आफैं रोगी क्षय रोग निवारण उपकेन्द्र






गोविन्द पोख्रेल, उर्लाबारी।
के तपाईँ नेपाल क्षयरोग निवारण संस्था मोरङ शाखाको उपकेन्द्र उर्लाबारी जानुभएको छ ? क्षयरोगीहरुलाई औषधी उपचारका लागि खोलिएको सो केन्द्र आफैँ 'क्षयरोग'बाट ग्रसीत छ जस्तो लाग्छ ! एकपल्ट हेर्न जानूहोस्, आफैं देख्नुहुन्छ । जाँदा 'मास्क' लगाएर जानुपर्ने बाध्यता छ । यति मात्र कहाँ हो र ? केन्द्र परिसरमा कोही स्वस्थ्य मानिस पुग्यो भने ऊ आफैं बिरामी पर्ला भन्ने डर !
स्वास्थ्य क्षेत्रसँग सम्बन्धीत निकायको हालत त यस्तो छ, झन् अन्य निकायको हालत के होला ? अनुमान लगाउनै गाह्रो।



क्षयरोग निवारण केन्द्र मोरङको उपकेन्द्र उर्लाबारी परिसर पसिनसक्नु भएको छ । केन्द्रको कार्यालय 'परेवा'को बासस्थान मात्र नभएर विभिन्न प्राणी-मानिस, गाईँभैसी, पक्षी)को फोहोर जताततै देख्न सकिन्छ।
आइतबारे, उर्लाबारी-१ स्थित उपकेन्द्रको तीन कोठे पक्की भवन लथालिङ्ग अवस्थामा पुगेको छ । एक अफिस, एक स्टाफ र एक बैठक कोठा अंकित स्टिकर झुण्डिएको देख्न सकिन्छ ।
अफिस कोठा 'अफिस' जस्तो देखिनुपर्ने हो, तर यहाँ त कुनै प्राणीको 'खोर'जस्तो देखिएको छ । ढोका भत्किएको अवस्था, ढोका अगाडि कुनै जीवले 'आची' गरेको थुप्रो देखिन सक्छ ।
बैठक कोठाको हालत पनि उही छ, अगाडि पट्टि प्वाँखै-प्वाँख,लाग्छ कुनै चरा मारेर कसैले पोली खाएको ।
स्टाफ कोठा अलिक हेर्न हुने अवस्थामा छ ।
रिपोर्टिङका लागि त्यस ठाउँमा पुग्दा उपकेन्द्र गौचरनका रूपमा देखिएको थियो ।



के भन्छन् स्थानीयवासीहरु ?
स्थानीय ४५ वर्षीय कृष्णप्रसाद निरौला भन्छन्, 'हामीलाई यस कार्यालयले कुनै सुविधा दिएको छैन, अनि कार्यालय सञ्चालनका लागि पहल गर्दा पनि कँही कतैबाट चासो देखाइएको छैन ।'
अर्का स्थानीय कालीप्रसाद अधिकारी आक्रोश पोख्दै भन्छन्, '३ वर्षदेखि कार्यालय प्रयोग विहीन अवस्थामा छ, यो कार्यालयले नेताले जनतालाई गरेको वाचा जस्तै भएको छ, कहिल्यै पुरा नगर्ने ।' कोही भन्छन्, 'यो कार्यालय संगुर पालन गर्ने ठाँउ जस्तै भएको छ।' कोही रहस्यमय देख्छन् ।

उपकेन्द्रको इतिहासलाई हेर्दाः
२०४२ सालमा तत्कालीन उर्लाबारी बजार व्यवस्थापन समितिको पहलमा २ कठ्ठा १७ धुर जमिन छुट्याइएको थियो नेपाल क्षयरोग संस्था उपशाखा मोरङको उपकेन्द्र उर्लाबारीका लागि । त्यसबेलाका प्रत्यक्षदर्शी समेत रहेका ५२ वर्षीय खगेन्द्र गौतम (बासु)ले भने, 'तराई क्षेत्रमा क्षयरोगको बिगबिगी थियो, उपचारका लागि समस्या हुन्थ्यो, टाढा जान नपरोस् भन्ने हेतुले यो कार्यालय स्थापना गरिएको हो ।' ०४२ सालमा सो केन्द्रको भवन निर्माणका लागि २ लाख रूपैयाँ खर्चिएको गौतमले बताए । २०४२ सालदेखि निरन्तर ०६८ सालसम्म निरन्तर कार्यालय सञ्चालनमा कुनै अवरोध नभएको भएपनि अहिले आएर कार्यालय सुँगुँर पाल्ने ठाउँ जस्तो भएको भन्दै उनले आपत्ति प्रकट गरे।




के कारणले लथालिङ्ग भयो त ?
२०६८ सालसम्म निर्वाध रुपमा सञ्चालन भइरहेको केन्द्रमा आउने रोगीको संख्या घट्दै गएको र कर्मचारी संख्या समेत घटाइएपछि यो लथालिङ्ग अवस्थामा पुगेको स्थानीयबासी बताउँछन् । तर नेपाल क्षयरोग निवारण संस्था मोरङ शाखाका प्रमुख नारयाणप्रसाद श्रेष्ठ भने दुईवटा कोठा प्रयोग विहिन अवस्थामा हुनु र कम्पाउण्ड नहुनाले यो अवस्थाको सिर्जना भएको बताएका छन् । यसको पुनःनिर्माण प्रक्रिया आगडि बढिसकेको श्रेष्ठले बताए। प्रयोगविहीन दुईवटा कोठालाई पुननिर्माणपश्चात भाडामा लगाइने योजना रहेको श्रेष्ठले जानकारी दिए।

यदि केन्द्रलाई समयमै पुनःनिर्माण गरिएन भने 'उल्फाको धन फूपूको श्राद्ध' भन्ने नेपाली उखान चरितार्थ नहोला भन्न सकिने अवस्था छैन ।

Comments