सुनसरीमा ठेउला प्रकोप - डाक्टर हैन झाँक्रीकै भर



३ चैत, सुनसरी।
इटहरी मिलन चोककी स्थानीय नरमाया दहालले छोराको शरीरमा आएको ठेउलालाई माता चढेको भन्दै स्थानीय धामीकहाँ २ पटक गरेर २ सय ५० रूपैयाँ चढाइसकेको तर अझै घाउ निको नभएको गुनासो पोख्छिन् । त्यस्तै इटहरीकी कमला परियार आफ्नो ६ वर्षीया छोरीको शरीरमा पनि यस्तै प्रकारको ठेउला आएको भएपनि छिमेकीको लहलहैमा लागेर अस्पतालको सट्टा धामीकहाँ लगेर सामान्य झारफुक गरी ल्याएको बताइन् । तर घाउ निको हुने भन्दा पनि अझै फैलने क्रम जारी रहेको उनी बताउँछिन् ।


बद्लिएको मौसमका कारण पूर्वी तराईका जिल्लाहरुमा देखिएको ठेउला प्रकोपका कारण बालवालीकाहरु ग्रसित बनेका छन् ।
पश्चिमी क्षेत्रबाट तिब्र गतिमा आएको हावाबाट फैलिएको प्रकोपका कारण सुनसरीमा ६ हजार बढी वालवालीकाहरु प्रभावित बनेको जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीले जानकारी दिएको छ ।
सो कार्यालयले दिएको जानकारी अनुसार उक्त रोगको संक्रमणबाट भर्खरै जन्मिएको नवजात शिशुहरु र ७ वर्षमुनिका बालवालीकाहरु बढी प्रभावित भएका छन् । सुनसरीको बिभिन्न क्षेत्रबाट सो रोगको उपचार गराउन आएका बिरामीहरुको डाटा हेर्दा हिजोसम्म सुनसरीमा ६ हजार ३३ वालवालिकाहरु ठेउलाको प्रकोपबाट प्रभावित बनेको जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीले जानकारी दिएको छ ।
सोही रोगको प्रकोपका कारण हाल जिल्लाका बिभिन्न अस्पतालमा संक्रमित बालवालिकाहरुको चाप समेत बढ्दै गएको पाइएको छ ।
शरीरको बिभिन्न भागमा घमौरा जस्तो बिबिरा आउने, चिलाउने र अचानक फुटेर पोल्ने जस्ता लक्षण देखा परेपनि सो रोग प्राणघातक भने नरहेको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बाल बिशेषज्ञ सतिष यादवले बताए ।


उनले दिएको जानकारी अनुसार सो रोग लागेको पाइए बाहीरी हावामा निस्कन नदिने र निरन्तर एक सातासम्म औषधी सेवन गरी घरभित्रै आराम गरिरहे रोग निको हुनेछ । तर उक्त रोग भने हावाको माध्यमबाट एक अर्कामा चाँडै सर्ने र चिल्लो पीरो खाने कुरा नखानुनै उत्तम हुने यादवको भनाई छ ।
यता सुनसरीकै बिभिन्न शहरहरुमा रहेका बासिन्दाहरु वालवालिकाको शरीरमा आएको ठेउलालाई माता आएको भन्दै धामीकहाँ लैजालने गरेको समेत पाइएको छ ।

फोटो क्याप्सन - इटहरीको मिलनचोकस्थित स्थानीय नरमाया दहालको छोराको शरीरमा आएको ठेउला देखाउँदै बालक ।




Comments