धुम्रपान र मद्यपानविरूद्ध विद्यार्थीहरू अभियान चलाउँदै



७ असार, दुहागढी।
झापा दुहागढीका चार सामुदायिक विद्यालयका विद्यार्थीले धुम्रपान तथा सुर्तीजन्य पदार्थविरुद्ध सशक्त अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
दुहागढीको बाल सुबोधिनी निमावि, शहीद दशरथ चन्द उमावि, कृष्ण प्रावि र शान्ति प्राविका विद्यार्थीले आफ्नो परिवार विद्यालय र समुदायलाई धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनमुक्त बनाउनका लागि अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका हुन् ।
दुहागढी गाविसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी उपशाखा र सुबोधिनी बालक्लबले संयुक्त रुपमा आज सोमबार बालसुवोधिनी निमाविमा आयोजना गरेको 'धुम्रपान तथा सुर्तीजन्य पदार्थविरुद्ध सचेतना' कार्यक्रममा मधु, गुट्का तथा सुर्ती सेवन गर्ने विद्यार्थीले समेत ती पदार्थ त्याग्ने घोषणा गरे ।




नेपाल पत्रकार महासंघ झापाका सचिव एवम् सुर्ती नियन्त्रण सञ्जाल झापाका सदस्य एकराज गिरी, स्वास्थ्यकर्मी सुवास ढकाल र रेडक्रसकर्मी डिल्लीराम भण्डारीले सहजीकरण गरेको कार्यक्रममा ६० जना विद्यार्थी सहभागी थिए । बालक्लबका अध्यक्ष रवीन राजवंशीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गाविस सचिव कविन्द्रविक्रम नेम्वाङले गरेका थिए । कार्यक्रममा शहीद दशरथचन्द उमाविका प्राचार्य रमेशकुमार सापकोटा, वासु निमाविका अध्यक्ष प्रेमप्रसाद मिश्र, प्रधानाध्यापक विश्व थापाले धुम्रपान विरुद्ध सचेतनामा जोड दिएका थिए । कार्यक्रममा स्वागत बालक्लबका सचिव दुगा बुढाथोकीले गरेकी थिइन् ।




Comments