पुराणबाट १८ लाख संकलन



मोहन भट्टराई
२ चैत, पथरीशनिश्चरे।
पथरीशनिश्चरे-१४ किर्तिपुरस्थित किरातेश्वर शिव मन्दिरको जीर्णोद्धार, घेराबारा र सभाहल निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको पुराणबाट करिव १८ लाख रुपैयाँ संकलन भएको छ । माघ ११ देखि १८ गतेसम्म सञ्चालन भएको श्रीमद्भागवत धन-धान्याञ्चल एवं तुलादान ज्ञान महायज्ञबाट उक्त रकम संकलन भएको पुराण मूल आयोजक समितिले सोमबार सञ्चारकर्मीसहित आम भेलाको आयोजना गरी जानकारी दिएको हो ।
जसमा नगद सहयोगबाट १६ लाख २१ हजार, तुला दानबाट संकलित धान विक्रीबाट १ लाख ३५ हजार, खर्च गरेर उब्रिएको खाद्यान्न विक्रीबाट, दान पेटीकालगायतबाट जम्मा १७ लाख ९१ हजार ६९० रुपैयाँ संकलन भएको कोषाध्यक्ष राजेन्द्र घिमिरेले बताए । मन्दिर जीर्णोद्धार तथा सभाहल निर्माणका लागि दाताबाट ५ ट्याक्टर बालुवा र २१ बोरा सिमेन्ट समेत सहयोग प्राप्त भएको पुराण मूल आयोजक समितिका सचिव लालबहादुर बस्नेतले जानकारी दिए ।



पुराण समापन हुँदासम्म विभिन्न शीर्षकमा भएको खर्च कटाएर मन्दिरले १० लाख बढी रकम आर्जन गर्न सफल भएको छ । स्टेसनरी, पूजा सामाग्री, अतिथि सत्कार, प्रचारप्रसार, स्वागत गेट निर्माण, चियानास्ता, ब्राम्हण भेटीलगायत गरी जम्मा ७ लाख २३ हजार रुपैयाँ खर्च गरी १० लाख ६८ हजार ५९३ रुपैयाँ बचत गभएको समितिले जनाएको छ।
हिसाब सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि एवं स्थानीय समाजसेवी जहरमान लिम्बूले पुराणको आयोजना गरेर पैत्रिक सनातन धर्म संस्कार जगेर्ना गर्न र समाजमा आवश्यक पूर्वाधार तयार गर्न सफल भएको बताए। उनले भने, 'नेपाली धर्म संस्कृतिलाई पश्चिमा संस्कृतिले आक्रमण गरिरहेको अवस्थामा यस्ता धार्मिक कार्यक्रमले हाम्रो मौलिक संस्कार जोगाउन ठूलो भूमिका खेल्छ ।'
पुराण मूल आयोजक समितिका संयोजक चन्द्रकुमार केसीको अध्यक्षतामा सम्पन्न हिसाब सार्वजनिक कार्यक्रममा सहयोगी दाताहरुलाई सम्मान पत्र समेत प्रदान गरिएको थियो ।

तस्वीर क्याप्सन - कार्यक्रममा बोल्दै प्रमुख अतिथि जहरमान लिम्बू साथमा अतिथिहरु । तस्वीर - मोहन ।



Comments