जन्मदिनमा नविन कार्य



इश्वर भट्टराई, उर्लाबारी।
जन्मदिन अरु दिनभन्दा विशेष नै रहन्छ । जन्मदिनलाई अझ स्मरणीय बनाउन कोही चकलेट बाँड्छन्, कोही केट काट्छन् । अझ कोही भने आफ्ना छरछिमेकी र साथीभाइलाई घरमा बोलाएर पाटी खुवाउँछन् । तर यस मामिलामा उर्लाबारीका गोविन्द पोखरेल भने फरक देखिए ।
पोखरेलले आफ्ना केही सहपाठीसँगै जन्म दिनका अवसरमा वृक्षारोपण गरेर नयाँ ढंगमा जन्मदिन मनाएका हुन् । २२ सौं बसन्तमा प्रवेश गरेको अवसरमा पोखरेलले २२ प्रजातिका विरुवाहरु उर्लाबारीस्थित प्राथमिक स्वास्थ्य केन्द्र र अस्थाथी प्रहरी चौकी मंगलबारेमा रोपेका हुन् । 'थोपा थोपा पानी मिलेर समुन्द्र बन्छ', भनेजस्तै पोखरेलले आफ्नो सानो कदमबाट वातावरण संरक्षणमा ठूलै सहयोग मिल्ने अपेक्षा राख्छन् ।


'केक काटेर, चकलेट बाँडेर एक दिन पो रमाइलो हुन्छ । खानेले एक दिन तारीफ गर्छन् । आफ्नो जन्मदिनमा उदाहरणीय काम गरेमा सबैंमा स्मरणीय होस् भन्ने म चाहन्छु र सबैमा अनुरोध गर्दछु ।' उनी भन्छन् ।
समाज सुसूचित गर्ने अभिभारा लिएर पत्रकारिता पेशा अंगालेका पोखरेल समाजमा नविन कार्य गर्दै आएका जुझारु युवासमेत हुन् । हाल दमक बहुमुखी क्याम्पस दमकमा वातावरण विषयमा स्नातक दोस्रो वर्षमा अध्ययनरत पोखरेल वतावरण विषयमा बढि नै सजक र सचेत छन् । वातावरण नासिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै पोखरेल भन्छन्, 'मेरो सबैमा अनुरोध छ कि तपाईँको उमेर जति पुग्छ, त्यति नै विरुवा रोप्नुहोस् । वातवरण संरक्षण गर्न सके हामी सबैको भलो हुन्छ ।'
'वर्षेनी सञ्चारमाध्यममा भूक्षयका कारण बाढीपहिरो, अतिवृष्टि, अनावृष्टि आदिबाट जन धनको क्षति भएको सुन्दा र पढ्दा दुःख लाग्छ,' पोखरेलले भने, 'जन्मदिनका अवसरमा वृक्षारोपण गर्दा हामी सबैको भलो हुन्छ भने किन खर्च गरेर केक काट्ने ?'
२२ औँ जन्मदिनका अवसरमा उनले गरेको कार्यप्रति स्थानीय अनिल राई, भीष्म बुढाथोकी, दिनेश लिम्बूलगायत अस्थाई प्रहरी चौकी मंगलबारेका इन्चार्ज भीमबहादुर भूजेल र प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारेका प्रमुख डा. विपिन पाण्डेयले प्रशंसा गरेका थिए । यस्तै, आगामी दिनमा पनि विभिन्न काम गरेर जन्मदिन मनाउने सोचेको उनी प्रतिबद्धता गर्छन् ।






Comments