पाठकविहीन बन्दै गौरादह सामुदायिक पुस्तकालय





विष्णु सुब्बा, दमक।
झापाको गौरादहमा अवस्थित गौरादह सामुदायिक पुस्तकालय अहिले आएर पाठक विहीन बन्दै गएको छ । रिड नेपालद्वारा नेपालमा संचालित ३३ वटा सामुदायिक पुस्तकालयमध्ये सर्वोत्कृष्ट रुपमा संचालित पुस्तकालयको रुपमा कुनै समय पुरस्कृत भएको सो पुस्तकालय यतिखेर पाठकविहीन बन्दै गएको हो ।
यस पुस्तकालयमा स्थापनाकालमा रहेका पुस्तकबाहेक हाल पाठकका रुचि अनुसारका नयाँ पुस्तक थप्न नसकिएकाले पाठकहरुलाई आकर्षित गर्न नसकिएको हो । पाठकका रुचि अनुसारका नयाँ पुस्तक नथपिएपछि पुस्तकालय दिनदिनै पाठकविहीन हुन थालेको छ ।
लामो समयदेखि पाठक केन्द्रित कार्यक्रम र नयाँ पुस्तक थप्न नसकिएकाले आफूले अध्ययन गर्न चाहेको पुस्तक पाइँदैन भन्दै कोही नजाने गरेका हुन् । पाठकहरु आफूलाई चाहिएको पुस्तक छन् कि भन्दै आशाले गए पनि नपाएपछि निराश बन्दै फर्कने गरेका छन् । सामुदायिक पुस्तकालय नाम अनुसारको समुदायका रुचि अनुसारका पुस्तकहरु राख्न अनुरोध गर्दा पनि नराखेपछि कतिपय पुस्तकालय जान छोडेका छन् ।




आख्यानमा रुचि राख्ने गौरादहका औषधी व्यवसायी चक्रपाणि बरालले भने, 'बजारमा आएका नयाँ पुस्तकहरु हुँदैनन् । पत्रपत्रिका पनि जाँदैनन् त्यसैले किन जानु त्यहाँ । उल्टै नयाँ पुस्तक आफैँले दिनु पर्छ ।’ बजारमा आएका नयाँ पुस्तक किनेर आफूले अध्ययन गरिसकेपछि पुस्तकालयलाई आफूले धेरै पुस्तकहरु पनि दिएको बरालले बताए।
गौरादह बहुमुखी क्याम्पसको परिसरमै स्थापित पुस्तकालय एक कठ्ठा जग्गामा फैलिएको छ । रिडको ६ लाख तीन हजार र बाँकी स्थानीय जनश्रमदानबाट स्थापित भएपछि पनि व्यवस्थित हुन सकेको छैन । पुस्तकालयलाई वार्षिक बीस हजार रुपैयाँ गौरादह गाविसले दिने गरेको गाविसका सचिव दिलबहादुर भुजेल बताउँछन्। गाविसले दिने वार्षिक बीस हजारदेखि बाहेक नियमित आयको माध्यम नभएकोले पुस्तकालयलाई व्यवस्थित बनाउन नसकिएको सञ्चालक समितिका अध्यक्ष लवहरि दाहाल बताउँछन् । उनी भन्छन्, 'पुस्तकालयको नियमित आर्थिक स्रोत नभएकाले पढ्नयोग्य पुस्तकहरु नहुँदा पाठक अभाव हुँदै गएको छ ।'
सामुदायिक संस्थाहरुप्रति यहाँको स्थानीय निकाय, दलहरु र तिनीहरुको नेतृत्व गर्नेहरुमा सामुदायिक भावनाभन्दा पनि पद र दलीय स्वार्थ बढी हावी भएको कारण पुस्तकालय यो अवस्थामा पुगेको संस्थापक अध्यक्ष भोजराज दाहालको भनाई छ ।पुस्तकालय प्रमुख अम्बिका पौडेलका अनुसार पुस्तकालयमा डिवे डेसिमल प्रणाली अनुसार सामान्यज्ञान, दर्शन, धर्म, सामाजिक विज्ञान, भाषा, विज्ञान, प्रविधि, कला, साहित्य, इतिहास तथा साधारण भूगोल गरी दशवटा फाँटमा सात हजार दुईसय पचास पुस्तकहरु दर्ता रहेका छन् । आर्थिक अभावका कारण हाल कुनै पनि पत्रपत्रिकाहरु नियमित रुपमा राख्न नसकिएको उनको भनाई छ ।




गौरादहस्थित शुभलक्ष्मी सहकारी संस्थाले घुम्ती पुस्तकालय सञ्चालन गर्न सहयोग गर्ने भनि गत वर्ष पचास हजार रुपैयाँ पुस्तकालयलाई सहयोग गरेको थियो । तर यसै वर्षदेखि उक्त सहकारीले सहयोग रकम कटौती गरेको छ ।
पुस्तकालयमा एकसय सत्तरी जना आजीवन सदस्य, तीसजना साधारण सदस्य र सत्र संस्थागत सदस्यहरु रहेका छन् । यीमध्ये वार्षिक दशजना साधारण र पन्ध्रजना आजीवन सदस्यहरुले मात्रै कार्ड नविकरण गर्ने र त्यही पन्ध्र जनाजसो मात्रै पाठकहरु दैनिक पुस्तकालय आउने गरेका छन् । मल्टिमिडिया डाटा कास्टिङ प्रविधि जडान र सञ्चालन गर्न २०६३ सालमा कोपाडस काठमाण्डौ र रिडबाट प्राप्त चारथान कम्प्युटरहरु पनि प्रयोगविहीन अवस्थामा रहेका छन् । पुस्तकालयमा एकजना कार्यालय प्रमुख र एक जना कार्यालय सहयोगी गरी दुई जना कर्मचारी व्यवस्थापनको लागि खटाइएको छ ।
वि.सं.२०५३ असार २३ गते जिप्रका झापामा दर्ता भई २०५४ बैशाख १ गते दातृसंस्था रिडका प्रमुख टोनीबाट पुस्तकालय शिलान्यास भएको थियो । पुस्तकालय २०५५ साल बैशाख १ नियमीत रुपमा सञ्चालनमा आएको थियो ।



Comments