बन्दुक बोक्न पनि पछि पर्दैनौ – लिम्बुवान उपकमाण्डार नाल्बो



संविधान घोषणा गर्ने भनिएको दिन माघ ८ जतिजति नजिकिँदै छ, पूर्वी नेपालमा क्रियाशील लिम्बुवान आन्दोलन उतिउति तातिँदै छ । राँकेजुलुस, आमहड्ताल, मार्चपास, जनप्रदर्शन बढ्दो छ ।
यस्तै लिम्बुवान बन्दको क्रममा २०६४ असोज २० गते झापाको कमल खोला नजिकै प्रहरीको गोली लागि राजकुमार आङ्देम्बे (माङतोक)को मृत्यु भयो । २१ बर्षका युवा कार्यकर्ता आङ्देम्बे गुमाउँदा लिम्बुवान चुपचाप बस्ने कुरै भएर । आन्दोलन झनै चर्कियो । दमन विरुद्ध कार्यकर्ता झापा केन्द्रित गर्ने क्रममा मोरङबाट जान लाग्दा प्रहरीले उर्लाबारीमा गाडी रोक्यो । त्यहीँ भिडन्त भयो । झडपमा लिम्बुवानको युवा संगठन लिम्बुवान भोलेन्टियर्स (एल.भी.) केन्द्रीय उपकमाण्डर मिलन नाल्बोलाई प्रहरीले मरनासन्न हुने गरी कुटे । प्रहरीको कुटाइले नाल्बोको टाउकोमा ११ टाँका लाग्यो । प्रहरीले नाल्बोलाई दुई दिनसम्म हिरासतमा राख्यो । त्यस घटनामा एल.भी.का अर्का कार्यकर्ता बिष्णु धिमालको तिघ्रामा प्रहरीको गोली लाग्यो ।
२०३९ माघ २३ गते ताप्लेजुङ्गको सान्थाक्रा-३ मा जन्मिएर मोरङको पथरीका स्थायी बासिन्दा हुन् नाल्बो। पूर्वी तराईको झापा, मोरङ र सुनसरीमा भएका यस्ता थुप्रै आन्दोलनहरुको नेतृत्व गरेका गरेका उनले ।


तत्कालिन शाही सेनाको जागिर छाडेर लिम्बुवान आन्दोलनमा लागेका नाल्बोले नै लिम्बुवान भोलेन्टियर्सलाई कब्याट पोसाकमा पूर्वी नेपालको धरान, इटहरी, दमक, विर्तामोड लगायतका सहरहरुमा प्रदर्शन गरेका थिए ।
२०५७ मा तत्कालिन शाही सेनामा भर्ति भएका नाल्बो एक बर्ष सैनिक ब्यारेकमा बसे । तत्कालिन शाही सेनाभित्रको तानाशाहीपन पटक्कै मन परेन उनलाई । शाही सेनाको जागिर छाडेर आएका नाल्बो पार्टीको मोरङ २ नम्बर क्षेत्रीय इन्चार्ज, एल.भी.मोरङ कमाण्डर हुँदै हाल केन्द्रीय उपकमाण्डर तथा विदेश बिभाग प्रमुख भएर कार्यरत छन् । नेपालमा रहँदा 'कि हुन्छ युद्ध सरासर, कि पाउनुपर्छ राज्य बराबर' भन्ने नारा पूर्वी तराइको सडकदेखि भित्ताभित्तामा प्रचारप्रशारमा लागेका नाल्बो लिम्बुवानको लागि अझैं हजारौं हजार युवा रगत बनाउनु परेपनि पछि नपर्ने विचार ब्यक्त गर्छन् । पाँचवटा लिम्बुवानजन्य पार्टी एकीकृत भएर गठन भएको संघीय लिम्बुवान पार्टी नेपालसम्बद्ध लिम्बुवान भोलेन्टियर्स फोर्स (एल.भी.) उपकमाण्डर तथा विदेश विभाग प्रमुख नाल्बोसँग लिइएको ताजा अन्तरवार्ताको सारसंक्षेप प्रस्तुत छ ।

सेनाको जागिर छाडेर किन राजनीतिमा लाग्नुभयो ?
तत्कालिन शाही सेनाभित्रको तानाशाहीपन मलाई पटक्कै मन परेन । अर्कोकुरा, जागिर म र मेरो परिवारको लागिमात्र हुनेभयो । म आफ्नो लागि मात्र नभएर लिम्बुवानी जनता र सम्पूर्ण उत्पीडित नेपालीको पक्षमा काम गरौं भन्ने सोच आयो । जागिर छाडेपछि निरन्तर लिम्बुवान आन्दोलनको सेवामा छु ।

माओवादीको दबाब परेर त होइन जागिर छाडेको ?
होइन, मलाई कसैको दबाब थिएन । स्वेच्छाले छाडेर लिम्बुवानको आन्दोलनमा लागेको हुँ।


लिम्बुवान संगठनमा तपाईको भूमिका कस्तो छ अहिले ?
भोलेन्टियर्स (एल.भी.) केन्द्रीय उपकमाण्डर र विदेश विभाग प्रमुखको जिम्मा छ । वेलायतभन्दा बढी नेपालको लिम्बुवानमा बढी क्रियाशिल छु । म बाहेक मेरो सम्पूर्ण परिवार (आमा, बाबु, भाई, दिदीभेना) वेलायतमै हुनुहुन्छ । म चाँही वेलायतभन्दा नेपालमै बढी बस्छु । हाम्रो परिवार बेलायतमा भएकाले त्यहाँको भौतिक राजनैतिक अवस्था, जनताको चेतना नजिकबाट अनुभव गरेको छु । वेलायतमा लगातार पाँच महिनासम्म बसेको छु । विदेश विभागसमेत मेरो जिम्मामा परेकोले त्यहाँ संगठन निर्माण, प्रशिक्षण, पार्टीको नीति तथा कार्यक्रमको बारेमा जानकारी गराउने लगायतको भूमिका निर्वाहा गर्दै आएको छु । लिम्बुवान आन्दोलनप्रति मेरो त्याग, समर्पण र काम गर्न सक्ने योग्यतालाई बिश्वास गरेर एल.भी.को उपकमाण्डर र विदेश विभागको जिम्मा दिएको छ । त्यो जिम्मेवारी इमान्दारीपूर्वक सम्हालिरहेको छु ।

बेलायतमा रहँदा अरु के के सहयोग रह्यो ?
पार्टीले गरेको निर्णयहरु कार्यकर्ताहरुलाई सूचित गर्ने, कार्यान्वय गराउने, बेलायतमा १४ वटा क्यान्ट कमिटीहरु छन् । बैठक, अन्तरक्रिया तथा छलफलहरुमा सहभागि हुने, छोटो छोटो समय बेलायती भूमिमा रहँदापनि वैचारिक, सांगठानिक र राजनैतिक सहयोगहरु नै गर्दै आएका छौं । यस बाहेक नेपालबाट निश्चित, निश्चित कार्यक्रमहरुको लागि माग हुने आर्थिक सहयोग संकलनको लागि समन्वय गर्छौं ।

लिम्बुवान आन्दोलनको लागि रकम नियमित रुपमा संकलन हुन्छ ?
होइन । आवश्यकता परेको बेला प्रतिव्यक्ति १० देखि १०० डलरसम्म संकलन गरेर आउँछ ।

बर्तमान संविधानसभा पहिचानको विपक्षमा देखिन्छ । लिम्बुवान कसरी सुनिश्चित होला ?
संविधान सहमतिको दस्तावेज हुनुपर्छ । सहमति विनाको संविधान बन्नै सक्दैन । सहमति विना संविधान जारी भयो भने क-कसले जारी गर्छन्, उनीहरुको लागि मात्र हुन्छ । हाम्रो असहमति रहन्छ । त्यस्तो संविधान तुरुन्तै सडकमा जल्छ, हामी जलाउँछौं । त्यसवेला राज्यले दमन गर्‍यो भने हामी प्रतिरोध गर्र्छौ । लिम्बुवान र पहिचान, पहुँच, प्रतिनिधित्वको लागि कति वलिदान दिनुपर्छ हामी तयार छौं । राज्यको बन्दुक दुरुपयोग गरेर हामीप्रति तेर्सियो भने, हामीलाई पनि बन्दुक चलाउन आउँछ । वतर्मान शासकहरुलाई हेक्का हुनुपर्दछ । आवश्यक परे हामी बन्दुक बोक्न पनि पछि हट्नेछैनौं ।

तपाईले त सैनिक तालिममै बन्दुक चलाउन जान्नु भाको होइन ? कि, संगठनमा पनि सिक्नु भयो ?

हाम्रो संगठनमा म जस्ता थुप्रै बेलायती, भारतीय र नेपाली सेना तथा प्रहरी भूपूहरु हुनुहुन्छ । संगठनले अहिलेसम्म औपचारिक रुपमा बन्दुक चलाउनकै लागि भौतिक तालिमहरु नचलाएपनि बौद्धिक तालिमहरु भएका छन् । बन्दुक भन्ने कुरा त सहायक मात्र हो । पहिलो कुरा त विचार हो । मैले हजारौं एल.भी.हरुलाई कम्व्याड पोषाकमा थुप्रै मार्चपासहरु गराएको प्रायः सवैलाई थाहा हुनुपर्छ । बन्दुक बाहेकका शारीरिक ब्यायम समेत गराइएको छ । लिम्बुवान भूमिप्रति बलात् आक्रमण भयो भने हामी हात बाँधेर बस्दैनौं । इँटाको जवाफ पत्थरले दिन बाध्य हुने छौं ।



भोलेन्टियर्स अहिले के गरिरहेको छ ?
पार्टीले घोषणा गरेको शान्तिपूर्ण आन्दोलनमा सहभागि हुँदै आएका छौं । खासगरी नेतृत्वको सुरक्षा कसरी गर्ने भन्नेमा हामी लागि रहेका छौं । नेतृत्वको सुरक्षा, पहिचान तथा लिम्बुवान आन्दोलनप्रति हुनसक्ने खतराको अध्ययन र विश्लेशन तथा चुनौती समानको मानसिक, भौतिक तयारीमा छौं । पहिचानको आन्दोलनलाई कसरी तार्किक निष्कर्षमा पुर्‍याउने भन्ने चिन्तामै छौं हामी ।

सिंगो राजनीतिलाई कसरी हेर्नु भएको छ ?
संविधान बन्ने र नबन्ने दोसाँधमा छ । खासगरी नेपाली कांग्रेस र एमालेका मुख्य मुख्य नेताहरु पहिचान सहितको संघ राज्यको विपक्षमा देखिएका छन् । पहिचानको पक्ष र विपक्षवीच चरम द्वन्द्व भइरहेको छ । हामी पहिचान सहितको संघ राज्य बनाउन क्रियाशिल छौं । २४० बर्षदेखिको जातीय उत्पीडन, सामाजिक असमानताको अन्त्य गर्ने पक्षमा छौं । समान पहुँच, प्रतिनिधित्व र पहिचानको पक्षमा हामी संघर्षरत छौं । पहिचान सहितको संघीय संविधानभित्र लिम्बुवान स्वायत्त राज्यको लागि राजकुमार आङ्देम्बे (माङ्तोक) र मनिल तामाङ्गले बलिदान दिएका छन् । प्रहरीको गोली लागेका विष्णु धिमाल घाइते भएर अझै असहज जीवन विताइरहनु भएको छ । कसैको आँखा गुमेको छ । हजारौं कार्यकर्ताहरु आन्दोलनमा घाइते भएका छन् । समान अस्तित्वको लागि नेपालमा लाखौं लाखले, उत्पीडित जाति र वर्गले बलिदान दिन तयार भएका छन् । त्यसकारण यो गाम्भीर्यतालाई बुझेर पहिचान सहितको संघीय राज्य सहज हिसावले दिन कन्जुस्याइ नगर्न सरकार साझेदार पार्टीका मुख्य नेताहरुलाई आग्रह गर्दछु । सहमतिको आधारमा संविधान जारी गरिनु पर्दछ । त्यसो भएन भने नेपालमा रक्तपात मञ्चिने त भइगयो । सहमतिविना जवरजस्ति संविधान जारी भए तुरुन्त जलेर ध्वस्त हुन्छ । नेपाल नै खतरामा पर्ने छ । नेपाल यतिवेला यस्तो खतरनाक अबस्थामा रहेको देखिन्छ ।

प्रस्तुती – तेजन खड्का




Comments