स्थानीयबासीले सुनाए प्रहरीलाई आफ्ना समस्या



आत्माराम राजवंशी
५ वैशाख, खजुरगाछी।
इलाका प्रहरी कार्यालय गौरीगञ्ज र सामुदायिक सेवा केन्द्र गौरीगञ्ज खजुरगाछीको संयुक्त आयोजनामा शनिवार नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
इलाका प्रहरी कार्यालय गौरीगञ्जको परिसरमा भएको कार्यक्रममा लागुऔषध नियन्त्रण, सर्वसाधारणको प्रहरीसम्मको पहुँच, ट्राफिक नियम सम्वन्धी सचेतना गराउनेलगायतका जिज्ञासा सर्वसाधारणले राखेका थिए ।
नागरिकका तर्फबाट फुलवती राजवंशीले यस्ता कार्यक्रमहरुले नागरिकहरुलाई प्रत्यक्ष प्रभाव पार्ने हुँदा गाउँ-गाउँमा महिनामा एक पटक सार्वजनिक सुनुवाई कार्यक्रम गर्नु पर्ने र कानुन र शान्ति सुरक्षासम्वन्धी जानकारी सर्वसाधारण समक्ष पुर्‍याउनु पर्ने धारणा राखेकी थिइन् । त्यस्तै श्रवण गिरीले सीमा क्षेत्रमा रहेका कारण लागु औषध ओसारपसारमा नियन्त्रण गर्नु पर्ने र चोरी डकैतीलाई न्युनिकरण गरी नागरिकहरुसमक्ष शान्ति सुरक्षाको प्रत्याभूति दिनु पर्ने धारणा राखेका थिए ।



कार्यक्रममा विष्णु सुवेदीले मादक पदार्थ सेवनमा नियन्त्रणका साथै भारतबाट खाद्यान्न नेपालतर्फ भित्रिने हुँदा नेपाली किसान मारमा परेको धारणा राखेका थिए । त्यस्तै वल वहादुर तामाङले ट्राफिक नियमसम्वन्धी जनचेतना जगाउन प्रत्येक विद्यालयमा गएर सचेतना कार्यक्रम गर्नु पर्ने धारणा राखेका थिए । नागरिक मोहन कटुवालले कार्यक्रममा वोल्दै गाउँ-गाउँमा भूस्याहा कुकुरको विगविगी बढेकाले त्यसलाई नियन्त्रण गर्ने उपाय सोचनु पर्ने र भुस्याहा कुकुरले खजुरगाछी, गौरीगञ्ज, कोरोवारी, कोहवारालगायतका दक्षिणी गाविसका सर्वसाधारणका खसीवाख्रा, बाछाबाछीलाई घाइते बनाई लाखौं रुपैयाँको नोकसानी पुर्‍याएको वताए ।
कार्यक्रममा १५ जनाले आफ्ना धारणा राखेका थिए ।
सामुदायिक प्रहरी सेवा केन्द्र गौरीगञ्ज खजुरगाछीले स्थानियवासीहरुलाई सामाजिक चेतनामूलक कार्यक्रम, मिथेन ग्यास उत्पादन र लैङ्गिक हिंसासम्वन्धी जनचेतनामुलक कार्यक्रम गर्नुका साथै नागरिक र प्रहरी बीचको सुमधुर सम्वन्ध कायम राख्न पुलको काम गरेको सेवा केन्द्रको उपाध्यक्ष केदार ढुंगेलले बताए ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मदन गिरीले सर्वसाधारणको जिज्ञासाको जवाफ दिँदै प्रहरीले जहिले पनि नागरिकहरुको जिउधनलगायत शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन कुनै कसर वाँकी नराख्ने धारणा राखेका थिए । उनले गएको श्रवाणदेखि यताका १० महिनामा कर्तव्य ज्यान मुद्दा २ वटा, चोरी १, सार्वजनिक अपराध मुद्दा ४, आत्महत्या ९ वटा, चौपाया चोरी २ वटा, लागुऔषध मुद्दा १, जवरजस्ती चोरी १, जवरजस्ती करणी १, गरी जाम्मा २२ वटा मुद्दा दर्ता भएको र घरेलु हिंसा सम्वन्धी उजुरी महिनामा ३० देखि ४० वटासम्म आउने जानकारी दिए ।
भएका शान्ति सुरक्षा सम्वन्धी गतिविधीका जानकारी गराउँदै इलाका प्रहरी कार्यालय गौरीगञ्जको मतहतमा ५ गाविसभित्र ६० हजार नागरिक रहेकाले ५८ जना प्रहरीले शान्ति सुरक्षा कायम गर्न केही समस्या रहेको वताए ।
सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयनारायण दासको सभापतित्वमा कार्यक्रम भएको सेवा केन्द्रका उपाध्यक्ष केदार ढुगंलले बताए ।





Comments