आन्तरिक पर्यटकलाई लोभ्याउँदै पूर्वी मोरङका सीमसार




betna simsar


इश्चरचन्द्र भट्टराई, उर्लाबारी ।
हिउँदयामको सुरूवातसँगै पूर्वी मोरङका सीमसार क्षेत्रमा सार्वजनिक विदाको दिन आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।
सार्वजनिक बिदाको मौका पारी ती क्षेत्रमा घुमफिर गर्न, वनभोज खान, रमाइलो गर्नेको भीड लागेको हो । यसअघि झापाको दोमुखा, जामुनखाडी, सतासीधाम, इलामको फिक्कल, कन्याम, सुनसरीको ताल तलैया, धनकुटाको भेडेटार, मुलघाटसम्म पुग्नेहरू यतिबेला मोरङका सीमसार एवं पर्यटकीय क्षेत्रमा नै रम्न थालेका छन् ।
उर्लाबारी-६ स्थित बेतिनी सीमसार र बेलबारी-९ स्थित बेतना सीमसार क्षेत्र आन्तरिक पर्यटकको प्रमुख गन्तव्यको रूपमा स्थापित हुँदै गएका छन् । सीमसारमा भएका जल जीवसँग रमाउने र एकान्त वातावरण भएको कारण वनभोज खाने र रमाइलो गर्नेको भीड् लाग्ने गरेको हो ।



सीमसार क्षेत्रमा शैक्षिक भ्रमण, रमाइलो र पिकनिङ खान आउनेको संख्या उल्लेख्य रहेको पत्रकार घनश्याम भण्डारीले बताए। उनका अनुसार नयाँ वर्ष, भ्यालेनटाइन डे वा कुनै पर्व र उत्सवमा वनभोज खाने र घुम्न आउनेको संख्या पनि बढी नै रहेको छ ।
शनिबारका दिनमात्र सीमसार क्षेत्रमा ५० देखि माथि नै वनभोजका टोली आउने गर्दछन् । भण्डारीका अनुसार शनिवार पारेर आउने अधिकांस विद्यार्थी र सरकारी कर्मचारी हुन्छन् । 'कहिले कहिले त ठाउँ नै पाउँदैनन्', भण्डारीले भने, 'ढिलोगरी वनभोज खान आउनेका लागि ठाउँको समस्या हुनेगरेको छ ।' यहाँ विशेषत इटहरी, धरान, विराटनगर, दमक र सीमसार आसपासका आउने गरेका छन् ।
beteni simsar

महेन्द्र राजमार्गसँगै जोडिएर रहेको बेलबारीस्थित बेतना सिमसार जिल्लाकै आकर्षक गन्तब्य बनेको छ । करिब ६५ बिगाहा क्षेत्रफलमा फैलिएको यस सीमसारमा साइबेरियादेखि आउने चराहरूका साथै पच्चीस प्रजातिका दुर्लभ चराहरू, विश्वमै दुर्लभ प्रजातिका कछुवा, विभिन्न जातका माछा, जीवजन्तु, वनस्पति पाइन्छन् । यहाँ आकर्षक पिकनिङ स्पट, मनोरञ्जनात्मक बोटिङले गर्दा अन्तरिक पर्यटकका लागि एक प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदै गएको स्थानीय रामकृष्ण राईले बताए। 'बेतनामा प्राकृतिक दृश्यावलोकन गर्नेको भीड लाग्ने गरेको छ', उनले भने, 'सुन्दर प्राकृतिक दृश्य र बाहिरी वातावरणभन्दा टाढा रहेकाले बनभोज खानेको भीड लागेको हो ।'



यता पूर्वी मोरङको चुलीपोखरी र राजारानी पोखरी पहाडी इलाकामा भएको कारण पनि प्रकृतिसँग रमाउने र घुम्नेहरूको लागि आकर्षक गन्तब्य बन्ने गरेको छ ।
उत्तरी मोरङको भोगटेनी ८ मा पर्ने राजारानी क्षेत्रमा दशैंलगत्तै आन्तरिक पर्यटकको ओइरो लाग्न थालेको छ । वर्षेनि सयौं टोली वनभोजका लागि राजारानी पुग्ने गरेको स्थानीय डम्बरबहादुर मगरले बताए। उनका अनुसार राजारानीको मनमोहक दृष्यावलोकन गर्न मोरङ र सुनसरीका पर्यटक आउने गरेका छन् ।
मोरङको लेटाङबाट ४ किमि उत्तर पश्चिममा पर्ने प्राचीन ऐतिहासिक स्थल राजारानीमा व्यवस्थित पिकनिक स्थल, पानी, शौचालय र कटेजहरू पनि निर्माण गरिएकोले मोरङको सुरक्षित पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको मगरको भनाई छ । राजारानी क्षेत्रमा ऐतिहासिक राजारानी र राजकुमारी पोखरी रहेको छ । यस क्षेत्रलाई वनस्पतिविद्हरूले सुनाखरीको राजधानीसमेत भनेका छन् । महाभारत पर्वत श्रेणीको काखमा अवस्थित यस क्षेत्रबाट झण्डै सय प्रकारका सुनाखरी अवलोकन गर्न पाइने वनस्पति विज्ञानका शिक्षक एवं पत्रकार रामचन्द्र अधिकारीले बताए ।






Comments