इजाजत विना नै मालपोत र नापीका भवन बन्दै

विष्णु सुब्बा,
१५ माघ, दमक।
झापाको दमकमा एकैसाथ निर्माण शुरु गरिएका दुईवटा सरकारी कार्यालयको भवन सरकारले बनाएको नियम पालना नगरेको खुल्न आएको छ । साविकको दमक-५ हाल दमक-९ मा निर्माणाधीन मालपोत र नापी कार्यालयले आफ्ना भवन निर्माणका लागि लागू गर्नुपर्ने सरकारी नियमलाई ठाडै उलल्ङ्घन गरी काम गरेको पाइएको छ । काम थालेको आठ महिना वितेपनि ती दुवै कार्यालयले नगरपालिकासँग नियमानुसार इजाजत नलिएको खुलेको हो ।
घरनक्सा इजाजतविना नै अहिले एक चौथाई निर्माणका काम सकिसकेका छन् । दमक-९का दाता स्व. लक्ष्मी श्रेष्ठले मालपोत र नापीलाई कार्यालय स्थापना गर्न क्रमशः ५ कठ्ठा र २ कठ्ठा जमीन दान दिएका थिए । मालपोतको कित्ता नम्बर ५४४८ र नापी कार्यालयको जग्गाको कित्ता नम्बर ५९२९ भएको जनाइएको छ ।


सोही क्षेत्रमा दान दिएको झण्डै एक दशकपछि सुबिधासम्पन्न भवनको काम एकैसाथ शुरु भएको मालपोत कार्यालय दमकका प्रमुख डाक्टर बच्चुराम कार्कीले बताए । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलाममार्फत निर्माणाधीन ती दुवै कार्यालयको भवनको लागत कुल ५ करोड १ लाख ११ हजार २ सय ७५ रुपैयाँ रहेको छ । निर्माणको ठेक्काका लागि दमक-१० को मार्गदेवी-खनाल जे.भी.ले गत जेठ २० गते नै निर्माणको विभागीय सम्झौता पाएका थिए । सम्झौताअनुसार निर्माण कम्पनीले आगामी २०७२ साल चैत्र २३ गते सम्ममा भवन सम्पन्न गरी हस्तान्तरण गरिनुपर्ने उल्लेख छ ।
धमाधम बन्दैगरेका ती दुई भवनमध्ये मालपोत केही ठुलो आकारमा ४ तले र नापी केही सानो भएपनि ४ तलेकै संरचनामा काम तीव्र ढंगले भइरहेका छन् । तर यतिका समय वितेपनि ती कार्यालयले नगरपालिकाको घरनक्सा इजाजत लिन आवश्यक ठानेका छैनन् । यतिका समयमा पनि किन नियमानुसार घरनक्साको इजाजत नलिएको भन्ने जिज्ञासामा ती कार्यालयका अधिकारीले औपचारिकता पूरा गर्ने प्रकृया मात्र भइरहेको जनाए । मालपोत कार्यालयका प्रमुख डा. कार्कीले सरकारी कार्यालयले सरकारी स्वीकृती लिनु खासै जरुरी नभएको उल्लेख गरे । 'एकै क्षेत्रका अड्डालाई किन नै चाहियो इजाजत ?' प्रमुख कार्कीको जिकीर थियो । तर ढिला गरेर उनले इजाजतको प्रकृयामा रहेको स्पष्ट पारे । उनले भने, 'आजभोलि नै नगरपालिकाबाट घरनक्साको इजाजत लिनेछौं ।'
यद्यपि सर्वसाधारणहरुले भने अनिवार्य इजाजत स्वीकृत लिनुपरे पनि सरकारी कार्यालयले यसरी नियम नै मिच्दा नगरपालिका स्वयम बेखबर बनेको छ। नगरपालिकाका इन्जिनियर तीर्थनारायण श्रेष्ठले नयाँ भवन निर्माणका क्रममा सवैले नियमानुसार भवन संहिता अनुरुप स्वीकृति लिनुपर्ने बताँउछन् । 'यो नियम सवैलाई लाग्छ', उनले मालपोत र नापीको भवन निर्माणको इजाजत लिने प्रकृयामा रहेको खुलासा गरे । छिट्टै इजाजत लिने कुरा भएको उनको भनाई थियो । दमक नगरपालिकाले २०६९ सालदेखि भवन संहिता लागू गरेको हो । सुरक्षित घर निर्माणमा प्रोत्साहित गर्न सो कार्यक्रम लागू गरिएपछि नगरभित्र बनिने सवै घरहरु निर्माण गरिँदा नगरपालिकाको इजाजत र निर्माणपछि सम्पन्न भएको प्रमाणपत्र अनिवार्य लिनुपर्छ ।


'नमुना' संरचना हुने
निर्माणाधीन मालपोत र नापी कार्यालयको भवन पूर्वकै 'नमुना' कार्यालय हुने भनिएको छ । कार्यालयलाई सुबिधासम्पन्न तथा संरचनाका हिसावले समेत मजवुत निर्माण गरिने लक्ष्य लिइएको छ । लामो समयदेखि भाडाका रुपमा रहँदै आएका ती कार्यालय एकै ठाँउमा हुने भएकाले तथा आवश्यकीय पूर्वाधारहरु धमाधम बन्दै गएकाले यी कार्यालय अन्य सरकारी कार्यालयहरुको तुलनामा निकै बलियो हुने मालपोत कार्यालय दमकका प्रमुख डा. कार्कीले बताए । ४ तले मालपोतको भवनमध्ये पहिलो तलामा रजिष्ट्रेशन फाँट, सोधपुछ कक्ष, दर्ता चलानी कक्ष, विश्राम स्थल, पार्किङ हुनेछन् । त्यस्तै, दोश्रो तलामा कार्यालय प्रमुख, प्रशासन, लेखा, मुद्दा, कम्प्यूटर तथा बैठक कक्ष हुने छन् । यसैगरी, तेश्रो तलामा तामेली फाँट रहने र चौथो तलामा कार्यालय प्रमुख निवास रहनेछ ।

यसैगरी नापी कार्यालयको पहिलो तलामा सर्भेयर, प्रिन्टिङ, नक्सा, सोधपुछ कक्ष हुनेछन् । दोश्रो तलामा नापी अधिकृत, स्टोर रहने छन् भने तेश्रो तलामा कार्यालय प्रमुखको कक्ष, बैठक कक्ष, कम्प्यूटर, लेखा तथा प्रशासन कक्ष हुने उल्लेख छ । चौथो तलामा भने कार्यालय प्रमुखको आवास हुने जनाइएको छ ।
मालपोत एक बर्षअघि दमक-९ स्थित चियादोकान नजिक भाडाको घरमा र नापी दमक-११ को पूरानो सव्जी बजार क्षेत्रको एक घरमा भाडाका रुपमा कार्य सञ्चालनमा छन् ।
जिल्लाको सदरमुकाम बाहिर दमकमा मात्र एकीकृत रहेको यी कार्यालयहरु आउँदो दुई बर्षभित्र एकै ठाउँमा रहने देखिएको छ । दमकका सामाजिक अगुवा केन्द्र प्रसाईले मालपोत र नापी कार्यालय आफ्नै जग्गाको क्षेत्रमा धमाधम भवन बनिनु सवैका लागि खुसीको खबर भएको बताँउछन् । 'एकै क्षेत्रमा एकै प्रकृतिका दुई अड्डा सेवाग्रहीका लागि अति नै आवश्यक थियो', प्रसाईंले भने, 'बल्लबल्ल हामी दमकबासीहरुले नापी र मालपोतको कार्यालय एकै क्षेत्रमा ल्याउन सफल हुँदैछौं ।'
मालपोतलाई हालको क्षेत्रमा ल्याउन अगुवाई गरेका प्रसाईंले दमकका अन्य सरकारी कार्यालयहरुलाई समेत व्यवस्थापन गर्न जरुरी भएको बताउँछन् । स्थानीय स्तरमा सरकारी कार्यालय पहल समिति गठन गरी विभिन्न काम गर्दैआएको सो समितिका संयोजकसमेत रहेका प्रसाईं दमकको इलाका प्रशासन कार्यालयलाई उपयुक्त ठाउँमा लैजान आवश्यक भएको ठान्छन् ।

तस्वीर - मालपोत र नापी कार्यालय दमकका निर्माणाधीन भवन




Comments