'फूल स्याहार्दै जीवन विताउँछु'




विष्णु सुब्बा, दमक।
झण्डै दुई दशक अर्काको बगैंचामा ज्यालादारी काम गरेका दमकका टेक बहादुर राई अहिले कहलिएका फूल उद्यमी भएका छन् । भोजपुर पूर्ख्यौली घर भएका उनी काम खोज्दै जाँदा भारतमा करिव दुई दशक नै फूल खेतीमा काम गरे । 'पढेलेखेको थिइनँ, त्यसैले फूल खेतीमा स्याहारसुसार गर्ने काम पाएँ', दुई दशक अघिको आफ्नो शुरुवाती अनुभव सुनाउँदै उद्यमी राई भन्छन्, 'पछि आफ्नै गाउँघरमा नै केही गरौं भनेर यो पेशालाई नै रोजें।'
भारतबाट साहुको काम त्यागेर परिवारसहित दमक आएका उनी केहि बर्षसम्म त बेतबाँसको काममा व्यस्त रहे । तर त्यो कामले पनि परिवारको गुजारा नचल्ने अनुमान गरेपछि उही पूरानो काम नै रोज्न पुगे । उनमा यो फूलको बजारलाई आफ्नो गतिलो स्रोतका रुपमा विकास गर्छु भन्ने आत्मविश्वास थियो । भन्छन्, 'त्यसैले नै होला, अहिले यो फूलले मेरो परिवारको मुख्य कमाई बन्न पुगेको छ ।'




६ दशकको यो उमेरसम्म आईपुग्दा पनि उनी सधैं बगैंचामा व्यस्त भेटिन्छन् । दमकमा दुई दशक अघिदेखि व्यवसायीक रुपमा फलफूल तथा अन्नजात खाले बोटविरुवा बेचेर पूर्वकै एक नामुद फूल खेतीका उद्यमी बनेका हुन् । दमक-११ को करिव १० कठ्ठा जमीन लिजमा लिएर खोलेको महादेव नर्सरी यतिखेर फूल खेती गर्न चाहनेको निम्ति नै प्रेरकस्थल बन्न पुगेको छ । विभिन्न मानिसहरुको जग्गालाई एकीकृत गरेर उनले फूल खेतीको व्यवसायीक उद्यम थालेका हुन् । नर्सरी रहेको खाली जग्गाको भाडा मात्र बर्षमा ४ लाख रुपैयाँ जग्गाधनीलाई बुझाउँछन् । उनको फूल खेतीमा आफ्नो परिवारका ५ जना सदस्य बाहेक ८ जनालाई त रोजगारी नै दिएका छन् । ती सवै कामदारलाई मासिक न्यूनतम ५ हजार रुपैयाँ भन्दा बढी पारिश्रमीक दिएर काम दिएका छन् । उनी ती कामदारसँगै सधैं काममा खटिन्छन् । दिनरात खटिने उद्यमी राईलाई फूल खेतीलाई मलजल गर्न भ्याईनभ्याई हुनेगर्छ । फूल खेतीमा व्यस्त भेटिएका उद्यमी राई आफ्नो नर्सरीमा स्वदेशी मात्र नभएर विदेशी फूलको उत्पादन तथा विक्री वितरणसमेत गर्ने गरेको बताउँछन्। उनको नर्सरीमा सामान्यदेखि २५ हजार रूपैयाँ मूल्यसम्म पर्ने चाइनिज बरको पूरानो विरुवासमेत उपलब्ध छ ।


फूल खेतीमा कमै मात्र किसानहरु आकर्षित छन् । थोरै संख्याले मात्र गदै आएका ब्यवसायिक फूल खेती पछिल्ला बर्ष यसको बजारले आकार लिँदै जान थालेको छ । उद्यमी राईको अनुभवमा फूल खेती मेहनेत गर्न खोज्नेहरुका लागि राम्रो पेशा बन्दै गएको छ। उनी भन्छन्, 'मानिसहरुमा घरसँगै फलफूलको विरुवा लगाउनुपर्छ भन्ने चेतना आउन थालेको छ ।' फूल खेती व्यवसायीक रुपमा गर्न सकिए यसबाट राम्रै जिवीका चल्ने अवस्था बन्दै गएको उनको अनुभव छ ।

फूल खेतीले राम्रै आयआर्जन गरिरहेको बताउने उनी यसको वजारीकरण सरकारी निकायबाट गर्न सकिए यसका उद्यमीहरुलाई थप टेवा पुग्ने बताउँछन् । 'फूलको वजार दिनानुदिन बढ्दैछ', फूल खेतीमा आफनो जिन्दगी नै विताएका उनले भने, 'बाँच्नेन्जेल यो खेतीमा समर्पित हुन्छु ।' फूल खेतीबाट सन्तुष्ट भएको उनको भनाई छ । भन्छन्, 'फूलले यहाँ पुर्‍यायो, यसमा नै तन, मन दिएको छु ।'
दमककै गन्तीमा आउने व्यवसायिक फूल उद्यम क्षेत्रमा कहलिएका उनले यस उद्यमलाई थप विस्तार गर्ने सोचाईमा पनि छन् ।
स्थानीय क्षेत्रका फूल पारखीहरुले नर्सरी स्थलमा नै फूलको विरुवा किन्न आउनेको संख्या बढ्दै गएको छ । नर्सरीमा भनेजस्तो सवै फूलको विरुवा पाइने हुँदा धेरैको रोजाई नै महादेव नर्सरी बन्दै गएको छ । दमक-१९ की इन्दु दाहालले भनिन्, 'साच्चै महादेव नर्सरी फूल किन्नका लागि एउटा नमुना नै बनेको छ ।'




Comments