श्रीमती र छोराले छोडेर गएपछि बाँसुरी नै जीवनसाथी




तेज बन विश्वासी
२ मंसीर, सुनसरी ।
शरीरमा लगाएको लुगा केही कतै टालिएको अवस्थामा छ। हातमा लौरो बोकेर त्यसैको सहारामा बिस्तारै हिँड्छन् अनि ठुला बडा देख्नासाथ नमस्ते गरी आफ्नो दुवै हात लम्काउँदा पनि ती ठुलाबडाहरु कुनै वास्तै नगरी हिँडिदिन्छन् । हिँड्दा हिँड्दै अलि पर मानिसहरुको बाक्लो भिडमा पुगेपछि सबैलाई नमस्ते गर्दै आफूले लगाएको कोटको गोजीबाट बाँसुरी निकाली त्यसैको धुनबाट आफ्नो बेदना पोख्न शुरू गर्छन् उनी ।
बाँसुरीको धुनबाट आफ्नो मनको वह पोख्ने उनी हुन्, सुनसरी प्रकाशपुर १ भुटाहाटोलका ७४ वर्षीय बलवहादुर विश्वकर्मा ।
आमा बुधमाया र पिता मोहीमान बिकको एक्लो छोरोको रुपमा कोशी पारीको चौदण्डीगडीमा बिक्रम सम्वत १९९७ साल भदौ महिनामा जन्मिएका बलवहादुर विश्वकर्मालाई यतिखेर आफ्नो जिन्दगी यता न उताको बनेको छ ।
२५ वर्षै उमेरमा भालुको आक्रमणमा परी दाँया आँखा गुमाएका वलवहादुर शारीरिक रुपमा समेत असक्त बन्दै गएका छन् । आमाबाबु र श्रीमती गुमाइसकेका बलबहादुर यतिवेला एक्लो बनेका छन् ।



सम्पतीको नाममा रहेको एक्लो छोरो बिवाहपछि पराइ भइदिएपछि जिन्दगी जिउनुको कुनै अर्थ नरहेको बृद्ध बलबहादुर बताउँछन् ।
भएका २ छोरीहरुको मोरङको उर्लावारीमा विवाह गरिदिएको बताउने ७४ वर्षीय बृद्ध बलबहादुर यतिवेला गाउँघरमा बाँसुरी बजाएर मागेर जिवीकोपार्जन गर्दै आएका छन् । यसरी बाँसुरी बजाउदा दिनमा ३ सय सम्मको कमाई हुने र त्यसैमा एक सातासम्म जिवीकोपार्जन गर्ने उनी बताउँछन् ।
गाउँकै बिवाह भत्तेर तथा कुनै कार्यक्रमको आयोजना भएको जानकारी पाउनासाथ सकी नसकी उनी त्यसतर्फ गई बाँसुरी बजाई जिवीकोपार्जन गर्ने गरेका छन् ।
'भएको छोराले छोडेर गएपछि मेरो जीवनसाथी यही मुरली हो हजुर', बृद्ध विश्वकर्मा बताउँछन् । भएको सारा सम्पती उपचार खर्चमै सकिएको बताउने बलबहादुर यतिबेला वास्तवमै सुकुम्वासी बनेका छन्।
घर नजिकैको जंगलमा गाईवस्तुलाई घाँस लिन गएको बेला जंगली भालुको आक्रमणमा परी दाँया आँखा गुमाउनुका साथै कम्मर मुनिको हड्डी समेत भाच्चिएको सुनाउने बलबहादुर अहिले पनि त्यही घाउले आफैलाई सताउने गरेको बताउँछन् ।
आँखा कम्जोर र कान त्यति नसुन्ने ती बृद्ध गाउँमा कुनै ठुला बडा आए हतार हतार नमस्कार गरी आफ्नो गुनासो सुनाउने गर्दछन् तर उनको त्यो गुनासो कसैले नसुनिदिँदा केही बेर भक्कानिन्छन् । अन्ततः केही सिप नलागेपछि च्यातिएको कोटको गोजीबाट आफ्नो जीवनसाथी मानेको मुरली निकाल्छन अनि बिरहका धुनहरु निकाल्दै आफु पनि रुन्छन् अनि अरुलाई पनि रुवाउँछन् ।


Comments