गौरभको गर्विलो सांगीतिक यात्रा



कृष्ण उदाशी।
बनिसकेको बाटोमा हिँड्न सहज हुन्छ तर बाटै नभएको ठाउँमा बाटो बनाउँदै हिँड्नु निक्कै कठिन हुन्छ । बनिसकेको बाटोमा हिँड्दा अप्ठ्यारा जोखिमहरूको सामना गर्नुपर्दैन तर आफैँले बाटो बनाएर हिँड्दा सयौं अप्ठ्यारा जोखिमको सामना गर्नुपर्छ । जोखिमको सामना गरेर जो मान्छेले आफ्नो बाटो निर्माण गर्छ उसलाई त्यो बाटोमा हिँड्दाको आत्मासन्तुष्टी अनुपम हुन्छ ।
विशेष गरेर यो प्रसंग सर्जक र कला पारखीहरूमा धेरै जोडिन आउँछ । सिर्जना गर्नु भनेको जन्माउनु हो । आमाले सन्तानलाई जन्म दिँदा प्रशव पीडाको सामना गर्नुपर्छ, यो निक्कै यंकर हुन्छ । एउटा सर्जकले सिर्जना गर्नु पनि एकप्रकारको प्रशव पीडाको सामना गर्नु नै हो ।


एउटा भनाई छ 'सर्जक तपस्वि हुनुपर्छ'। यसको अर्थ पिपलको रुखमुनी गएर पद्मासनमा बस्नुपर्छ भनेको होइन । यसको अर्थ सर्जकले कडा परिश्रम गर्नुपर्छ भनेको हो । कडा परिश्रम गर्ने मालीले ढुङ्गामाथि फूल फूलाएका उदाहरणहरू हामीसँग प्रसस्तै छन् ।
यो मेसोमा म सम्झिँदैछु मोरङ जिल्लाको पूर्वी ग्रामीण गा.वि.स. इटहराको उलुघुट्टुमा तीन दशक पहिले जन्मिएका गंगा गौतमलाई । सांगीतिक नाम 'गौरभ दर्पण'ले परिचित उनी आफू हिँड्ने बाटो सकभर आफैँ निर्माण गर्नुपर्छ जिन्दगीका लागि भनेर सांगीतिक क्षेत्रमा भगिरथ तपस्या गरिरहेका छन् । स्टेज कार्यक्रम, गाउँघरमा आयोजना भएका सानातिना कार्यक्रममा लगभग ५०/५१ सालतिरदेखि सकृय हुँदै अनौपचारिक सांगीतिक क्षेत्रमा लागेका उनी ५९/६० बाट उर्लाबारीमा रहेको बिहानी कलाकेन्द्रमा संगीतको विद्यार्थीको रुपमा भर्नाभई औपचारिक रुपमा संगीतमा लागेको खुलासा गर्छन् । २०६५ सालमा आह्वान नेपाल इटहरीले आयोजना गरेको पूर्वाञ्चलव्यापि लोक गीत प्रतियोगितामा पूर्वका १६ जिल्लाबाट सहभागी सैंतिस समूहलाई पछाडि पार्दै गौरभ दर्पण र श्रृष्टी हिङ्माङको जोडीले प्रथम स्थान हासिल गरेपछि उनको सांगीतिक यात्राका लागि बाटो प्रसस्त भएको पाइन्छ ।


पूर्वाञ्चलका विभिन्न मेला महोत्सवहरूमा कहिले पूर्वका लोकगीत संगीतका पहाड एल.पी. जोशीसँग एउटै स्टेजमा "रिटिङ रिटिङ नबजाउ बिनायो......., ओल्लो खोलो पल्लो खोलो......" जस्ता अत्यन्तै लोकप्रिय गीतहरू गाएर त कहिले श्रृष्टी हिङ्माङसँग "जता हेरेपनि हजुर पूर्वै रमाइलो....." बोलको गीत गाएर आफ्नो सांगीतिक लोकप्रीयता कायम गरिसकेका गौरभका थुप्रै गीतहरू बजारमा सुन्न पाइन्छ । उनले अहिलेसम्ममा पँचवटा एल्वम बजारमा ल्याइसकेका छन् । ती हुन् 'पाइला', 'अराइभल', 'कल्पना', 'विचार' र 'कहरवा' । तिनीहरूमध्ये पाइलामा तीनवटा शब्द र छ वटा स्वर रहेका छन्, अराइभलमा ८ वटा संगीत, ३ वटा शब्द र एउटा स्वर रहेका छन्, कल्पना एल्वममा एउटा संगीत छ, एल्वम विचारमा ४ वटा संगीत र दुइटा शब्द छन् त्यस्तै एल्वम कहरवा उनको एकल संगीत एउटा शब्द र एउटा स्वरमा निर्माण भएको छ । विवश वलिभद्र कोइरालाको 'बद्लिन्न बद्लिन्न भनी बद्लियौ....' बोलको गजलको संगीत गरेर गीतका पंक्तिहरूलाई सांगीतिक लयमा ढाल्न थालेका उनले अहिलेसम्ममा चार दर्जनको हाराहारी संगीत गरेर रेकर्ड गराईसकेका छन् भने एक दर्जन बढी गीतहरू आफ्नै स्वरमा रेकर्ड गराई सकेका छन् ।
गीत गाउनु र संगीत गर्नु दुवै कामलाई कठिन मान्ने उनी हालको सांगीतिक माहोल थोरै व्यवसायिक, थोरै सैद्धान्तिक र धेरै अव्यवस्थित देख्छन् । उनी भन्छन्, 'सिआरबिटी, पिआरबिटी र युट्युबहरूले रोयल्टी दिन थाल्नुले भविष्यमा गीत संगीत राम्रो व्यवसाय बन्न सक्ने सम्भावना छ।'
'नेपाली गीत संगीतको गुणस्तर नउक्सिनुको जिम्मेवार कुन पक्ष होला ?' भनेर सोधिएको प्रश्नमा उनी भन्छन् 'खास यसको यहीमात्र जिम्मेवार हो भन्न सकिँदैन, तीनै पक्षको तालमेल मिल्नुपर्छ, साधना भन्दा ज्यादा पैसाको चलखेल भएर पनि हो ।'


हिजो आज ठेट लोक संगीत सुन्न पाइँदैन । एक समय थियो कवि तथा गीतकार पुण्यप्रसाद सुवेदीका 'साँगुरी वारि नि हौ जोर धारा पानी, गड्तिरको हौ हजुर बालुवा.......', कवि केशरी धर्मराज थापाको 'हह माले हह....' एलपी जोशीको 'ओल्लो खोलो पल्लो खोलो .....' यी गीतहरू ठेट लोक बाजा र लोक शब्दहरू प्रयोग गरिएकाले हरेक मानिसका मन मस्तिष्कमा थिए तर हिजो आज लोक लयमा आधुनिक वाद्यवादन प्रयोगवादी विकृति भएको ठम्याई छ उनको । तथापि उनी आशा भने मार्दैनन्, भन्छन्, 'दौरा सुरूवाल हाम्रो सँस्कृति र पहिचान हो । बीचमा एकपल्ट छोडियो तर हिजोआज प्राय मानिसहरू सांस्कृतिक कार्यक्रमहरूमा दौरासुरूवाल नै लगाउन थालेका छन् । फेरि युग बद्लिन्छ ।'
गीत संगीतलाई साह्रै गम्भीर रूपमा लिने उनी संगीत गर्न र गाउन गीत छान्दा दुईवटा कुरा साह्रै हेर्दा रहेछन् । ती दुईमा एउटा गीतको संरचना पक्ष र अर्को भाव । गीतको संगीत गर्दा र गाउँदा पनि भाव र संरचनाले ठुलो प्रभाव पार्ने उनको बुझाई छ । उनी भन्छन्, 'शब्द रोएको छ, संगीत हाँसेको छ भने पनि गलत र शब्द हाँसेको छ संगीत रोएको छ भने पनि गलत ।' उनको अनुभवमा शब्दको भावलाई उचालेर संगीत बनाइएको छ भने त्यही नै उत्कृष्ट संगीत हो ।


अहिले गीत संगीतमा पनि निक्कै ठूलो प्रतिस्पर्धा देखिन्छ । बर्षेनी जस्तो थुप्रै गायकहरू र संगीतकारहरू उत्पादन हुँदैछन् । पहिला पहिलाजस्तो गीत रेकर्ड गर्न रेडियो नेपालकै भर पर्ने अवस्था पनि छैन । रेडियो नेपालको भरपर्दा दुईवटा समस्या थिए एउटा स्वर परीक्षण गराउनुपर्ने, अर्को लामो समय लाइनमा बस्नुपर्ने । अहिले देशका जुनसुकै ठाउँमा रेकर्डिङ स्टुडियोहरू छन् । स्वर परीक्षण गराउनु पर्ने झन्झट पनि छैन। त्यसैले पनि हो गीत रेकर्डिङ गराउने पहुँच सर्वसाधारणसम्म पनि पुगेको छ । कोही संगीतको अध्यय गरेरै यो क्षेत्रमा लागेका छन्, केही भने 'जस्तो हुन्छ मौका परेको बेला गाइ राखौं न' भनेर पनि लागेका छन् । अर्कोतिर एक दुईवर्ष कलाकेन्द्र धाएर 'सारेगम' जानेको भरमा संगीतको सम्पूर्ण ज्ञान हुँदैन । संगीत अथाह छ । गीत गाउने र संगीत गर्ने दुवै पक्षलाई शब्दको राम्रो ज्ञान हुन जरूरी छ । एउटै शब्दलाई पनि प्रयोगले ठुलो प्रभाव पारेको हुन्छ । अरूदेशको दाँजोमा हाम्रो देशको साहित्य संगीत नपुग्नुमा साधनाले ठूलो प्रभाव परेको छ । विकशित देशमा सर्जकहरू साधनापछि पाठक र श्रोतामा जान्छन् हाम्रो देशमा पाठक वा स्रोतामा जानुलाई साधना मान्छौ । सिक्नु अलग कुरा हो र त्यसको ज्ञान हुनु अलग कुरा हो ।
गौरभ दर्पणले संगीत र शब्दलाई जसरी बुझ्ने प्रयत्न गरेका छन् त्यो नै उनको आधार अस्तम्भ हो भन्ने लाग्छ । शब्द उच्चारण गर्दा ह्रस्व र दीर्घले गायकी र संगीतमा फरक फरक दबाब सम्प्रेषण गर्ने उनको बुझाईलाई मुल्याङ्कन गर्दा उनको यो निक्कै गहन अध्ययन हो भन्ने महसुस हुन्छ । उनीसँग भएको शब्दको ज्ञानले उनले गर्ने संगीतलाई थप उचाइमा पुर्‍याउने अनुमान गर्न सकिन्छ । अहिलेजस्तै गरी शब्द छनौटमा संख्यात्मकतालाई भन्दा गुणात्मकतालाई जोड दिने हो भने भविष्यमा गौरभ दर्पणको छुटै स्थान निर्माण हुने देखिन्छ ।
यो फागुन महिनाभित्रै विमोचन हुन लागेको उनको एकल संगीतमा रहेको 'कहरवा' एल्वमले 'गौरभको गर्विलो सांगीतिक यात्रा' लाई थप उचाई दिने आशा गर्न सकिन्छ ।




Comments