सम्वादबाट जस्तोसुकै द्वन्द्वको व्यवस्थापन


२८ माघ,बिर्तामोड।
स्थानीय तहदेखि राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरसम्मका द्वन्द्व व्यवस्थापनका लागि संवाद प्रभावकारी माध्यम भएको आज बुधवार झापाको बिर्तामोडमा आयोजित एक छलफलका सहभागीले बताएका छन् ।
संवादको संस्कार र संस्कृतिले सहमति र सहकार्य भई समाज र मुलुकमा दीगो शान्ति स्थापनामा टेवा पुग्ने उनीहरुको धारणा थियो ।
संवाद समूहको सचिवालयको संयोजनमा बिर्तामोडमा भएको छलफलमा सहभागीले सहमतिमै संविधान निर्माण हुनुपर्नेमा जोड दिए ।
सभासद् सुधिरकुमार शिवाकोटीले सहमतिमै संविधान निर्माण हुने दावी गरे । सहमतिमै संविधान निर्माण भएपनि सबै समस्या समाधान हुन नसक्ने भएकाले फरक मत राख्नेहरुबाट फेरि द्वन्द्व उत्पन्न हुने र त्यतिबेला पनि 'संवाद'को आवश्यकता र प्रभावकारिता अझ बढी हुने उक्त अवसरमा बताइयो ।




झापामा संवादको संस्कृतिले द्वन्द्व रुपान्तरण गर्न र अन्तरपार्टी सम्बन्ध विस्तारमा महत्वपूर्ण टेवा पुगेको दलका नेताहरुले बताए । स्थानीय शान्ति समिति झापाका संयोजक सूर्यनारायण गणेश, एमाले झापा सचिव मदन अधिकारी, कुन्दन भट्टराई, एकीकृत माओवादीका सीपी कडरिया, राप्रपा नेपालका केन्द्रीय सदस्य भक्ति सिटौला, तमलोपाका केन्द्रीय सदस्य त्रिनारायण राजवंशी, संघीय समावादीका केन्द्रीय सदस्य विश्वदीप लिङदेनले दलहरुबीचको भावनात्मक सम्बन्ध विकासमा संवाद संस्कृतिको अग्रणी भूमिका रहेको बताए ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटीका सभापति लोकराज ढकाल, राष्ट्रिय मानवअधिकार प्रतिष्ठानका सभापति रुपक खनाल, अनेमसंघकी अध्यक्ष जसमाया गजमेर र राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मदन गोपाल सुब्बाले संवादको संस्कृति सशक्त र प्रभावकारी बनाउनुपर्ने भन्दै मुलुकका समस्या संवादबाटै हल गर्न दलहरुलाई सुझाव दिए ।
अन्तर्राष्ट्रिय द्वन्द्व व्यवस्थापनका अनुसन्धानकर्ता डा. प्रकाश भट्टराईले विश्वमा जस्तासुकै युद्धको अन्त्य पनि संवादबाटै भएको हुँदा संवादकै माध्यमबाट मुलुकका समस्या हल गर्न सकिने बताए ।
छलफलको सहजीकरण सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।


संवाद समूहमा बुधवार नै आयोजित अर्को छलफलमा महिला नेतृहरुले महिला अधिकार, समावेशी तथा महिला हिंसाका मुद्दामा समेत संवादको संस्कृति अघि बढाइ संवादबाटै न्याय दिलाउन सक्नुपर्ने बताए ।
अन्तरपार्टी महिला सञ्जालका पूर्व अध्यक्षहरु सरु न्यौपाने, संगीता रौनियार, नेविसंघकी निवर्तमान सहमहामन्त्री उमा शिवाकोटी, प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रकी राष्ट्रिय स्रोत व्यक्ति संगीता थापा, झापा बारकी उमा कार्की, महिला सुरक्षा दबाब समूहकी शारदा रिजाल, नागरिक समाजकी गीता खरेल, इन्दिरा न्यौपानेले महिलाका सवाललाई संवादबाट प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिए ।
त्यसैगरी बुधवार नै भएको युवा तथा नागरिक समाजका प्रतिनिधिको छलफलका सहभागीले संविधानमा युवाका सवाललाई प्राथमिकता दिनुपर्ने भन्दै नागरिक समाजको सुझाव अनुसार मुलुकको समस्या हल गर्दै जानुपर्ने बताए ।
छलफलमा सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष छत्र पौडेल, नागरिक समाजका देवीप्रसाद गिरी, नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष भेषराज भण्डारी प्रशान्त, अनेरास्ववियुका अध्यक्ष नवीन ढुंगाना, संघीय लिम्बुवान पार्टी नेपालका जिल्ला उपाध्यक्ष शिकुम लिम्बू, आदिवासी युवा नेता टोम राजवंशी, संघीय युवा संघका केन्द्रीय सदस्य जीवन सिंगक लिम्बू,जिल्ला अध्यक्ष जीवन राईले आफ्नो धारणा राखेका थिए ।




Comments