सम्भावना पहिल्याउँदै आम्बारी बजार



तेजन खड्का।
पाँच दशक पुरानो आम्बारी बजार विकास नहुँदा स्थानीयबासिन्दामा चिन्ताको विषय बनेको छ ।
२०२२ सालमा स्थापना भएको आम्बारी बजारभन्दा पछि खुलेका बजारहरुले विकासमा धेरै फड्को मार्दै पछि पारिसकेका छन् आम्बारीलाई ।
यद्यपि, आजभोलि बजारमा विकासको लहर चल्दै जाँदा आम्बारीवासीको मुहार र बजारमा सम्भावनाको चमक देखिन थालेको छ । आम्बारी बजार सर्वसाधरणको आवश्यकता परिपूर्ति गर्ने दौडमा हुइँकिन थालेको हो । बजारमा फरक किसिमका ब्यावसाय र सेवा भित्रन थालेका छन् । स्थानीय व्यापारी तथा युवा समाजसेवी राजन रायमाझी भन्छन्, 'बजारमा हरचिजको कारोवार बढेको छ । जस्तो कि सब्जी पसल थोरै छ । तर यहाँ ग्राहक धेरै छन् । ग्राहकको आउजाउ भइरहने भएकोले घुइँचो देखिँदैन ।'


रायमाझीका अनुसार ठूलाबजारमा पाउने सामग्रीहरु आम्बारीमा नै उपलब्ध हुन थालेको छ । पहिले बजारहरु थोरै भएकोले आम्बारीमा घुइँचो लाग्ने गरेको थियो । 'टाढाटाढाबाट बजार भर्न आउँथे', स्थानीय मेदनीप्रसाद चिमरियाले सुनाए । उनका अनुसार मोरङको सिजुवा, इटहरा, उर्लाबारी, झापाको दमक लगायतका क्षेत्रबाट मानिसहरु बजार भर्न आउने गर्थे । ती पल अहिले एकादेशको कथाजस्तै भएका छन् । पहिले जस्तो भिडभाड छैन बजारमा । बुढापाकाका अनुसार उ बेला जस्तो रौनकता पनि छैन । 'बजारमा भर्न आउँदा पहिला कम्ता रमाइलो हुँदैन थियो', राजघाट-७ का जयकुमार शेर्मा भन्छन्, 'पहिले जस्तो साथीभाई भेटघाट गर्ने, भीडभाड, माहोल, हर्षोल्लास सबै हराए, अब राजघाटवासी सबै त्यो खुशी ल्याउन जुट्नुपर्छ ।'


यद्यपि, आजभोलि बजारले सम्भावनाको संकेत गर्दैछ । बजारमा किनमेलमा सहजता छ । आम्बारीमा पछिल्लो समय सुनचाँदी पसल, रेमिट्यान्स सेवा, मोवाइल पसल र हार्डवेयर समेत सन्चालनमा आइसकेका छन् । सम्बन्ध बचत तथा ऋण सहकारी संस्थाले आर्थिक क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएको छ । सोही सहकारीमार्फत स्थानीयवासी ऋण लिने र बचत गर्ने गर्छन्, अरुबेला त्यो परको कुरो थियो । सहकारीमा दैनिक लाखौंको कारोबार गर्ने गरेको बताइन्छ । स्वास्थ्य क्लिनिक र पशु सेवा पनि आम्बारीमा तैनाथ छन् । पुस्तक पसल र होटल राम्रो चल्ने गर्छ । जसले गर्दा सानो कामका लागि अन्य बजार धाउने बाध्यता हट्दैछ । एक निजी र सामुदायिक विद्यालय सन्चालनमा छन् ।

बजारमा पक्की टहराहरु थपिएका छन् । सार्वजनिक शौचालय छ । आम्बारीमा पहिले जस्तो झै-झगडा हुन छोडेको छ । तर चोरीका घटनाहरु घटिरहन्छन् । आम्बारीमा दुलेचोरको सन्त्रास छ । आम्बारीमा अस्थायी प्रहरी चौकी राख्नुपर्ने माग आम्बारीबासीले उचाल्दै आएपनि आम्बारीबासीको हितमा सुनुवाई हुनसकेको छैन ।
'आम्बारी बजार र मधुमल्ला बजार मात्र थिए त्यसबेला अन्य बजार स्थापना भएको थिएन', बजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष विजय आङबुहाङले भने, 'यो बजार अन्य बजार जस्तो स्थानीयबासीले बढाउन सकेनन् । उर्लाबारी दमक र पथरी बजारले आम्बारीलाई उछिन्यो ।'


पूर्व अध्यक्ष आङबुहाङ बजारमा बग्रेल्ती सम्भावना देख्छन् । 'आम्बारी विकास भएन भन्नेहरु अन्य ठूला बजारमा पक्की घर बनाउँछन्, जग्गा जोड्छन्, आम्बारी छोड्छन् । यसरी कहाँ विकास हुन्छ त यो ठाउँ को ?' आङ्बुहाङको प्रश्न छ । उनको बुझाई अनुसार आम्बारीको विकास चाहानेले आम्बारीमै ब्यावसाय वा घर बनाउनु पर्छ । गाउँ छोडेर टाढा बस्नेहरुले आम्बारी विकास भएन भन्ने गर्दा आम्बारीवासीको मन दुख्ने गर्छ । आङ्बुहाङको तर्क छ, ठूला बजार पनि पहिले बगर थिए, गाउँ थिए । एकैचोटी फड्को मारेका होइनन् ।
आम्बारीका जीवन धिमालको भनाई पनि यस्तै छ । 'ठूला बजारहरुको प्रगति र राम्रो पक्षको सिको गर्नुपर्छ आम्बारी बजारले । आम्बारीवासी नै तातिनुपर्छ अब । झै झगडा हानाहान र काटाकाट जस्ता घटना बजारमा कहिल्यै हुनुहुँदैन', धिमालले भने । किनकी एक समय झगडा हुने ठाउँको नाममा आम्बारी बजार कहलिएको यथार्थ हो ।
बजारको विकास नहुनुमा बजारवासी विकासका पूर्वाधार नै प्रमुख कारण बताउँछन् । 'पूर्वाधारको बजारमा राम्रो प्रवन्ध हुने हो भने बजार आफैं बढिहाल्छ नि', स्थानीयको बुझाई छ । युवाहरु विदेसिँदा विकासको लागि अगुवाई गर्नेको अभाव खड्किएको छ आम्बारीमा । उर्लाबारी-आम्बारी-भोटेपूल सडक खण्ड पिच हुने हो भने बजारले फड्को मार्ने स्थानीय हेम चोङबाङ् बताउँछन् । जबकि, यहाँको बाटो बर्षामा हिलाम्मे र हिँउदमा धुलाम्मे हुने गर्छ । यात्रुहरुले सास्ती व्योहोर्छन् । आम्बारी बजारलाई बढाउनका निमित्त धेरै जग्गा भएका स्थानीयले थोरबहुत जग्गा बिक्री गर्नुपर्ने आवश्यक देखिन्छ ।
बजार व्यवस्थापनका सचिव बिजय धिमाल बजारलाई व्यवस्थित र भव्य बनाउन नयाँ योजनाहरु ल्याउँदै गरेको बताउँछन् । धिमालले बजारमा नयाँ पक्की टहरा निर्माण गरेको जानकारी दिँदै भने बजारमा खुल्ला रुपमा पशु चौपाया छोड्न र अतिक्रमण गर्न बन्देज लगाइएको छ ।




Comments