पिडीत युवतीलाई अधिकारीको घरमा भित्र्याइयो




७ माघ, दमक।
अदालती बिवाह दर्ता गरी घर नभित्र्याएको भन्दै दमक-११ की एक युवतीलाई स्थानीय आधा दर्जन महिला संघ, संगठनहरुले झापा दमक- १३ का सागर अधिकारीको भित्र्याइदिएका छन्।
दश वर्षदेखि विवाह गर्छु भनेर यौन शोषण गरी आएका अधिकारीको घरमा मंगलबार महिलाहरुको एक समूहले पीडित संगीता लिम्वुलाई घर भित्र्याइदिएका हुन् ।अधिकारीले आफ्नो परिवारले स्वीकार्न नमानेको भन्दै गत जेठ देखि वेवारिसे बनाएर छाडेको पीडितको न्यायका लागि लडेका महिला संगठनहरुले दावी गरेका छन् ।
नारी एकता न्यायिक मञ्च दमक, पारालिगल कमिटी झापा, महिला सशक्तिकरण केन्द दमक, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ झापा, अखिल नेपाल महिला संघ दमक र नेपाल महिला संघ दमकको नेतृत्वमा लिम्वुलाई अधिकारीको घरमा भित्र्याइएको थियो । संगिताले नारी एकता न्यायिक मञ्च दमकमा न्यायको लागि निवेदन गरेपछि धेरैचोटी सामाजिक तवरमा घटनालाई मिलाउन खोजे पनि नमिलेको मञ्चकी सहसचिव दुर्गा काफ्लेले बताइन्। उनले भनिन्, 'एउटी महिलाको अन्याय विरुद्ध संगठीत भएर सामाजिक न्याय दिलाउन जुटेका छौं।' सागरका बुवा बिष्णु अधिकारी सामाजिक छलफलमा सहमतिमा नआएको बताइएको छ ।




सागरले ०६८ साल पुस २९ गते जिल्ला प्रशासन कार्यालय मोरङको पत्र चलानी ०६८/०६९ को १४०७ नम्वरको अदालती विवाह दर्ता किर्ते गरेको महिला संगठनहरुको दावी छ । गत असारमा जिल्ला प्रशासन कार्यालय झापामा अंश सहितको सम्वन्ध बिछेच्दको मुद्दा दर्ता गरे पनि संगिताले अहिले आफ्नो नाजुक स्थितीका कारण मुद्दा छोडिएको मञ्चले जनाएको छ । अधिकारी परिवारले संगिताको १० लाख रुपैयाँ समेत लगेको आरोप छ ।
सागरसँग सम्पर्क हुन नसकेपछि उनका बुवा बिष्णु अधिकारीसँग सम्पर्क गर्दा उनले जिल्ला अदालत झापामा मुद्दा बिचाराधीन रहेको बेला हुलहुज्जतका साथ समूहमा आएर संगीतालाई आफ्नो घरमा ल्याएर भित्र्याइदिएको बताए । यो समाजले गलत काम गरेको उनको भनाई छ । जिज्ञासामा अदालतले गरेको निर्णय आफु मान्न तयार रहेको उनको भनाई छ ।
घर भित्राइएपछि दमकमा ती संघसंगठनहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी पीडितलाई न्याय दिलाउन आफूहरु संगठीत भएको जानकारी दिएका थिए । उनीहरुले अदालती प्रकृया जे जस्तो नतिजा आएपनि यी महिलालाई न्याय दिएर छाड्ने दावी गरेका थिए । पत्रकार सम्मेलनमा पारालिगल झापाकी अध्यक्ष हरिमाया मैनालीले संगितालाई सामाजिक न्याय दिलाउन आफूहरु लागि परेको बताएकी थिइन्। राष्ट्रिय आदिवासी महिला महासंघकी अध्यक्ष हरिदेवी लावतीले पिडीत युवतीको अधिकार प्राप्तिका लागि परेको बताइन् । नेपाल महिला संघकी जिल्ला सदस्य मेनुका बुढाथोकीले संगिताको समस्या सबैको समस्या भएको बताइन् ।

अनेमसंघ जिल्ला सदस्य तथा दमक नगर अध्यक्ष लिला ढुङ्गेल दाहालले सामाजिक न्यायका र महिला अधिकारको लागि लड्ने बताइन् । महिला नेतृ सुमित्रा प्रसाईंले विवाह दर्ता सक्कली वा नक्कली हो छानविन गर्नु पर्ने बताइन् । केन्द्र अध्यक्ष भुमिका कोइराला, अधिकारकर्मी बिष्णु भट्टराई लगायतले १० बर्षसम्म यौनशोषण र आर्थिक शोषण गर्ने पिडकलाई सामाजिक कारवाहीको माग गरेका थिइन् । नेकपा मालेका जिल्ला सदस्य तथा विभिन्न सामाजिक, राजनीतिक ब्यक्तित्वका रूपमा कहलिएका विष्णु र उनकी श्रीमतीले जात मिल्दो नभएका कारण विवाह अस्वीकार गर्दै आएको खुल्न आएको छ ।
केटाले लान्छु भने पनि बुबाको कारण छोरा अहिले पनि घरमा नआई बाहिर बाहिरै रहनेगरेको बताइएको छ।
नारी एकता न्यायीक मञ्चकी सहसचिव लक्ष्मी सुब्बाले भनिन्, 'एउटी महिलालाई यसरी विहे गर्ने बहानामा शारीरिक तथा आर्थिक शोषण गर्ने कार्य कदापि सह्य हुँदैन, हामी न्याय दिलाएर छाड्छौं ।'

तस्वीर - सागरका साथ पिडीत युवती



Comments