तमु ल्होसार मनाइयो




अनिल घिसिङ (बेलबारी), तेजन खड्का (उर्लाबारी)
१५ पौष।

आज पुस १५ गते अर्थात तमु ल्होसार पर्व ०७१ । देश बिदेशमा रहेका गुरुङ जातिले बिभिन्न कार्यक्रम गरी मनाएका छन् ।
‘ल्हो’ भन्नाले वर्ष तथा ‘स्हार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । आजको ल्होसारसँगै गुरुङ जातिको नयाँ वर्ष पनि शुरु भएको छ । घोडा वर्षको समाप्ति भएर आजदेखि भेडा वर्ष शुरु भएको हो ।
ल्होसार मनाउने गुरुङ, तामाङ, शेर्पा, भोटे, लेप्चा आदि जातिहरुले बिभिन्न जनावरहरुको नाममा वर्ष चक्रलाई मान्दछन् ।
प्रत्येक बाह्र बर्षमा युग परिवर्तन हुने र ती वर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेंडा, बाँदर, कुकुर र बँदेलका प्रतीकका रुपमा लिइन्छ ।
यसै क्रममा आज मोरङको बेलबारीमा एक कार्यक्रमको आयोजना गरी यहाँका गुरुङ जातिले पूजाआजा, खेल प्रतियोगिता तथा नाचगान गरेर शुभकामना आदानप्रदान गर्दै उल्लासका साथ ल्होसार पर्व मनाएका छन् ।


तमु बुद्धिष्ट गुम्बामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि तमु ह्युल छ्योंज धिँ राष्ट्रिय परिषदका मोरङ जिल्ला अध्यक्ष कृष्णराज गुरुङ लगायतका बक्ताहरुले गुरुङ जातिलाई राज्यले संधैं उपेक्षा गर्दै आएकाले पहिचान सहितको तमुवान राज्यको माग गर्नुपरेको बताए।
कार्यक्रममा स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरुले समेत प्रस्तुति दिँदा कार्यक्रमको माहोल उल्लासमय भएको थियो ।

यस्तै तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद तथा तमु बौद्ध गुम्बा समितिको आयोजनामा मंगलबार मोरङको उर्लाबारीमा पनि गुरुङ समुदायले धुमधामका साथ तमु ल्होसार मनाएका छन् ।
तमु बौद्ध गुम्वा हाताभित्र भएको कार्यक्रममा गुरुङ समुदायका मानिसहरुले ल्होसारको अवसर पारेर बिहानदेखि नै ढोग-भेट, नाचगान आशिष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ ल्होसार मनाएका थिए ।



तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका मोरङ जिल्ला अध्यक्ष कृष्णराज गुरुङको प्रमुख आतिथ्यता भएको कार्यक्रममा लामा गुरु कर्मा सनम गुरुङ, भीमबहादुर गुरुङ, बरिष्ठ संगीतकार एवं लोकगायक विशाल राई, सुनगाभा उच्च माविका प्रिन्सिपल भुवन श्रेष्ठ लगायको आतिथ्यता रहेको थियो । मदन गुरुङले सञ्चालन गरेको कार्यक्रममा टेकबहादुर गुरुङ सभापतित्व रहेको थियो । कार्यक्रममा सहभागी वक्ताहरुले राज्यले नेपालमा रहेका बिभिन्न जातजातिको कलासंस्कृति जर्गेना गर्न आवश्यक रहेको बताए। राज्यले जातजातिको कलासंस्कृति जोगाउन लगानी नबढाउने हो भने लोप भएर जाने उल्लेख गरे ।
ल्होसारको उपलक्ष्यमा आयोजित कार्यक्रममा गुरुङ जातिहरु आफ्नै शैलीका भेषभुषामा शिरवन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरुले लगाएर सजिएका थिए भने पुरुषहरुले शिरमा टोपी, भोटोमाथि भाङ्ग्रो लगाएर चिटिक्क परेर आएका थिए । त्यसको साथमा कछाड अनि पटुकी बाँधेका थिए ।




गुरुङहरुको महान् चाड तमु ल्होसारका दिन सरकारले सार्वजनिक विदा दिँदै आएको छ । हरेक वर्षको पुस १५ गतेलाई गुरुङ समुदायले तमु ल्होसारका रुपमा मनाउँदै आएका छन् ।
तमु ल्होसार गुरुङ जातिहरुको महान् चाड का साथै गुरुङहरुको नयाँ वर्ष पनि हो । ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरु गरिन्छ । स्थानीय सूर्य गुरुङको अनुसार साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा नयाँ वर्ष आयो भन्दै नयाँ वर्षको स्वागत गर्ने गरिन्छ । गुरुङ समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरुङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत सुरु भएको सङ्केत गर्दछ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरुका प्रथम महापुरुषको उत्पत्ति भएको मानिन्छ । यो चाड खासगरी नेपालका साथै विश्वका अन्य देशहरुमा पनि मनाइन्छ ।

फोटो - अनिल घिसिङ

Comments