उर्लाबारी महोत्सव सम्भावना र चुनौती





- इश्वर भट्टराई
पूर्वी मोरङमा क्रियाशिल पत्रकारहरूको साझा संस्था सञ्चार क्लबको भवन निर्माणार्थ तथा आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले उर्लाबारीमा पुस १२ देखि उर्लाबारी महोत्सव शुरू भएको छ ।
एक दशकको इतिहास बोकेको क्लबको भवन निर्माण गर्नु नै महोत्सवको मुख्य उद्देश्य हो ।
उर्लाबारी मोफसलकै पत्रकारिता क्षेत्रमा उर्भरभूमि मानिन्छ । यहाँ एकबेला नेपालकै सबैभन्दा बढी पत्रिका प्रकाशनमा आएका थिए । सदरमुकाम विराटनगर बाहिरका पत्रकारहरू क्लबका सदस्य छन् । पत्रकारहरूको हकहितका लागि स्थापित संस्थाको आफ्नै भवन नहुनु एउटा दुर्भाग्य नै हो । त्यसैले आफ्नै भवन बनाउन निकै जरूरी देखिन्छ ।





महोत्सवबाट देखिएका सम्भावना
उर्लाबारी महोत्सव भवन निर्माणका लागि रकम संकलन गर्नु मुख्य उद्देश्य भएपनि महोत्सवले समग्र उर्लाबारीको व्यापार व्यवसायलाई बढाएर आर्थिक गतिविधिलाई समेत सहयोग पुर्‍याउने देखिन्छ । साथै यसले आन्तरिक पर्यटनलाई टेवा पुर्‍याउनका लागि स्थानीय वस्तु, सेवा तथा उत्पादनको प्रचारप्रसार र प्रवर्द्धन गर्ने देखिन्छ । यहाँ आन्तरिक पर्यटक लोभ्याउने बेतिनी सिमसार, कलाकौशलले भरिएको मञ्जुल संग्राहलय छन् । यस्तै, उत्तरी भेगमा रहेका टाँडी, मधुमल्ला, रमितेखोला, र पाँचथरको रविसम्मका बासिन्दाको साझा व्यापारिक केन्द्र बन्नेमा दुईमत छैन । यसको सम्भावना उर्लाबारी-मधुमल्ला-रवी सडक निर्माणले नै प्रष्ट छ ।
अर्कोतर्फ नेपाल आफैंमा एउटा पर्यटकीय गन्तव्य हो । यहाँका प्रत्येक गाविस र नगर पर्यटकीय गन्तव्य बन्न सक्छन् । हरेकले आआफ्नै विशेषता पनि बोकेका छन् । तर, उर्लाबारीमा आन्तरिक पर्यटकलाई लोभ्याउने त्यस्तो के छ ? त्यसको पहिचान दिन जरूरी छ । यतिमात्र होइन, उर्लाबारी आसपासका पर्यटकीय क्षेत्रको पनि पहिचान उर्लाबारीले दिलाउनुपर्छ । जसबाट उर्लाबारीले प्रत्यक्ष लाभ लिन सकोस् । रमितेखोला गाविसको मिक्लाजुङ डाँडादेखि लिएर मधुमल्लाको चुलीपोखरी, बेतेनी सिमसारको पर्यटन प्रबर्द्धन गर्न सकेमा उर्लाबारीको व्यापार व्यवसायमा प्रत्यक्ष टेवा पुग्ने देखिन्छ ।


उर्लाबारी, विभिन्न जातजाति बसोबास गर्ने थलो पनि हो । आधुनिक विकासको तीब्रतासँगै विभिन्न जाति र समाजको संस्कृति हराउँदै गएको छ । युवा पुस्ताहरू रोजगारीका लागि अन्य स्थान वा देशमा जाने भएकाले पनि स्थानीय संस्कृति लोप हुँदै गएको हो । अझ युवा पुस्तामा आफ्नो संस्कृतिप्रति त्यति लगाब पनि देखिँदैन । त्यसैले स्थानीय आदिवासी जनजातिको संस्कृति, भेषभुषा, परिकार प्रबर्द्धनमा महोत्सवमा महत्वपुर्ण भूमिका खेल्नु पर्दछ ।
उर्लाबारी कृषिका लागि पनि निकै उर्वरभूमि मानिन्छ । साथै उर्लाबारी उत्पादित कृषिजन्य पदार्थको बजारिकरणका लागि पनि केन्द्र मानिन्छ । उत्तरी रमितेखोला, टाँडी, मधुमल्लामा उत्पादित अम्लिसो, अदुवालगायतका प्रमुख नगदेवालीको पहिलो बजार नै उर्लाबारी हो । त्यसैले उर्लाबारीको बजारलाई अझैं व्यवस्थित बनाउन सके यसबाट प्रस्तत लाभ लिन सकिने व्यवसायीहरू बताउँछन् ।
यस्तै, उर्लाबारी महोत्सवको अर्को उद्देश्य भनेको लगानीको वातावरण भित्र्याउनु पनि हो । शहरीकरणतर्फ उन्मुख भएको उर्लाबारीमा सुरक्षित लगानीमैत्री वातावरण तयार गरेर लगानीकर्ताको आकर्षण बढाउनुपर्ने देखिन्छ । अर्कोतर्फ यहाँ साना तथा घरेलु उद्योग उल्लेख्य रहेपनि केही धरासायी छन् भने कतिपय बन्द अवस्थामा छन् । जसका कारण यहाँको श्रमशक्ति पनि पलायन हुनुपर्ने मुख्य बाध्यता छँदैछ । त्यसैले उद्योगलाई आधुनिकीकरण गरेर लैजानु पर्ने अहिलेको प्रमुख आवश्यकता देखिन्छ ।

क्लबका चुनौती र भवन निर्माण

महोत्सवबाट संकलित रकमले सञ्चार क्बल नेपालको भवन निर्माण गरिने भएको छ । पूर्वी मोरङका क्रियाशिल पत्रकारको साँझा संस्था क्लबको भवन निर्माण अहिलेको टड्कारो खाँचो छ । सर्वप्रथम क्लबको पूर्वी मोरङमा क्रियाशिल पत्रकारलाई एकताबद्ध बनाउनु मुख्य चुनौती छ । यो चुनौतीलाई समाधान गर्न नसके भवन निर्माणको कुनै औचित्य देखिँदैन । अर्कोतर्फ क्लबले पूर्वी मोरङको पत्रकारिता क्षेत्रमा देखिएको विकृतिलाई पनि पन्छाउनुपर्ने देखिन्छ । यो विकृतिका कारण सिंगो पत्रकारिता जगतले नै बद्नामी भोग्नुपरेको तितो यथार्थ छ । यसतर्फ क्लबले खेल्नुपर्ने भूमिका विषयमा पटकपटक आवाज उठान हुँदै आएपनि क्लब भने असमर्थ रहँदै आएका छन् । त्यसैले क्लबले केही सुधार तथा प्रभावकारी कदम चाल्न सकेमा सिंगो पत्रकारिता जगतकै नमूना क्लब बन्नेमा दुईमत छैन ।





महोत्सवका समस्या र चुनौती
महोत्सवका यी सम्भावनाहरू हुँदाहुँदै थुप्रै चुनौतीहरू पनि छन् । पछिल्लो पटक मुलुकभर मेला तथा महोत्सवको होडबाजी नै चलेको छ । महोत्सवको उद्देश्य लगानी भित्र्याउने हो । तर, यसबाट करोडौं पूँजी पलायन हुँदै गएको अवस्था छ । महोत्सवमा स्थानीयस्तरका उत्पादन, पर्यटनको प्रबर्द्धनभन्दा पनि आयातित उत्पादनले प्राथमिकता पाउने गर्दछन् । यस्तै, आम दर्शकहरू पनि स्थानीय उत्पादनतर्फ भन्दा पनि चटके, पिङ, जादू, सर्कस, मौतका कुवामा केन्द्रित भएको पाइन्छ । स्थानीय प्रतिभालाई स्थान दिनुपर्नेमा ख्यातिप्राप्त राष्ट्रिय कलाकारको बाहुल्यता देखिन्छ । यस्तै, स्थानीय उत्पादनलाई बजारीकरण गर्न सहयोग गर्नुको साटो विदेशी उत्पादनलाई गाउँगाउँसम्म पुर्‍याएको पाइन्छ । त्यसैले यस विषयमा आयोजक पक्षले गम्भीर हुनु जरूरी छ ।

अन्त्यमा,

महोत्सवहरू आयोजना भइसकेपछि पनि विभिन्न समस्याहरू देखापर्छन् । विशेषतः महोत्सवबाट संकलित रकमको पारदर्शितामा प्रश्न उठ्ने गर्दछ । यसअघि पनि उर्लाबारीमा सामूदायिक भवन निर्माणदेखि लिएर विभिन्न प्रयोजनका लागि रकम महापुराण लगाएर रकम संकन गरियो । फलतः अहिलेसम्म पनि निर्माणको अत्तोपत्तो छैन । त्यसैले यो अन्यौलविहीनतालाई सञ्चार क्लबले चिर्न सकोस् । बेलैमा क्लबको भवन निर्माण होस्, शुभकामना ।

ishwary.url@gmail.com

Comments