सिरुवा पर्व सुरु





३० चैत, दमक।
पूर्वी तराईका राजवंशी, गन्गाईं, सन्थाल, ताजपुरिया, थारु लगायतका आदिवासी जनजातिहरुको सिरुवा पर्व सुरु भएको छ ।
प्रत्येक नयाँ वर्षमा तराईका अधिकाँश आदिवासीहरुले मनाउने यो चाड सबैभन्दा ठूलो पर्वका रुपमा मनाउने गरिन्छ । यस पर्वमा उनीहरुले सामूहिक रुपमा पूजाआजा गर्नुका साथै मिठा मिठा परिकार खाएर शुभकामना साटासाट गर्ने चलन रहिआएको ताजपुरिया समाज कल्याण परिषदका पूर्व अध्यक्ष नित्यानन्द ताजपुरिया बताउँछन्। उनी भन्छन्, 'यो पर्व आदिवासी जनजातिहरुका लागि एउटा महत्वपूर्ण पर्वका रूपमा मानिँदै आएको छ ।'




यो पर्व विशेष गरी ३ दिनसम्म मनाइन्छ । यस पर्वको पहिलो दिन बैशाख १ गते अर्थात् यस दिनलाई पानी सिरुवा भन्ने गरिन्छ ।

दोश्रो दिन अर्थात २ गतेलाई कादो सिरुवा भनिन्छ । यसदिन एक अर्कालाई हिलो छ्यापाछ्याप गरेर र हिलोमा लडिबुडी गरेर मनाउने गरिन्छ । बर्षभरिका दुःख कष्ट, पीडा र थकानलाई मेटाउन कादो सिरुवा खेलिने परम्परा रहिआएको छ । यसो गर्नाले माटोको शरीर अन्तत माटो मै विलिन हुने भएकाले शरीरलाई कुनै रोगव्याधी नलाग्ने राजवंशी समाज विकास समिति खजुरगाछीका प्रतिनिधि कमल प्रसाद राजवंशी बताउँछन्।
यस्तै नवबर्षको तेश्रो दिन रंग सिरुवा खेलिन्छ । रंग सिरुवामा एक अर्काबीच रंग छ्यापेर शुभकामना आदानप्रदान गर्ने गरिन्छ । रिस, राग त्यागेर मनमुटावलाई बिर्सेर रंग खेली हर्षउल्लासका साथ यो पर्व मनाइन्छ ।

नयाँ बर्षको उपलक्ष्यमा सबैले नयाँ लुगा लगाउने, मिठो-मिठो परिकार बनाएर खाने चलन छ ।
यस दिन लाग्ने मेलामा यस समुदायका युवक युवतीले आफ्नो मन परेको केटा केटी रोज्ने प्रचलन रहेको छ । सिरुवा पर्वको अवसरमा झापाका विभिन्न स्थानमा कार्यक्रमको आयोजना गरेर सिरुवा पर्व मनाइँदैछ। यसै अवसरमा आदिवासी महिलाहरुले घाटो सरी गीत गाएर धुमधामसँग पूजाआजा गरेर नयाँ वर्षमा खोलामा गएर घाटोलाई विर्सजन गर्ने चलन रहेको छ । मेलाका अवसरमा झापाको गौरीगञ्ज, राजगढ, लखनपुर, धरमपुर लगायतका एक दर्जन बढी क्षेत्रहरुमा परम्परागत सांस्कृतिक मेला लाग्दै आएको छ ।

(फोटो - फाइल)



Comments