शिखर सम्मेलनमा स्वदेश फिर्तीको मुद्दा उठाउन शरणार्थीको माग




२ मंसीर, दमक।
आसन्न अठारौं सार्क शिखर सम्मेलनमा भुटानी शरणार्थीहरुको स्वदेश फिर्तीको मुद्दा उठाउन भुटानी शरणार्थीहरुले माग उठाएका छन् । झापा र मोरङका दुईवटा शिविरमा बस्दै आएका शरणार्थीहरुले आसन्न शिखर सम्मेलनमा आफ्ना मुद्दालाई उठाइदिन आग्रह गरेका हुन् ।
शरणार्थीहरुको संस्था भुटानी शरणार्थी प्रतिनिधी स्वदेश फिर्ती समितिले आज मंगलबार दमकमा पत्रकार सम्मेलन गरी शरणार्थी समस्या कुनै एक देशको मात्र समस्या नभएकाले क्षेत्रीय तहबाट नै समाधान खोजिनु पर्नेमा जोड दिएका छन् । समितिका अध्यक्ष डाक्टर भम्पा राईले शरणार्थीहरुलाई स्वदेश फिर्तीको अवसर प्रदान नगरी एकतर्फी रुपमा मात्र तेश्रो देश पुनर्स्थापनाको बिकल्प रोज्न बाध्य पारिएको भन्दै स्वदेश फर्किन चाहनेहरुलाई आफ्नो देश जान पाउने वातावरण बनाइनुपर्ने उल्लेख गरेका छन् ।


भुटानसमेत सार्क सदस्य राष्ट्र भएकाले आफ्ना नागरिकहरुलाई शरणार्थी बनाएको बिषयमा अन्य देशले चासो देखाउनुपर्ने समितिका अध्यक्ष डा. राईको माग छ । करिव अढाई दशकअघि विभिन्न आरोपमा भुटानबाट लखेटिँदा भारतले समेत शरण नदिएर नेपाल आउनु परेको उल्लेख गर्दै डा. राईले भारतको अग्रसरता नभएसम्म शरणार्थी आफ्नो देश जान नसक्ने दावी गरे। उनले भने, 'यहाँका भुटानी शरणार्थीहरुलाई स-सम्मान स्वदेश लैजाने वातावरणका लागि भारत सरकारको भूमिका जरुरी छ ।'
पत्रकार सम्मेलनमा नेपाल मानवअधिकार संगठनका केन्द्रीय सदस्य डा. केपी सुवेदीले मानवियताका दृष्टिकोणले समेत भुटानले आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउनुपर्नेमा जोड दिए। यसका लागि सार्क सदस्य राष्ट्रहरुले चासो देखाउनुपर्ने उनको भनाई थियो ।
यसैगरी भुटानी शरणार्थी प्रतिनिधी स्वदेश फिर्ती समिति र भुटान कांग्रेस पार्टीले आज नै छुट्टाछुट्टै विज्ञप्ती निकालेर प्रधानमन्त्री सुशील कोइरालाई शरणार्थी समस्या समाधानको मुद्दा उठाउन आग्रह गरेको छन् । सार्क शिखर सम्मेलनको पूर्वसन्ध्यामा ती दुई संगठनले अपिल पठाउँदै आफ्नो देश फर्कन इच्छुक भुटानी शरणार्थीहरुलाई आफ्नो देश फर्काउने व्यवस्था मिलाई दिन माग गरेका हुन् ।


अठारौं सार्क शिखर सम्मेलन आगामी १० र ११ गते काठमाण्डौमा हुँदैछ । सोही सम्मेलनमा आफ्ना मुद्दा उठाई समाधान खोज्न शरणार्थीहरुले माग गरेका हुन् । अढाई दशकअघि भुटानबाट लखेटिएका भुटानी शरणार्थीहरु झापा र मोरङका शरणार्थी शिविरमा शरणागत जीवन बिताइरहेका छन् । तर सन् २००७ देखि शुरु भएको तेश्रो देश पुनर्स्थापनाका क्रममा करिव ९० हजार शरणार्थी बिभिन्न ८ देश पुगिसकेका छन् । हाल तेश्रो देश जान इच्छापत्र नभर्ने शरणार्थीहरुको संख्या करिव २६ हजारका हाराहारीमा रहेको जनाइएको छ ।

तस्वीर - दमकमा आज भुटानी शरणार्थी प्रतिनिधी स्वदेश फिर्ती समितिले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष डा. राई । (विष्णु सुब्बा)



Comments