथियो । म आउँदा पनि सर्वसाधारणहरुबाट 'यो कार्यालय प्रमुख पनि कति नै बस्ला नि' भन्ने जिज्ञासा नै आउने गर्थ्यो । यस्ता कारणले मैले यस नगरको जुन जिम्मेवारी सम्हालें, निकै कठिन तथा अफ्ठ्याराहरु पनि आए । तर मैले आफ्नो जिम्मेवारीलाई अत्यन्त जिम्मेवारीका साथ कार्यसम्पादन गर्न थालें, त्यसैले अहिले त्यस्तो समस्या खासै आएको छैन।


स्थानीय बासिन्दा तथा राजनीतिक दलहरुको सहयोग कतिको प्राप्त गर्नुभएको जस्तो लाग्छ ?
मैले यहाँ आएपछि दमकको हितका लागि जुन कामकारवाहीहरु थालेको छु, यसवाट नगरवासीहरुको उल्लेख्य समर्थन पाएको छु जस्तो लाग्छ । यहाँ भन्नैपर्दा दमकको सडकको विषय होस् या दमकको पशुहाटको विषय नै किन नहोस्, कहीं न कहीं मानिसका आफ्नै आफ्नै स्वार्थ हुन्छन् । मलाई लाग्छ, नगरपालिकाले थालेको यही अभियानले कसैलाई चोट पुग्न गयो होला त्यो स्वाभाविक पनि मान्नुपर्छ । किनकी हामी अहिले जुन लक्ष्य र उद्देश्यका साथ अगाडी बढेका छौं, यो कसैको स्वार्थसँग गासिएको छैन। अवको पाँच बर्षभित्रमा दमकलाई देशभरिकै उत्कृष्ठ सुन्दर, पर्यटकीय, रमणीय तथा विदेशीहरुको लागि एउटा नमुना गन्तव्य शहर बनाउने दुरदृष्टि अभियानमा सक्रिय छौं। मलाई आशा छ, यस अभियानमा सवै नगरबासीहरुले सहयोग गर्नुहुनेछ ।

धेरै काममा नगरपालिकाले एकैसाथ काम थालेको छ, यो कतिको उद्देश्यमूलक बन्ला भन्ने लाग्छ ?
अहिले दमकमा धेरै कामहरु एकै साथ सञ्चालनमा रहेका छन् । केही योजनाहरुले काम थालेको अवस्था छन् भने केहि दुरगामी योजनाहरु चाँडै काम अगाडी बढ्ने प्रकृयामा रहेको विदितै छ । मुख्यतः दमकमा अहिलेसम्मको नयाँ काममा नगरपलिकाले योजना ल्याएको छ । हामीले पशुहाटको सुधार योजना, दमकको चोकमा आकाशे पुल, दमक-बजार क्षेत्रको अव्यस्थित सडकको संरचनामा केही काम भइसकेका छन् । त्यस्तै दमकमा औधोगिक करिडोर, फाल्गुनन्द सिटी हल, संसारको ठुलो बुद्ध स्तुपा, दमकको बजार क्षेत्रको सडक मार्गलाई वातावरण मैत्री मार्ग बनाउने जस्ता दिगो काममा जुटेका छौं। मलाई विश्वास छ, यो कामले पूर्णता पाउने छ ।




दमक बजारमा वातारणीय मैत्री सडक क्षेत्रको काम शुरु हुने भन्नुभयो, यो कस्तो हो ?
हामीले दमक भित्रको मुख्य बजार क्षेत्रलाई छिमेकी मुलुक भारतको सिक्किमको एउटा शहरका रुपमा विस्तार गरेर लैजाने सोचाईमा छौ । बजारको शंखधर चोकदेखि पूर्वको कोइराला मेडिकल हलसम्मको करिव १७५ मिटर लामो मार्गलाई नमुना मार्ग बनाउँदैछौं । त्यहाँ स्थानीय उद्योगी, व्यवसायीहरुको सहभागीतामा करिव ६० लाख रुपैयाँको लागतमा सो कार्य हुनेछ। यो मार्गमा कालोपत्रे हुँदैन, कालोपत्रेको भागमा सवै टायल विच्छ्याएर कुनै सवारी साधन प्रवेश गर्न नपाइने मनोरम स्थलका रुपमा सो मार्गलाई विकसित गर्दैछौं । हामीले यस मार्गलाई वातावरणमैत्री सँगै देशको नमुना मार्ग बनाउने लक्ष्यमा छौं । आजमात्र यसको औपचारिक रुपमा काम अगाडी बढेको छ ।

आकासे पुल, फाल्गुनन्द सिटी हल निर्माणका योजनासँगै अन्य महत्वकांक्षी केही योजनाहरु कहिलेसम्म पूरा होलान् नि ?
तपाईले राम्रो प्रश्न उठाउनुभयो। दमकबासीहरुले मलाई कयौं पटक यही प्रश्न सोध्ने गर्छन् । नगरका यतिका धेरै योजनाहरु कसरी कार्यान्वयन होलान भन्ने जिज्ञासा आउनु पनि स्वाभाविक नै हो । तर जुन काम अगाडी बढाइएका छन्, यसले मूर्त रुप लिनेमा दुइमत छैन। हामीले जति योजनाहरु सार्वजनिक गरेका छौं, ती सवै लक्ष्य अनुरुप पूरा हुने छन् । यहाँका धेरै योजनाहरु सरकारभन्दा दातृ निकायसँगको साझेदारीमा गरिने भएकाले यी काम सफल बन्नेछन् भन्ने विश्वास दिलाउन चाहन्छु ।
मुख्यतः दमकको लागि चोकमा निर्माण गरिने दुईवटा आकासे पुल आउँदो मंसीरभित्र पूरा हुने छन् । ती कामका लागि अहिले ठेक्का प्रकृया भइसकेको छ । करिव २ करोड २५ लाख रुपैयाँको लागतमा दमकको चोकमा राजधानी वाहिरको नौलो पुल बन्ने छ । यस्तै, दमक-१५ स्थित बालउद्यानमा फाल्गुनन्दको सिटी हल बन्ने अन्तिम प्रकृयामा छ ।

तपाई नगरपालिका आउनासाथ धेरै परिवर्तनहरु भएका छन्, यो कुनै लोकप्रियताका लागि मात्र त होइन् ?
यसलाई नकरात्मक ढंगले मात्र हेरिनु हुँदैन भन्ने मलाई लाग्छ । जहाँसम्म दमकमा आएपछि यहाँको विकासमा नौलो काम गरौ भन्ने लाग्यो । यहाँको विकृति, विसंगतीहरुलाई स्थानीय क्षेत्रबाट सुधार गर्न सकिएला भनेर काम अगाडी बढाइएको सवैलाई थाहा नै छ । यी काम गर्नका लागि मैले यहाँ आएर कुनै लोकप्रियताका लागि फाइदा उठाउने काम गरेको हुँदैहोइन । म त एउटा कर्मचारी भएकाले यहाँ रहँदा मैले कर्मचारी मात्र नठानेर यहाँको सचेत अनि जिम्मेवार नागरिकको अगुवाई भूमिका मात्र निर्वाह गरेको हुँ जस्तो लाग्छ ।

दमकको मुहार फेर्ने जुन काम थाल्नुभयो, यस्तो सोच कसरी आयो नि ?
मैले अघि नै भने नि, दमक मेरा लागि विल्कुल नौलो हुँदैहोइन। आफ्नो ठाउँमा केही नौलो काम गरौं भन्ने इच्छा शक्ति र उद्देश्यले मात्र यी कामहरु एकैसाथ थालिएका हुन्। मुलुकको उत्कृष्ठ नगरमात्र नभएर हामी यस नगरलाई दक्षिण एशियाको नै सर्वोत्कृष्ठ नगर बनाउने दृढतामा छौं । नगरपालिकाको एक्लो प्रयासले मात्र यो काम सम्भव छैन, यहाँका सवै क्षेत्रको सहयोग जुट्ने छ र दमकलाई भोलिको सुन्दर, समुन्नत नगर बनाउने महान अभियानमा सहयोग पुग्ने छ भन्ने विश्वास छ । मलाई लाग्छ, काम गर्दा नहुने कुरै हुँदैन नि ।


दमकको फोहोरमैलाको व्यवस्थापन निजी क्षेत्रले काम थालेको छ, यो कतिको प्रभावकारी होलान नि ?
हामीले दमकको फोहोरमैला व्यवस्थापन गर्न निजी क्षेत्रसँग सहकार्य अगाडी बढाएका छौ । फोहोरमैला व्यवस्थापन गर्न निजी क्षेत्रसँगको साझेदारी अवधारणा अनुसार वैशाख १ गतेबाट नै यहाँ काम थालिएको छ । नगरमा उत्पन्न हुने फोहोरमैला स्थानीयबासी र नगरपालिकाको सहकार्यमा काम अगाडी बढाएका हौं। यसले फोहोर व्यवस्थापनमा सुधार आउने छ भन्ने विश्वास लिएका छौं। त्यस्तै, फोहोरबाट आम्दानी बढाउनसमेत यस कार्यले सघाउ पुर्याउने छ भन्ने लाग्छ ।

यी सवै कामहरु कहिलेसम्म पूरा होलान् भन्ने लाग्छ ?
निश्चय पनि नगरपालिकाले थालेका सवै कामहरु पूरा हुने छन् भन्ने पुनः विश्वास दिलाउन चाहन्छु । हामीले विकास निर्माणसँगै यहाँको अनेकौं विकृति, विसंगति हटाउन काम थालेका छौं। दमकको मुख्य चोकका सडकमा जथाभावी राखिने स्वागतद्वार र इ-रिक्साको व्यवस्थापन, पूराणमा बज्ने प्रदुषित माइकिङलाई पूर्ण् रुपमा निशेध गर्ने काम थालेका छौं। विकासका योजनासँगै यहाँको अनेकौं समस्या सुल्झाउन हामीले काम थालेका छौं । मलाई लाग्छ, आउँदो भदौबाट नगरवासीहरुले यहाँको परिवर्तनको आभाष पाउने छन् ।





Comments