विद्युतीय रिक्सामा जम्दै महिलाहरु




विष्णु सुब्बा, दमक।
झापा दमकका तीन जना महिलाहरुले विद्युतीय रिक्सा चलाउन थालेका छन् । केही महिना अघिदेखि सञ्चालनमा आएको विद्युतीय रिक्सामा स्वरोजगार हुन ती महिलाहरुले आफैले कुदाएर फरक पेशा बनाउन थालेका छन् ।
दमक-१२ की सुशीला राजवंशीले पति वियोगपछि छोराछोरीको लालन पोषण गर्न विद्युतीय रिक्सा कुदाउन लागेको बताइन् । उनले भनिन्, 'गरिखानका लागि यो बेट्रीले चल्ने रिक्सा चलाउन थालेकी हुँ।' परिवारिक गुजाराका लागि उनले लखनपुरको थोरै भएको आफ्नो सवै जयाजेथा जग्गा बैंकमा धितो राखेर रिक्सा किनेकी हुन् । आफूसँग हातमा पर्याप्त रकम नभएपछि बैकबाट कर्जा लिएर रिक्सा खरिद गरेको उनको भनाई छ ।
उनका श्रीमान ५ बर्षअघि वितेर गएपछि गरिखानका लागि यसअघि उनले स्थानीय लखनपुरको लभडाँडामा चटपटे बेचेर दैनिक गुजारा टार्दै आएकी थिइन् । तर पछिल्लो समय सो व्यवसाय धरापमा परेको महशुस गरेपछि उनले परम्परागत चुनौतीका विरुद्ध काम गर्ने दृढता लिएकी हुन् । उनले थपिन्, 'काम गरी खान पुरुष र महिलाको तुलना गर्नु हुँदैन।' तीन दिन अघिदेखि चलाउँदै आएको इ-रिक्साबाट दैनिक १५ सय रूपैयाँ बढि आम्दानी हुँदै आएको राजवंशीले बताइन् ।



उनीजस्तै दमकका लक्ष्मी राजवंशी र सुनिता अछामीले इ-रिक्साका चालक भएर फरक पेशा अंगालेकी हुन् । सवै महिला विवाहिता भएका र गरिखानका लागि यस्तो काममा हात लगाएको उनीहरुको भनाई छ । दमक-१३ की अछामी भन्छिन्, 'हातमुख जोड्नका लागि विदेशको ठाउँभन्दा आफ्नै गाँउठाँउमा नै बसेर यो काम थालेकी हुँ।' रोजगारीका लागि विदेश जानुभन्दा स्वदेशको पसिनाबाट आर्जन गर्न सकिन्छ भन्ने इच्छाले पनि इ-रिक्सामा भविष्य देखिएको उनको दावी छ ।
अछामी जस्तै लक्ष्मी गरिखानका लागि इ-रिक्सा कुदाउन आकर्षित भएको बताउँछिन् । उनले अनेकौं पेशा गरेपनि गुजाराका लागि भरपर्दी पेशा सहायक नभएपछि इ-रिक्सा चलाउन बाध्य भएको बताइन्।
महिलालाई तालिम लगायतका प्राविधिक विषयमा सहयोग पुर्‍याउँदै आएको दमकको श्रेष्ठ ट्रेड लिंककी सञ्चालिका मिना श्रेष्ठ आफ्नै पौरखमा काम गर्दा कोही सानो, ठुलो नहुने बताउँछिन् । महिलालाई आत्मनिर्भर बनाउन नगरपालिकाले अवसर दिनु अत्यन्त राम्रो कामको शुरुवात भएको उनको बुझाई छ । श्रेष्ठले भनिन्, 'पुरुषले मात्र गर्न सक्ने काममा यहाँको महिलाहरुको आकर्षणले सवै महिलाहरुलाई बाटो देखाएको छ ।'



महिलाहरुलाई रोजगारमुखी बनाउन एक महिनाअघि मात्र दमक नगरपालिकाले आवश्यक तालिम दिएको थियो । नगरपालिकाबाट ३५ जना महिलाले तालिम लिएपनि आफ्नै पैसा खर्चेर रिक्सा कुदाउने भने अहिलेसम्म अरू छैनन् । नगरपालिकाले ८० हजार रुपैयाँ खर्च गरेर ५ दिने तालिम सञ्चालन गरेको थियो । नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले कमजोर आर्थिक स्रोत भएका महिलाहरुलाई स्थानीय स्तरमा नै रोजगारीको अवसर सृजना गर्न यस्तो कार्यमा नगरपालिकाले सहयोग पुर्‍याएको बताए । उनले भने, 'महिलालाई आफ्नै ठाउँमा रोजगारीका अवसर दिन तालिम लगायतका पक्षमा सहयोग गरेका हौं।'
नगरपालिकामा दर्ता गरेर इ-रिक्सा चलाउने महिलाहरु देशकै यो पहिलो हुन सक्ने कार्यकारी अधिकृत दाहालले उल्लेख गरे । यो कार्यले महिलालाई स्वरोजगारीमा प्राथमिकता दिएको उनको विचार छ । नगरपालिकामा दुई महिनाअघि मात्र एक सय इ-रिक्सा दर्ता भएका छन् । त्यस्तै छुट्टै ५० कोटा भने महिला मात्रलाई दिइएको नगरपालिकाका कार्यकारी अधिकृत दाहालले जानकारी दिए ।
महिलालाई स्वावलम्बी बनाउन नगरपालिकाले थालेको काम उदाहरणीय भएको र महिला चालकले हिनताभन्दा माथि उठेर काम गर्न संविधानसभाकी सदस्य तथा महिला नेतृ महेन्द्रकुमारी सुब्बा बताउँछिन्। कुनै पेशाले बर्गीय रुपमा विभेद नहुने बताउँदै उनले भनिन्, 'स्वावलम्बी भएर आफ्नै पौरखमा रमाउनु नै सामाजिक रुपान्तरण हो ।'
बुधबार नै नगरपालिकाले विद्युतीय रिक्सा सञ्चालन गर्दै आएका तीनै जना महिला चालकहरुलाई बधाई दिदै सम्मान गरेको छ। फरक पेशामा आवद्ध भएर सामाजिक रुपमा चुनौती दिएकी ती महिलालाई नगरपालिकाले प्रोत्साहित गर्दै सम्मान गरेको हो।
दमकसँगै जिल्लामा यस्ता रिक्साको संख्या करिव ५ सय बढि रहेका छन् । तीमध्ये दमकमा मात्र यसरी महिलालाई नै छुट्टै कोटा राखेर तालिम र अवसर गरेको भने पहिलो भएको बताइएको छ ।



Comments