एन.आर.एन र मिडियाका कारण जीवन पाएँ - रिमाल



- रामकुमार परियार ।
"नमस्कार सर, म साउदीमा विचल्लीमा परेँ । बिरामी छु, मर्ने बाँच्ने टुंगो छैन । कम्पनीले घर जान पनि दिँदैन । मलाई उद्दार गर्नु पर्‍यो ।" यो संदेश तीन महिनाअघि मलाई फेसबुकमा प्राप्त भएको थियो ।
एक अपरिचित भाईले साउदी अरबबाट मेरो फेसबुकमा सम्प्रेषण गरेको त्यो संदेशसँगै हाम्रो दोहोरो वार्तालाप शुरु भएको थियो । कुराकानीको क्रममा उनले आफ्नो पिडैपिडाले भरिएको दु:खद् कथा सुनाए । गोर्खाका रामकुमार रिमाल भाई कमाएर केही गर्ने आशासहित साउदी अरब पुगेका रहेछन्। तर त्यहाँ पुगेको केही साता नबित्दै बिरामले थलिएछ्न्।
मेडिकल जाँचका क्रममा पिसाबमा रगत, पत्थरी र हर्निया देखिएपछि औषधि सेवन गर्दै काममा जाँदै गर्दा काम गर्नै नसक्ने गरी थला परेछन्। त्यसपछि 'घरैमा गएर उपचार गर्छु,मरे पनि उतै मर्छु' भन्दा कम्पनीले १२ हजार रियल तिरे मात्रै घर जान दिने भनेको रहेछ । यस्तो संकटबाट उम्केर घर जान धेरैतिर हारगुहार गर्दै सहयोगको बाटोहरु खोज्दै जाँदा म कहाँ पनि ठोक्किन पुगेका रहेछ्न् ।


हुन त म पनि प्रवासी। भाइ साउदीमा, म दुबईमा । यद्यपि एउटा संचारकर्मी र स्वदेशमा रहेर सामाजिक कार्यहरुमा खट्दैगर्दाको केही अनुभव र सिकाई मसँग थियो । प्रवासी र नेपालीको भावनात्मक नाताले होला रिमाल भाईको कुराले मलाई निक्कै मर्माहत बनाएको थियो । यो समस्याबाट पार लगाउने बाटाहरु खोज्दै गर्दा झट्टै ठोस उपाय दिमागमा आएन । यद्यपि विकल्पहरुको खोजी गरिरहेको थिएँ।
पहिलो उपाय आफ्नो धर्म ठानी समाचार नै बनाउने निधो गरेँ अनि केही दिन भाईको बारेमा थप अध्ययन गरेर स्थानिय र केही राष्ट्रिय पहुचँवाल अनलाइन हरुमा समाचार प्रेषण गरिदिएँ । मैले तत्काल गर्न सक्ने यत्ती थियो, त्यसपछि प्रवासमा निकै अघिबाट संघर्षरत मित्र सहकर्मी अन्नपूर्णका पत्रकार अर्जुन काफ्लेजी (मलेसियामा कार्यरत) सँग भाईको विषयमा कुरा गरेँ । जो निकै अघिबाट प्रवासमा पत्रकारिता र यस्तै आपतविपतमा परेकाहरुलाई सहयोग गर्दै आउनु भएको थियो । वहाँसँग पनि भाईको फेसबुक कण्ट्याक्ट गराइदिएँ । अब हामी तीनजना भइसकेका थियौं । वहाँले आफ्नो अनुभव र पत्रकारिताको भरमग्धुर प्रयोग गरेर केही अधिकारवादी व्यक्तिहरुसँग समेत कुरा राख्नु भयो । थप समाचारहरुसमेत बनाइयो । अब भाईको कथा लगभग धेरैतिर फैलिइसकेको थियो । उद्दारको लागि पहलसमेत हुँदै थियो, उनलाई साउदी पठाउने मेनपावरसित पनि सम्पर्क हुँदै थियो । तथापि निकास भने निस्किसकेको थिएन । उता कम्पनीले भाईलाई पैसा नतिरे प्रहरीकहाँ बुझाइदिने धम्की दिरहेको थियो । खाने बस्ने टुंगो थिएन, अरुको सहारामा जबर्जस्ति बाँच्दै थिए । 'म त यहीँ मर्ने भएँ' भनेर हरेसलाग्दो कुरा गर्थे ।

हामी उनको उद्दारको निम्ति लागि नै रहेका थियौं । समाचार प्रसारणको माध्यमबाट सरोकारवालालाई घचघच्च्याउने हाम्रो मुख्य ध्येय थियो । संयोग नै मान्नुपर्छ, समाचारको प्रभाव गैह्र आवशिय नेपाली संघ (एन.आर.एन) साउदीसम्म पुगेछ । एन.आर.एनले भाईको समस्यालाई गम्भीर रूपमा लिएर सहयोग गर्न थाल्यो ।
व्यक्तिको कुरा हत्तपत्त नसुन्ने दूतावासले एन.आर.एनको आग्रहमा भाईलाई बस्ने र खाने व्यवस्था मिलाइदिएको छ । एन.आर.एनले भाईको हरेक समस्यालाई सुक्ष्म ढङ्गले लिएर सहयोग गरिरहेको छ । खाने, बस्ने हरेक कुराको व्यवस्था दूतावास र एन.आर.एनले मिलाइदिएको छ । विदेशमै मर्छु होला भन्ने रिमालको मुहारमा अहिले आशाका त्यान्द्राहरु पलाएका छन्। यो सब हुनुको मुख्य श्रेय उनी एन.आर.एन र संचारकर्मीलाई दिन्छ्न्। उनी भन्छन्, 'एन.आर.एन र मिडियाले सहयोग नगरेको भए त म पक्का यहीँ मर्ने थिएँ ।'
चौतर्फी दवाव भएपछि मेनपावरले समेत उनी काम गर्ने कम्पनीलाई १२ हजार रियल (नेपाली करिब ३ लाख ३५ हजार ) तिरिसकेको छ । कम्पनीले उनीविरुद्द कम्पनी छोडेर भागेको केस दर्ता गरेको हुनाले उक्त केस टुङ्गिन अझै केही दिन लाग्ने रिमालले बताएका छन्। अबको केही दिन भित्रैमा केस टुङ्गिने हुँदा छिट्टै स्वदेश जान पाउने उनले सुनाए । कमाएर परिवारको निम्ति केही गर्ने आशाले विदेशिएका रिमाल विदेशी भुमिमा पाइला टेक्नासाथ बिरामीले थलिएपछि परिवार र उनको अवस्था कस्तो भएको होला, जोकोहीले सोच्न सक्छौँ ।
यस्तो हुनुमा कारक उनको स्वास्थ मात्रै छैन, स्वदेशमा स्वास्थ परीक्षण रिपोर्ट दिने स्वास्थ संस्था पनि उत्तिकै जिम्मेवार छ । अस्वस्थ व्यक्तिलाई स्वस्थको रिपोर्ट कसरी दियो ? यो प्रश्न विचारणीय छ ।
खैर अन्य कुरा यथावत राख्दै भाई छिट्टै स्वदेश जाउन्, स्वास्थोपचार गरेर छिट्टै स्वस्थ बनुन् शुभकामना । उनलाई उद्दारका निम्ति खटिईरहने एन.आर.एन साउदी र मेरा सहकर्मी मित्रहरूलाई पनि विशेष धन्यवाद ।
(२६ मार्च युएई)
तस्वीर : रामकुमार रिमाल



Comments