उधारै उपेन्द्र



-युवराज विवश।
पाँचथर आडसराङ्गका उपेन्द्र सुब्बा फोगटिया नै थिए । मेला पात धायो, साँझ बिहान त तोङ्वा हान्यो । त्यस्तै दैनिकी थियो । पढाईमा नि मध्यमै ।
बिहिवार बिहान दमकमा गफिँदै उनले भने, आजभोली त गाउँतिर नि छक्क पर्छन रे, त्यो फटाहा उपेन्द्रे कबि पो भा छ रे हाहाहा....। न जिन्दगीको कुनै ट्याक छ उनले कल्पेको । अक्सर फोगटिया नै रहेछ उनको जिन्दगी, भन्छन्, 'तर खोइ हौ तर केही नभ्याइँदो रैछ ।' पूर्वका यी ठेट लिम्बूलाई उ बेलामा लाहुरको हुटहुटी नभएको होइन । 'गइनँ भन्दा गएँ हौ, छाती पनि नपाएँ..।'
तर खोइ त ?


खित्किए उनी, 'लाहुर जान मन नि भा थियो, तर त्यागियो त्यसबैले ।'
कसरी चल्दैछ त जिन्दगी ? मेन्जो मेन्जो चल्दैछ, तर हाउ खोइ चल्दै पो छ । जागिर घुम्ने, फुर्दा लेख्ने, ३ बच्चीका बाउ । फिरन्ते जिन्दगी चलेको छ, बिवशता पोखे उनले, 'जागिर नि खाइएन पो । खान नखोजेको पनि होइन । बेलामा लाहुरमा फेल भइयो, त्यो बेला शिक्षा आयोगमा नि दिइयो।' जिन्दगीको ट्याक बसाउन खोज्दाका दिन सम्झे उनले, '७ पटक बिदेशका लागि नि पेसियो । पार लागेन ।'
दमकमा स्नातक पढ्दा उनलाई हल्का पढन्ते नै ठान्दा रैछन् । तर पनि पारिवारिक बाध्यताले तानेर परीक्षा बीचमै छाडेर हानिए पान्थर । 'हउ त्यसबेलै पढाइ त हापियो', उनले भने, 'घर बस्यो जाँड खायो, बिहे बर्तमन धायो बस्यो ।'
उनका दिन फिरे एक दिन ।
घरमा बेकामे बस्दा उनलाई साहित्यको जोस चल्यो । 'हाउ गीत पो लेखियो', लिम्बु टोनमा भने उनले, 'त्यहीँबाट पो यो दुखिया जिन्दगीको नयाँ ट्रयाक खनियो ।' एउटा साथीले लगानी गर्ने बताएपछि हानिए रेकर्ड गर्न काठमाण्डौ । त्यो बिरानो काठमाण्डौका लागि पूर्विया रैथाने लिम्बुका लागि बिरानो भयो । 'संगीतकार शान्तीराम राई खोज्दै ४० हजार सकियो', गीतकार सुब्बाले फलाके, 'अनि त्यसपछि मोडियो जिन्दगी, अनि गीत लेख्ने पनि भइयो ।' राईले उनको गीत भिडाइदिएछन् रेडियो नेपालको आधुनिक गीत प्रतियोगीतामा । 'पड्के तेस्रा भइएछ', उबेलाको खुसी साट्दै भन्दै थिए उपेन्द्र, 'तर गीत पछीसम्म पनि लेखें, त्यही बेलाबाट पाखा लागें म गीत लेख्न ।'


त्यही बेला भेटिएका राजन मुकारुङ्ग, हाङ्गयुङ्ग अज्ञातसँग जोडिए उनी अलिक अराजक भएर । तोडियो सहित्यमा आन्दोलन सिर्जनशिल अराजकता । 'खास यो केही हाउगुजी होइन', अराजक उपेन्द्र भन्छन्, 'भोगेको कथा मौलिकतालाई मिथक प्रयोग गर्नु त्यही हो हो ।'
कबि सुब्बा अनप्लान्ड जिन्दगीका एउटा सिकार हुन् । 'मैले कहिल्यै प्लान गरेर जिन्दगी चलाइनँ', उनले भने, 'उधारै पो टालिएको छ जीवन ।' उनी 'प्रोफेसनल राइटर' भने होइनन् । 'मुड चल्दा त लेख्ने हुँ', भन्छन् सुब्बा, 'तर मुडै पो चल्दैन ।'-
चौथो कृतिको पान्डुलिपी समापनमा लागेका कोठे कवि उपेन्द्र घुमेर लेख्दैनन् । 'कल्पना र यथार्थ जोडेर लेखिने हो', अराजक अभियन्ता उनी भन्छन, 'बिज्ञानको जस्तो फ्याक्ट त हुँदैन साहित्य ।'
उपेन्द्र सासारिक दुनियाँबाट टाढिँदैछन् । 'अब साधुको भइने भइयो', स्वामी उन्मुख सुब्बा प्रबचित हुँदै थिए, 'अब परिवारको टुङ्गो गरिदिन केही काम सकेर सन्यासीको भइने भइयो ।'
लाग्छ उनलाई, जिन्दगी चलाउन कुनै प्लान बनाए न ट्रयाक नै खने । मेन्जो जिन्दगी चलाउँदैगरेका कोठे कबि उपेन्द्र अब घुमुवा बन्दैछन्, फिरन्ते उपेन्द्र ।



Comments