पूर्वमा अवैध मेनपावर छ्यापछ्याप्ती

बिलभर्पाई बिनै हुन्छ आर्थिक कारोवार - ठगी बिरुद्ध उजुरीको चाङ





तेज बन विश्वासी
४ माघ, सुनसरी।
पूर्वको बिभिन्न जिल्लाहरुमा सञ्चालित कतिपय मेनपावर कम्पनीहरु अवैध र गैरकानुनी भएको पाइएको छ । सम्बन्धीत निकाय श्रम मन्त्रालयमा दर्ता नगरी स्थानीय नगरपालिका तथा प्रशासन कार्यालयमा मात्रै दर्ता गरी सञ्चालन भएको देखिएपछि उक्त मेनपावरहरु अवैध र गैरकानुनी रहेको खुलेको हो ।
वैदेशिक रोजगार बिभागको वेवसाइट अनुसार पूर्वमा १ हजार ४ सयले कार्यालय प्रतिनिधिको रुपमा काम गर्ने अनुमति प्राप्त गरेको देखिन्छ तर पूर्वमा हाल ४ हजार २ सय ३१ मेनपावर कम्पनीहरू सञ्चालन हुँदै आइरहेका छन्, जुन कानुनी रुपमा अवैध ठहर गरिएको छ ।



पूर्वको केन्द्र इटहरीमा समेत १ सय १० ले मात्र कार्यालय प्रतिनिधिको रुपमा काम गर्ने इजाजत पाएका छन् तर यहाँ हाल २ सय बढी मेनपावरहरु सञ्चालन हुँदै आएका छन्। इटहरी उपमहानगरपालीका क्षेत्रमा इजाजत लिएका १ सय १० मेनपावर कम्पनीहरुले समेत गैरकानुनीरुपमा कार्यहरु गर्ने गरेको पाइएको छ । बैदेशिक रोजगारीमा जानेहरुबाट चर्को रकम असुल्न खप्पीस मेनपावरहरुले पैसा लिएपछि कुनै बिल तथा भरपाई दिने गरेका छैनन् ।
बैदेशिक रोजगार बिभाग केन्द्रीय कार्यालय काठमाण्डौले दिएको जानकारी अनुसार बिभागबाट अनुमती लिएका र प्रतिनिधिको रूपमा काम गर्ने मेनपावरहरुले कुनै प्रकारको आर्थिक कारोवार गर्न नपाउने र कसैको राहदानीसमेत लिन नपाइने भएपनि यहाँका मेनपावर कपनीहरुले बिभागले दिएको निर्देशनको ठिक उल्टो वैदेशिक रोजगारीमा जानेहरुबाट चर्को रकम असुल्नुका साथै राहदानी संकलनमा समेत तिब्रता दिइरहेका छन्।
मेनपावर कम्पनीहरुले कुनै डिमाण्डको विषयमा बिज्ञापन प्रकाशन गर्नुपरेमा बिभागको अनुमती लिएर मात्रै बिज्ञापन प्रकाशन गर्नुपर्ने हुन्छ तर पूर्वमा सञ्चालित मेनपावरहरुले जसको पायो त्यसकै डिमाण्ड चोरेर प्रकाशित गर्ने गरेकोसमेत फेला परेको छ । बिज्ञापनकै विषयमा शिखर इन्टरनेशनल प्रालिको नाममा बिभिन्न पत्रपत्रिकामा वैदेशिक रोजगारीका लागि सुवर्ण अवसर भनेर बिज्ञापन प्रकाशन हुने गरेको छ तर सो बिज्ञापनमा सुचनाको लट नम्बर समेत प्रकाशन हुने गरेको छैन । शिखर इन्टरनेशनलले मात्रै नभएर पूर्वमा सञ्चालित अधिकांस मेनपावरहरुले बिज्ञापनसँगै लट नम्बर प्रकाशन गरेको देखिएको छैन ।


लट नं. राखेर बिज्ञापन प्रकाशन गर्दा बैदेशिक रोजगारीमा जाने ब्यक्तिले आफ्नो काम के हो र कुन हो भन्ने सजिलै जानकारी पाउने हुँदा अधिकांस मेनपावर कम्पनीहरुले बिज्ञापनमा लट नं राख्ने गरेको पाइएको छैन ।
त्यस्तै नेपाल सरकारले पनि इजाजत प्राप्त बैदेशीक रोजगारका कम्पनीहरुबाट खाडी मुलुक जान चाहने नेपालीहरुबाट ५० हजार देखि ७५ हजार रूपैयाँसम्म मात्र लिन आदेश दिएपनि अवैध मेनपावर कम्पनीहरुले रु १ लाख २० हजारसम्म लिने गरेको पाइएको छ।
प्रतिनिधिको पात्रको रुपमा काम गर्ने अनुमती लिएका इटहरी उपमहानगरपालिकाका दुई सय बढी मेनपावरहरुले बाहिरै शाखा कार्यालयको बोर्ड राखी गैरकानुनी रूपमा धन्दा सञ्चालन गरिरहँदा पनि कार्वाही गर्ने निकाय मौन देखिएको छ ।
यता बैदेशीक रोजगारीबाट ठगिएको विषयमा पूर्वमा उजुरीको चाङ हवात्तै बढेको छ । चालु आर्थिक वर्षको श्रावण महिनादेखि पूस मसान्त सम्ममा मात्रै ११ हजार बढी ठगिका मुद्दा दर्ता भैसकेको वैदेशिक रोजगार बिभागले हालै सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

Comments