भकारी बिक्री वर्षेनी घट्दो





विष्णु सुब्वा,
१३ पौष, दमक।
बाँसबाट निर्मित भकारीको प्रयोग दिनानुदिन घट्दै गएको छ । मुख्यतया धान भण्डारणका लागि प्रयोग गरिने यस्ता परम्परागत हाते प्रबिधिबाट निर्मित भकारीको प्रचलन केही बर्षयता घट्दै गएको हो ।
प्रत्येक वर्ष कार्तिक अन्तिमदेखि नै तराईका बजारहरुमा देखापर्ने ती भकारीहरु अहिले बजारमा पाउन नै नसकिने अवस्थामा पुगेको छ । व्यापारीहरुले चैतको पहिलो सातासम्म बिक्री हुने यस्ता भकारीहरुको बिक्री घट्दै गएको बताउँछन् ।
गौरादहमा एक दशक अघिदेखि नै भकारी व्यापार गर्दै आएका अमर दाहाल भन्छन्, 'प्रत्येक वर्ष बाँसको घनाको मूल्यमा बृद्धि भइरहेको छ तर भकारीको मूल्यमा भने बृद्धि नभएको हुँदा भकारी बुन्ने क्रम घटेसँगै बिक्रीसमेत वर्षेनी घट्दै गएको छ ।’ इलामका चुलाचुली, पेल्टीमारी र चप्लेटी विशेष भकारी उत्पादनका क्षेत्र मानिन्छन् । यस्तै झापाको केर्खा र दमक बजारहरु स्टोर क्षेत्र मानिए तापनि गौरादह, गौरीगञ्ज, खजुरगाछी, कोहबरा गाविसका गाउँमा पनि कोही कोही भकारी बुनिरहेको भेटिन्छन् । 'जानेको पेशा हो आफ्नै लागि त बुन्नै पर्‍यो, के गर्नु मैले त भकारी बुनेर बेच्न छोडेँ, अब त भकारी बुनेर बेच्नु ऋणमा मात्र डुब्नु हो’, खजुरगाछीका लोकमान न्यौपाने बताउँछन् ।





भकारी व्यापारीका अनुसार विदेशी बजारमा भकारी पुर्‍याउन सके यसको महत्व बढ्नुका साथै फाइदा पनि धेरै हुन्छ । विदेशमा भकारीहरु ठूला ठूला घर र होटलका छानामा प्रयोग गर्न थालेका छन् । त्यसैले अब स्वदेशी बजारमा होइन यी भकारीहरु विदेशी बजारमा लगेर बेच्ने सोचाइमा रहेको न्यौपानेको योजना छ ।
अहिले बजार भाउ अनुसार एउटा भकारीको मूल्य एक हजार तीन सयदेखि एक हजार चार सय रुपैयाँसम्म पर्छ । एउटा भकारीको लागि तीन घनासम्म बाँस लाग्छ । गाउँतिर बाँस प्रतिघना एक सय रुपियाँ पर्छ । एउटा भकारीका चोया काड्न र बुन्न तीन दिन लाग्छ । एक दिनको हाजिरा तीन सय छ । यसरी एउटा भकारीको कम्तिमा लगानी मूल्य मात्र एक हजार दुई सय पर्छ । त्यसैले भकारीको लागत मूल्य हेर्दा व्यवसायीहरुले घाटा व्यहोर्नु पर्ने अवस्थामा रहेको न्यौपानेको अनुभव छ ।



'भकारीको बिक्री किन घट्यो त ?', भन्ने प्रश्नमा व्यापारी दाहालले भने, 'मानिसहरु शहर पस्न थाले, जग्गा प्लटिङ भयो । पहिले पहिलेको जस्तो मानिसले धान पनि भण्डारण गर्न छाडे जसले गर्दा भकारीको बिक्री पनि घट्न थाल्यो ।’
'गत साल यस बेलासम्ममा एक सय भकारी बेच्दा पनि यही एक हजार तीन सयदेखि एक हजार चार सय रूपैयाँसम्म बेचेको र अहिले पनि पुगनपुग त्यति नै बेच्दा पनि यही दाममा बेचिरहेका छु' दमकको बजारमा भेटिएका चुलाचुलीका हर्कबहादुर लिम्बुले बताए। घरबाट करिव १५ किलोमिटर पैदल थाप्लोमा भकारी बोकेर हटिया भर्न आएका उद्यमी लिम्बुले भने, 'अहिले भकारी विक्री हुनै छाड्यो, यसमा नै लागेर बाँच्न कठिन बन्दै गएको छ ।' भकारीको व्यापारमा संलग्न झापाका अधिकाँस व्यापारीहरुसमेत बजार नभएका कारण यसको व्यापार घट्दै गएको बताउँछन् ।' भकारीको प्रयोगमा आएको परिवर्तनले यो पेशा नै संकटमा छ', विर्तामोडका ब्यापारी मोहन शर्माको भनाई छ ।





Comments