तेजन खड्का
१९ फागुन, राजघाट।
टोलभरि दुर्गन्ध, फोहोरै फोहोरको डङ्गुर, राम्रोसँग हेरेर हिँडेन भने खुट्टाले दिशा कुल्चिहाल्थ्यो । त्यस्तो अवस्था देखेर शौचालय बनाउनेहरु हैरान थिए । वरपर नाक थुनेर हिँड्नु पर्ने ।
हालको होइन, पहिले यस्तै थियो चौधरी टोलको अवस्था। मोरङको राजघाट-४ स्थित चौधरी टोलमा चौधरी समुदायको ४५ घरधुरी छ । गाउँका अधिकांश चौधरी समुदायका मानिसहरु पहिले खुल्ला रुपमा नै शौच गर्ने गर्थे । स्थानीय आसराम चौधरी भन्छन्, 'शौचालय चाहिन्छ भन्ने हेक्का थिएन, खोलाखोल्सी र बाँसघारीमा दिशापिसाप गर्न काम चलेकै थियो । अहिले शौचालय चाहिने रहेछ भन्ने चेतना सवैमा जागृत भइसक्यो, सवैले शौचालय निर्माण गरेका छ।'
आसरामको अनुसार खोलाखोल्सीमा दिशा गर्दा कसैले देख्यो भने लाज मर्नु हुन्थ्यो, गाउँ नै दिशैदिशा गन्हाउथ्यो । तर अहिले शौचालय भएपछि न कसैले देख्छ भन्ने डर, न गाउँ फोहर र दुर्गन्धित हुने चिन्ता । आसारामले भने, 'अहिले ढुक्क छौं, कोही आएर गाउँको फोहोरमैला र दुर्गन्धवारे सम्झाउँदैनन्, बरु राम्रो गर्यौ भन्दै स्यावासी दिन्छन् ।'
पहिले पाखा दिशा नगरी नसक्ने यहाँका चौधरी समुदाय शौचालयमा नै शौच गर्नु वेश हुने बताउँछन् ।
स्थानीय खुशीलाल चौधरी खुशी व्यक्त गर्दै भन्छन्, 'खोलाखोल्सीमा राति शौच गर्दा सर्पले डस्ला कि ? कुनै दुर्घटना पो होला कि भन्ने डर थियो अहिले भयमुक्त छौं ।' 'पाहुना आउँदा चर्पी कहाँ छ भनेर सोध्दा अप्ठेरो हुन्थ्यो, शौचालय नभएको कारण नाजवाफ हुनुपर्थ्यो', खुशीलालले विगत सम्झदै भने, 'अहिले शौचालय यहाँ छ भनेर पाहुनालाई देखाउन पाउँदा खुशी लाग्छ ।' उनले छोरीचेलीलाई राति शौच गर्न जाँदा केही हुने हो कि भनेर सधै चिन्तित हुनुपर्ने समस्या टरेको बताए ।
शौचालय बनाएको कारण गाउँ स्वच्छ र सफा भएको छ । जसको कारण झाडापखला, हैजा जस्ता रोगहरुबाट गाउँमा बिरामीहरु हुनेका संख्या घटेको छ । खुशीलाल भन्छन्, 'पाखामा गरिएको दिशामा बसेको झिँगा हामीले खाने कुरामा बस्दा रोग लाग्ने रैछ भन्ने थाहा पायौं । त्यसैले अहिले चर्पी बनाएपछि खाना खाँदा हरियो झिँगा आउने गरेका छैनन् ।'
राजघाटलाई खुल्ला दिशामुक्त गाविस घोषणा गरिएको छ । खुल्ला दिशामुक्त अभियानले गर्दा चौधरी टोलका समुदायमा सरसफाईसम्बन्धी चेतना जाग्यो । राजघाट सरसफाई समन्वय समितिले चौधरी समुदायलाई चेतनामात्र जगाएन, चर्पी निर्माणका लागि रिङ, पेना समेत सहयोग गरेको थियो । किनकी कमजोर आर्थिक अवस्थाका कारण उनीहरुले चर्पी बनाउन सकेका थिएनन् ।
आजभोलि गाउँमा कोही खुल्ला दिशा गर्दैनन् । राजघाट सरसफाई सम्वन्य समितिका अध्यक्ष मुक्ति बराल चौधरी टोलमा सवैले शौचालय बनाएकोमा खुशी प्रकट गर्छन् । 'शौचालय बनाउनका लागि जनचेतना जगायौं, रिङ र पेना सहयोग गर्यौं, तब मात्र चौधरी टोलमा शौचालय निर्माण भयो', बराल भन्छन्, 'चौधरी टोलमा शौचालय निर्माण गराउन पापड धैरै बेल्नु पर्र्यो ।'
'यस टोलमा शौचालय निर्माण नभएर खुल्ला दिशामुक्त अभियान असफल होला कि भन्ने चिन्ता थियो', सरसफाई समितिका उपाध्यक्ष इन्दिरा आचार्यले भनिन्, 'शौचालय निर्माणपश्चात खुल्ला दिशामुक्त वडा घोषणा गर्दै अन्त्यमा गाविस नै खुल्ला दिशामुक्त घोषणा गर्न सफल भयौ ।'
.jpg)
.jpg)


Comments
Post a Comment