उर्लाबारीका अभियान कागजीमै सीमित



इश्वर भट्टराई, उर्लाबारी।
उर्लाबारीमा समाज रूपान्तरणको अभियान एकपछि अर्को गरी सञ्चालन भइरहेपनि त्यसले सार्थकता पाएको छैन ।
उर्लाबारी नगरपालिका र उद्योग वाणिज्य संघ उर्लाबारीको संयुक्त पहलमा प्लाष्टिकरहित अभियान, नगरपालिकाको पहलमा सडक फराकिलो अभियान सञ्चालनमा छन् । २०६७ सालमा उर्लाबारीलाई बन्दमुक्त क्षेत्र, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको अगुवाइमा खुल्ला दिसामुक्त अभियान सञ्चालन गरिएको थियो । उर्लाबारीलाई २०६८ चैतमा खुल्ला दिसामुक्त र हालै प्लाष्टिकरहित नगरका रूपमा घोषणा गरिएको छ । प्लाष्टिकरहित नगर घोषणा गरिएको यो दोस्रोपटक हो । दुई वर्षअघि उद्योग वाणिज्य संघको अगुवाइमा प्लाष्टिकमुक्त नगर घोषणा गरिएको थियो । यो अभियान सरसफाइको क्षेत्रमा महत्वपूर्ण काम भएपनि प्रभावकारी अनुगमनको अभावमा अभियानले सार्थकता पाउन सकेको थिएन ।





पछिल्लोपटक नगरपालिकाले प्लाष्टिकमुक्त अभियानको थालनी गरेको छ । प्लाष्टिकमुक्त अभियानलाई वातावरणमैत्री नगरको रूपमा अघि सारेपनि अभियानले गति लिन सकेको छैन ।
नगरवासीको हितमा नयाँनयाँ योजना घोषणा गर्नु सकारात्मक काम भएपनि घोषणा घोषणामै सीमित हुँदा लज्जाको विषय बनेको हो । एकातर्फ खुल्ला दिसामुक्त अभियानको प्रभावकारितामा प्रश्न उठ्दै आएको छ भने अर्कोतर्फ स्वच्छ र हरित नगरी बनाउने प्रयासमा फोहोरमैला व्यवस्थापनको जटिलता थपिँदै गएको छ । घोषणा अभियानको सार्थकताका लागि अनुगमन र कार्यान्वयन नहुँदा कागजी नारामा सीमित भइरहेको छ । अर्कातर्फ राजमार्गको ८२ फिट अतिक्रमण हटाउन उर्लाबारी नगरपालिकाले सूचना जारी गरेपनि सडक फराकिलो बनाउने अभियानसमेत अलपत्र छ ।
गत माघ १ गतेसम्ममा ८२ फिट खाली गर्न नगरपालिकाले सार्वजनिक आह्वान गरेको थियो । यसअघि पटकपटक समयावधि तोकिएपनि नगरपालिकाकै ढिलासुस्तीका कारण सडक फराकिलो पार्ने अभियान प्रभावकारी बन्न सकेको छैन ।
नगरपालिकाकाले गत मंसिर १७ गते राजमार्गको दाँयाबाँया ८२ फिट खाली गराउन पहिलो पटक सार्वजनिक सूचना जारी गरेको थियो । पहिलो पटक प्रकाशित सूचनाको म्याद पुस २१ गते सकिएलगत्तै नगरपालिकाका कार्यकारी अधिकृत सुवास श्रेष्ठ, नगर विकास समितिका अध्यक्ष केशव कार्की, भौतिक पूर्वाधार निर्माण समितिका अध्यक्ष भोलामान श्रेष्ठले पुनः संयुक्त हस्ताक्षर सहितको १५ दिने म्याद थप सम्बन्धी सूचना निकालेका थिए ।

यद्यपि, राजमार्गको छेवैमा निर्माण सामग्री थुपार्ने, जथाभावी पार्किङ गर्ने, व्यापारिक संकेत चिन्हका होर्डिङ बोर्डहरू भने यथावत नै देख्न सकिन्छ ।
प्रारम्भमा नगरपालिकाद्वारा गठित भौतिक पूर्वाधार निर्माण समितिका अध्यक्ष भोलामान श्रेष्ठले ८२ फिटभित्र पर्ने आफ्नो घरको सिँढी भत्काएर अभियानको शुरूवात गरेका थिए। जनमानसमा चेतना अभिवृद्धि गराउनका लागि समय लाग्ने भएकोले प्रभावकारी काम हुन नसकेको स्वीकार्दै नगरपालिकाका अधिकृत श्रेष्ठले भने, 'पूर्व मावा खोलादेखि पश्चिमको सुन्झोडा खोलासम्म राजमार्गको दायाँबायाँ खाली गर्न पूर्वाधार निर्माण समितिको समन्वयमा काम अगाडि बढाउँदैछौं ।'
यसअघि डोजर ल्याएर फुटपाथका केही पसल उठाएपनि राजमार्ग क्लियर गर्ने अभियान यतिबेला 'हात्ती आयो, हात्ती आयो फुस्स' भन्ने उखान चरितार्थ भएको छ ।







Comments