भूत घर हो कि सरकारी कार्यालय ?



गोविन्द पोख्रेल,
१७ माघ, उर्लाबारी।
उर्लाबारी-२ मा रहेको कृषि सेवा कार्यालय सेवा प्रदान गर्ने निकायभन्दा पनि 'भूत घर' जस्तो प्रतीत हुन थालेको छ । कर्मचारीको नियमित उपस्थिति नहुँदा पूर्वी मोरङकै एकमात्र कृषि सेवा प्रदायक संस्था लथालिङ्ग र गतिहीन बनेको हो । सो कार्यालयबाट कुनै सेवा नपाएको स्थानीय कृषकले गुनासो गरेका छन् ।
दुईतले पक्की भवन सहितको कार्यालयमा एउटा साइनबोर्डसमेत नहुँदा सेवाग्राहीहरु अलमलमा पर्ने गरेका छन् । कार्यालय पुग्ने जो कोहीलाई निजी घर हो या कार्यालय छुट्याउन समेत हम्मेहम्मे पर्ने गरेको छ ।
उर्लाबारीका भुवन लिम्बूले कार्यालयमा कहिल्यै कर्मचारी नभेटिने गरेको बताए । 'मान्छे नबस्ने भवनको के अर्थ छ र ?' भन्दै कार्कीले प्रतिप्रश्न गरे।




पूर्वी मोरङका कृषकहरुलाई लक्षित गरी २०४० सालमा स्थापना गरिएको कृषि कार्यालय भवन सुविधाजनक भएपनि सेवामुखी बन्न सकेको छैन । भवनको रेखदेख समेत भएको पाइँदैन । पुरानो र जीर्ण बन्दै गएको भवनमा बर्षौंदेखि रंगरोगन गरिएको छैन भने यत्रतत्र फोहोर थुप्रिएको देख्न सकिन्छ ।
पूर्वी मोरङका उर्लाबारी र पथरीशनिश्चरे नगरपालिका, राजघाट, मधुमल्ला, जाँते, रमितेखोला लगायत कार्यक्षेत्र भएको कृषि सेवा कार्यालयले कृषकको हितमा कुनै जनमुखी कार्यक्रम ल्याएको पनि पाइँदैन, न त कृषकलाई नै यस कार्यालयबाट सेवा पाइन्छ भन्ने हेक्का छ ।
कृषिजन्य सामग्रीका लागि यदाकदा पुग्ने कृषकहरुलाई पनि कुनै परामर्श नदिइने, कार्यालय प्रमुख नभएको भन्दै फर्काइने गरिएको स्थानीय नरनाथ दाहालले बताए।


किटानाशक औषधी मल, विऊ लगायतका बारेमा परामर्श लिन जाने कृषकहरु कर्मचारी नभेटिँदा निरास बन्दै फर्कने गरेका छन् । उर्लाबारी-२ का ७० वर्षीय नारायणप्रसाद भट्टराईले कार्यालयबाट आफूहरुले कुनै लाभ नलिएको बताए । कार्यालय छेवैमा घर भएका सूर्य देवानले भने कृषि कार्यालयका कर्मचारीहरु काम नगरी जागिर पचाउन मात्र आउने गरेको आरोप लगाए । मन परेकाहरुलाई मात्र कृषि सामग्री दिने र मन नपर्नेहरुलाई रित्तै हात फर्काइने गरेको देवानको भनाई छ ।
कार्यालयको लथालिङ्ग अवस्था र कृषकहरुको गुनासाका बारेमा कार्यालयका प्रमुख मोहन मिश्रले अनभिज्ञता प्रकट गर्दै आफूहरुबाट कुनै लापरबाही नभएको बताए । यस्तै, जिल्ला कृषि कार्यालय मोरङका प्रमुख राजेन्द्र उप्रेतीले कृषि कार्यालय प्राविधिक कार्यालय भएको उल्लेख गर्दै कर्मचारीहरु 'फिल्ड भिजिट’ मा हुने गरेको बताए । आफू मातहतका कर्मचारीको बचाउ गर्दै उप्रेतीले भने, 'हाम्रा कर्मचारीको काम नै कृषकको घरघर पुग्नु हो, कार्यालयमा बसिरहने होइन।’



Comments