मंगलमयमा लाखौं रुपैयाँ हिनामिना



६ पौष, दमक।
झापाको लखनपुर-१ स्थित मंगलमय बचत तथा ऋण सहकारी संस्थामा लाखौं रुपैयाँ हिनामिना भएको खुल्न आएको छ । निक्षेपकर्ताहरुको रकम फिर्ता गर्न नसकेपछि संस्थामा लाखौं रुपैयाँ हिनामिना भएको घटना बाहिर आएको हो । निक्षेपकर्ताहरुको रकम फिर्ता दिन नसकेपछि एक महिनादेखि संस्थाको लखनपुर-१, पाडाजुँगीस्थित संस्थाको कार्यालय बन्द रहेको छ । कार्यालय बन्द भएपछि संस्थाका सयौं शेयर सदस्यहरुको सम्पत्ती समेत जोखिममा परेको छ।




स्रोतका अनुसार संस्थाको स्थापनाकालदेखि नै सञ्चालक समितिका अध्यक्ष चन्द्रमणि अधिकारी, सदस्य घनश्याम प्याकुरेल, व्यवस्थापक युवराज खड्का लगायतकाले संस्थाका सदस्यहरुलाई प्रभावमा पारेर लाखौ रुपैयाँ रकम नियम विपरीत लगेको खुल्न आएको छ । २०६४ सालमा खोलिएको सो सहकारी हालसम्म आउँदा पनि आर्थिक रुपमा सवल हुन समेत नसकेको अवस्थामा संस्थामा भएको आर्थिक बदमासीले सर्वसाधारणहरुको निक्षेप जोखिममा पारेको छ। संस्थाका निक्षेपकर्ता लखनपुर-१ का टेकनाथ अधिकारी आफूले बचत गरेको रकम समेत फिर्ता पाउन नसकिएको बताउँछन् । 'संस्थामा आयो, कार्यालय बन्द छ', उनले भने, 'बचतकर्ताहरुको रकम उठाउन कानुनी निकायमा जान पर्ने स्थिति भएको छ ।'
संस्थामा हाल देखिएको आर्थिक अपचलनको रकम करिव ३० लाख रुपैयाँ रहेको उल्लेख छ । संस्थामा देखिएको अनियमितताको आर्थिक कारोबार बाहिर आएपछि संस्थाभित्र जोखिम सुल्झाउन पहल थालिएको बुझिएको छ । संस्थाको फरक हिसाव मिलान गर्नका लागि शेयर सदस्य सन्तोष सापकोटाको संयोजकत्वमा एक उपसमिति गठन गरेर काम थालेको बताइएको छ ।
स्रोतका अनुसार संस्थाको आर्थिक बेमेलमा देखिएको विवरण अनुसार अध्यक्षले ४ लाख ७८ हजार २ सय ७४, सदस्य घनश्याम प्याकुरेलले ३ लाख १८ हजार ६ सय ४०, ब्यवस्थापक खड्काले १३ लाख ५४ हजार ८ सय ९०, स्मारिका सामुदायिक बोर्डिङ स्कुलले ६ लाख ६३ हजार ५ सय र विभिन्न सदस्यहरुको नाममा १ लाख ८३ हजार ७ सय ५० रुपैयाँ दावी छ । संस्थाको वैठक विना नै यतिका ठुलो रकम संस्थाको अध्यक्ष, व्यवस्थापकको मिलेमतोमा ऋण र सापटी भन्दै लिएको भनी खुलाइएको छ । रकम लिनेहरुले समेत संस्थाको हिसाव फरफारक गर्ने लिखीत रुपमा निर्णय गरेको पाइएपनि उनीहरूले रकम बुझाएका छैनन् ।




तर, संस्थाले औपचारिक रुपमा लगानी भने नगरेको स्वयम् संस्थाका एक पदाधिकारी बताउँछन् । संस्थाका सचिव तेजप्रसाद उप्रेतीले संस्थाका अध्यक्ष र व्यवस्थापकको मिलेमोतोमा शेयर सदस्यहरुको रकम अनाधिकृत रुपमा घोटला गरेको दावी गर्छन् । 'हामीले संस्थाको आर्थिक अवस्था खस्कँदै जान थालेको थाहा पाएपछि संस्थालाई मर्ज गर्न थालेको अवस्थामा यस्तो हर्कत देखापर्‍यो', सचिव उप्रेतीले भने । उनले सञ्चालक समितिका केही साथी र लेखा समितिले रकम अपुग भएको हिसाव खोज्दा विभिन्न समय, नाममा पेश्की भन्दै रकम लिएको देखिएको बताए । संस्थाको रकम यसरी आफूखुसी लैजाँदा संस्था टाट पल्टिएको बताउँदै सचिव उप्रेती भन्छन्, 'ज-जसको नाममा बेरुजु रकम देखिन्छ, उनीहरुले अविलम्ब रकम फिर्ता गर्नुपर्छ।' संस्थाको रकम फिर्ता नगरे कानुनी कारवाहीको बाटो समात्ने तयारीमा रहेको सचिव उप्रेतीको भनाई छ ।
सो संस्थामा दुई सय ५ जना शेयर सदस्यहरु छन् भने शेयर पूंजी १२ लाख र ४० लाख रुपैयाँ रहेको उल्लेख छ । संस्थाले ऋण लगानी गरेको भनिएको करिव २२ लाख रुपैयाँ भएपनि असुली समेत प्रभावकारी नहुँदा संस्था झनै समस्यामा परेको बताइएको छ ।
संस्थाका अध्यक्ष अधिकारी र तत्कालीन व्यवस्थापक खड्काले संस्थाभित्र समस्या आएको स्वीकार गर्छन् । रकम घोटला गरेका ती दुवैले आन्तरिक रुपमा समस्या सुल्झाउन लागिएको भन्दै रकम खाएको हो भन्नेमा आनाकानी गरे । अध्यक्ष अधिकारीले यसवीचमा केहि रकम संस्थालाई फिर्ता गरेका छन् भने अन्य आरोपीहरुले भने आफ्नो यति,उति भन्दै पन्छिदै आएका छन् । संस्थाभित्र भएको आर्थिक अपचलनका कारण नै संस्थाले यस वर्षको साधारणसभा समेत अहिलेसम्म गर्न सकेको छैन ।




यता जिल्ला डिभिजन सहकारीले लखनपुरस्थित मंगलमय बचत तथा ऋण सहकारी संस्थाको आर्थिक अपचलनका बारेमा उजुरी आए अनुसन्धान गरिने जनाएको छ । डिभिजन अधिकृत माधव पोख्रेलले संस्थाभित्र सञ्चालक समितिको लापर्बाहीका कारण आर्थिक अपचलन हुन सक्ने देखिएको बताउँछन्। उनले भने, 'सहकारी नियम, सिद्धान्त विपरीत लागे ती संस्था तथा त्यसका सञ्चालक/आरोपी विरुद्ध ठगी मुद्दा चलाउनु पर्छ ।' ठगी गरेको सवै प्रमाण राखेर डिभिजनमा उजुरी गरे कारवाहीको प्रकृया अगाडी बढाउने डिभिजन अधिकृत पोख्रेलको भनाई छ ।
डिभिजनका अनुसार यस बर्ष जिल्लाका तीनवटा सहकारी संस्थामा आर्थिक हिनामिना भएको भन्दै उजुरी परेको छ । दमकको मजबुत बचत तथा ऋण सहकारी, दमककै हंसेदुम्से दुग्ध सहकारी संस्था, भद्रपुरको ऐचोपैंचो बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुको लाखौं रकम हिनामिना गरेको भनी उजुरी परेको थियो । तीमध्ये मजबुत र ऐचोपैचो संस्थाका केही सञ्चालक विरुद्ध प्रहरीले ठगी मुद्दा चलाएको थियो ।
यसैवीच डिभीजनमा गत शुक्रवारसम्म जिल्लामा ८ सय ४० वटा सहकारी संस्थाहरु दर्ता भएका छन् ।


Comments