'ज्यानमारा’ बेतिनी सीमसार



२ माघ, उर्लाबारी
उर्लाबारी-४ भद्रमारीका १७ बर्षीय दिपक वस्तीको सीमसारमा पौडी खेल्ने क्रममा २०६७ साल फागुन २ गते मृत्यु भयो । त्यसपछि २०७० साल चैत १४ गते सोही पोखरीमा तोपगाछी-५ का २३ बर्षीय नरेश धितालले पौडी खेल्ने क्रममै ज्यान गुमाए । यो क्रम यतिकैमा रोकिएन । गत बिहिबार माघे संक्रान्तिको दिन साथीहरुसँग पौडी खेल्ने क्रममा उर्लाबारी-७ डुम्रेका २१ बर्षिय विनोद राजवंशीको को पनि सोही सीमसारमा इहलीला समाप्त भयो ।
वेतिनी सीमसार क्षेत्रलाई व्यवस्थित गर्न नसक्दा एकपछि अर्को गरी नागरिकले ज्यान गुमाउनु परेको हो । सीमसार संरक्षण समिति गठन भएको छ । तर, राजनीतिक भागबन्डामा चयन भएका पदाधिकारीहरु पद ओगट्नै सीमित भएपछि सीमसारमा 'अप्रिय’ घटनाहरु हुन थालेका हुन् । आगन्तुकहरुलाई चेतना दिने कुनै किसिमका बिधि र प्रकृया अबलम्बन नगर्दा सीमसार पर्यटकीय क्षेत्रभन्दा पनि 'ज्यानमारा’ खाडी बन्दै गएको उर्लाबारी-६ का अनिल राई बताउँछन्।


सामान्यतया रमणीय ताल भएपनि वेतिनी क्षेत्र सीमसार परिभाषामा भने पर्दैन । यद्यपि तत्कालिन उर्लाबारी गाबिसको पहलमा बेतिनि क्षेत्रलाई सीमसारको उपमा दिई यसको गुरुयोजना तयार पारिएको थियो । र, स्थानीय स्तरबाट सीमसारलाई ब्यवस्थापन गर्न भन्दै उर्लाबारी-६ का रुद्रबहादुर तामाङको अध्यक्षतामा राजनीतिक भागबन्डामा समिति चयन गरियो । मदन भण्डारी स्मृति प्रतिष्ठानका जागिरे रहेका तामाङले सीमसारको सम्वर्द्धनमा कुनै चासो नदिँदा सीमसारले चौतर्फी समस्या झेल्दै आएको छ । यत्रतत्र फोहोरमैला, अब्यस्थित पार्किङ, शौचालय र खानेपानीको समस्या आगन्तुकहरुले ब्यहोर्नु परेको छ । समितिकै लापरवाहीले गर्दा बन्यजन्तु र बनस्पतिको संरक्षण हुन नसकेको स्थानीयको भनाई छ । सीमसार समितिको एक पटकपनि बैठक नबस्दा दीर्घकालिन नीति निर्माण ओझेलमा परेको स्थानीय ज्ञानु भट्टराईले बताए।
एकाएक होनहार युवाहरुको सीमसारले ज्यान लिएपछि सोको बिरोधमा स्थानीयले तल्लो सीमसारको बाँधसमेत भत्काएका छन् ।


Comments